माघे सङ्क्रान्तिको अवसरमा भक्तपुरको विभिन्न ठाउँमा मेला

डिसी नेपाल
१ माघ २०७७ १८:११

भक्तपुर । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ ।

घीउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वमा भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीले आज पूजा एवं दर्शन गरेका छन् ।

यी मन्दिरहरुमा रहेका देवताहरुको शरीरमा घीउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घीउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घीउ चाकु खाए छोरी लाभ हुने जनविश्वास छ ।

घीउ, चाकु सल्हुँको दिन आज भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ । बिहान नुहाइधुवाई गरी जीउमा तेल घसेर घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने र हष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्ने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाइ पूजा गरेर माघे सङ्क्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *