विद्युत् महसुल नबुझाउने ९० जनाको लाइन काटियो

डिसी नेपाल
६ माघ २०७७ १५:१८

काठमाण्डौ। लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ। वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो।

विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताए। विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ। ग्राहकबाट विद्युत् महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ। गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *