चितवनमा चरा गणना सम्पन्न

डिसी नेपाल
२ माघ २०७७ २१:०६

चितवन । जिल्लामा चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिएको छ । गत आइतबार देखि सुरु भएको गणना पाँच दिन लगाएर सकिएको हो ।

बर्ड एजुकेशन सोसाईटीका पूर्वअध्यक्ष वासु विडारीले गणना सम्पन्न भएपनि तथ्याङ्क आइनसकेको जानकारी दिए । उनका अनुसार सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सोमबारसम्ममा एकिन तथ्याङ्क बाहिर ल्याइने छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए । उनका अनुसार यसवर्ष सङ्ख्या केही बढेपनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उनले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताए ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी गणना गरिएको थियो । उनले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताए। त्यस्तै, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।

बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उनले जानकारी दिए । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ ।

चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ५२ जनाको तीनवटा समूह बनाएर चरा गणना गरिएको हो । गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेलापरेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।

क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । यो समय जाडो छल्न विभिन्न देशबाट बसाई सरी यहाँ चरा आउने गर्दछन् । ती अधिकांश चरा जल प्रजातिका हुने गर्दछन् । तिनीहरु गर्मी शुरुभएसँगै पुनःफर्किने गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *