मनाङमा शुरु भयो निर्वाचनको तयारी

डिसी नेपाल
७ माघ २०७७ १६:३२

मनाङ । देशमा संसद् विघटनसँगै चुनावी मिति घोषणसमेत भएको छ । आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको हो । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ ।

हिमालपारिको जिल्ला मनाङमा आसन्न निर्वाचनको तयारी शुरु भएको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो ।

मतदान केन्द्र निर्धाण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने त्यस्तैगरी नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहने छ ।

जिल्लाभर चार गाउँपालिकामा जम्म २८ वडा रहेका छन् । जिल्लाको २०६८ सालको जनगणनाअनुसार कूल जनसङ्ख्या छ हजार १४७ जना रहेका छन् । गत निर्वाचनमा जम्मा पाँच हजार ८८१ मतदात सङ्ख्यामध्ये प्रतिनिधिसभामा चार हजार ३३५ मत खसेको थियो ।

त्यस्तै प्रदेशसभामा चार हजार ३३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय चामे मनाङले जनाएको छ । सो निर्वाचनमा प्रतिनिधिसभामा १६ मत बदर भएको थियो भने प्रदेशसभामा १४ मत बदर भएको जिल्ला निर्वाचनले जनाएको छ । जिल्ला निर्वाचनका अनुसार प्रत्येक वडामा सबैलाई पायक पर्ने स्थानमा मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । हाल पछिल्लो मतदाता नामावली आइनसकेको निवार्चन कार्यालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *