जङ्गली जनावरबाट बुद्ध शान्तिवासी समस्यामा

डिसी नेपाल
५ माघ २०७७ २३:५७

झापा। जङ्गली हात्तीको समस्याबाट पीडित बनेका झापाको बुद्धशान्ति गाउँपालिकाका बासिन्दा अन्य वन्यजन्तुको कारण पछिल्लो समय झन् ठूलो समस्यामा परेका छन् । रातभर जङ्गली हात्तीको आक्रमणबाट जोगिन जाग्राम बस्दै आएका बुद्धशान्ति–२ र ३ का बासिन्दा उज्यालो भएपछि बाँदर, हरिण, मृग र मयुरले आफूले लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि थप समस्यामा परेका हुन् ।

नजिकै रहेको आदर्श नमूना सामुदायिक वन र किसानले लगाएको रबर खेती घना बनेसँगै मानव बस्तीभित्र वन्यजन्तुको आक्रमण बढी हुने गरेकोे मानव र वन्यजन्तु द्वन्द्व निरुपण समितिका अध्यक्ष सीताराम बाँस्तोलाले बताए। “शुरुमा हात्तीको मात्र समस्या थियो”, उनले भने, “अहिले बाँदरले घरमा पकाएर राखेको भात खाएर हैरान पारेको छ । रातभर हात्ती लखेट्यो, उज्यालो भएपछि बाँदर र अन्य वन्यजन्तु ।” उनले वन्यजन्तुका कारण बुढाबुढी र बालबालिकामा मनोवैज्ञानिक असर परेको बताए।

बाँस्तोलाकै अध्यक्षतामा समिति निर्माण गरेर स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयलाई वन्यजन्तु नियन्त्रणका लागि दबाब सिर्जना गरेको बताए। वर्षभरि खानका लागि किसानले जो गरेको अन्न बारीमा खाइदिने र घरमा थन्काएको अन्न बाँदर र हात्तीबाट जोगाउन समस्या भएपछि किसान थप पीडित बनेका छन् ।

दिनभर किसानले लगाएको रबर खेती र बनमा बस्ने हात्ती अनि रातभर बस्ने अन्य वन्यजन्तुले दिएको दुःखका कारण स्थानीयवासीले बसाइ सर्नुपर्ने बाध्यता आइसकेको स्थानीय मुना खतिवडाले बताइन्। “ज्यान जोगाउनु कि अन्न” उनले भनिन्, “अब बसाई सर्नुको विकल्प नै छैन ।”

डिभिजन वन कार्यालय झापाका कर्मचारी ओम भट्टराईले हात्तीको समस्या रहे पनि अन्य वन्यजन्तुको समस्याबारे आफूलाई थाहा नभएको बताए। उनले जिल्लामा रहेका १३÷१४ वटा रैथाने हात्तीले जलथल, दुहागढी, पृथ्वीनगरलगायत क्षेत्रमा दुःख दिइरहेका कारण स्थानीय माग बमोजिम वनको साइरनसहितको गाडी बुद्धशान्तिमा मात्र राख्न नसकिने बताए।

उनले वनका सीमित कर्मचारीले रातभर सबै क्षेत्रमा सुरक्षा दिइरहेको बताउँदै भने, “आफू केही नगर्ने अरुसँग मात्र भरपर्ने हुँदा पनि समस्या बढेको हुन सक्छ । स्थानीय सामुदायिक वनसँग भएको ट्र्याक्टरमा साइरन जोडेर हात्ती खेदाउन उहाँहरु आफैँले पनि सक्नुहुन्छ, प्रहरी चौकी राखे जस्तो वनका कर्मचारी सधैँ राख्न सकिदैन ।” उनले स्थानीय सामुदायिक वनसँग भएको ट्र्याक्टरमा रु पाँच हजारको साइरन जडान गरेर बुद्ध शान्तिवासीले जङ्गली हात्ती लेखेट्न आफैँ पनि सक्ने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *