पर्यटक आवागमन सहज बनाउन व्यवसायीको माग

डिसी नेपाल
५ माघ २०७७ ११:२३

काठमाडौं। कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको छ। सोमबार नेपाल पर्यटन बोर्ड र व्यवसायीहरुबीच कोरोना प्रभाव र नयाँ परिस्थितिमा व्यवसायलाई कसरी चलायमान बनाउने भन्ने विषयमा छलफल भएको हो।

नेपाल पर्यटन बोर्डमा भएको छलफलमा मुख्य गरी पर्यटक आवागमन सहजीकरण र पर्यटन व्यवसायीका समस्या समाधानका बारेमा छलफल भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए।

उनले नयाँ परिस्थितिमा पर्यटक आवागमनमा सहजीकरण गर्ने र व्यवसायीहरुलाई कसरी राहत प्रदान गर्न सकिन्छ भन्ने बारेमा केन्द्रित भइ छलफल गरिएको बताए। उनले भने ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने व्यक्तिहरुको हकमा ७२ घण्टाको अनिवार्य पीसिआर रिपोर्ट नेगेटिभ चाहिने र १४ दिनको क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको छ । विभिन्न देशमा कोरोना विरुद्धको खोप प्रयोग भइसकेको अवस्था छ। त्यसैले यसमा सहजीकरण गर्नुपर्ने व्यवसायीको माग छ।’

निर्देशक लामिछानेका अनुसार व्यवसायीहरुले ९६ घण्टाको पीसिआर रिर्पोट नेगेटिभ चाहिने, कोभिड–१९ खोप लगाएर आएका पर्यटकहरुलाई नेपाल भम्रण गर्न सजिकरण गर्नु पर्ने, एयरपोर्टमै पीसिआर परीक्षण गर्न मिल्ने चुस्त व्यवस्थापन मिलाउने जस्ता माग राखेका छन्।

उनले व्यवसायी र सरकारका प्रतिनिधिबीच मंगलबार यी विषयलाई लिएर छलफल हुने बताए। पछिल्लो समयमा पर्यटक आवागमन केही बढ्न खोजेको र व्यवस्था सहज भए अझै बढ्न सक्ने उनले बताए।

यस्तै छिमेकी मुलुक भारत र चीनबाट आउजाउ हुने स्थलगत नाकाहरु पनि निर्वाध रुपमा खोल्नु पर्ने व्यवसायीको माग छ। व्यवसायीहरुले कोरोना भाइरसको त्रास घट्दै गएकोले स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर सबै पर्यटकीय क्षेत्र खोल्नु पाउनु पर्ने माग समेत राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *