जिल्लामै पहिलाे आकाशे पुलको उद्घाटन

डिसी नेपाल
३ माघ २०७७ १३:५४
584
Shares

चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ। वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन्।

पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए। उनले भने, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण गर्‍याे ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जानकारी दिए।

वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ। यसले सडक दुर्घटनामा कमी ल्याउने उनले बताए।

कार्यक्रममा नगरप्रमुख वन, उपप्रमुख विमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो।

नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उनका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो।

पुल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ । विसं २०७६ फागुन २ गते असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि समय थप गरिएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *