काँग्रेसको रणनीतिः शेरधनलाई हटाउने तर भीम आचार्यलाई समर्थन नगर्ने

खेमराज थापा
७ माघ २०७७ १७:५४

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाबाटै अविश्वास प्रस्ताव दर्ता भएपछि उनको सरकार संकटमा परेको छ। र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

बुधबार प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन शुरु भइसकेको छ। र अब अविश्वासको प्रस्तावमाथि मतदान प्रक्रिया केही दिनमै शुरु हुनेछ। प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने दिन नजिकिएसँगै काँग्रेसले के गर्छ ? भन्ने चासो बढेको छ।

काँग्रेसले पनि आफ्नो रणनीति बनाउन छलफल शुरु गरेको छ। बुधबार सभापति शेरबहादुर देउवाले प्रदेश १ का पार्टीका नेताहरु तथा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गरेका छन्। छलफलमा नेताहरु राईलाई मुख्यमन्त्रीबाट हटाउनुपर्ने तर, अर्को मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेकपा (माधव–प्रचण्ड)का नेता भीम आचार्यलाई समर्थन गर्न नहुने बताएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार नेताहरु कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल, भिष्मराज आङ्दाम्बे, गुरुराज घिमिरेलगायतले पहिला राईविरुद्धको अविश्वास प्रस्तावलाई पारित गराउन सहयोग गर्ने त्यसपछिमात्र भावी मुख्यमन्त्रीबारे निर्णय गर्नुपर्ने बताएका छन्।

बैठकमा सिटौलाको भनाई उदृत गर्दै एक नेताले भने भने, ‘शेरधन राईलाई उनीहरुकै पार्टीबाट अविश्वास प्रस्ताव आएकाले काँग्रेसले त्यसलाई पारित गर्न सहयोग गर्नुपर्छ। तर त्यसपछिको विषयमा भने विचार गर्नुपर्छ।’

डा. रिजालले पनि सिटौलाकै जस्तो भनाई राखेका थिए। आङ्दाम्बे पनि राईलाई मुख्यमन्त्रीबाट हटाउनुपर्ने पक्षमै रहेको उनको भनाइबाट बुझिएको बैठकमा सहभागी नेताले डिसी नेपाललाई बताए।

बैठकमा नेता घिमिरेले प्रदेशमा काँग्रेसले आफ्नो नेतृत्व लिने गरि रणनीति बनाउनुपर्ने धारणा राखेका थिए। बुधबार छलफल नसिकएकाले अर्को दिन फेरि छलफल गर्ने सभापति देउवाले बताएका छन्। छलफलमा सभापति देउवाले भीम आर्चाले काँग्रेस विरोधी रहेको भन्दै उनलाई समर्थन गर्न नसकिने स्पष्टै भनेको ती नेताले जानकारी दिए। वरिष्ठ नेता पौडेलले पनि काँग्रेसले नेतृत्व गर्ने अवसर आए त्यसका लागि तयार हुनुपर्ने बताएका थिए।

उता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न सभापति देउवाले आगामी शुक्रबारका लागि बैठक बोलाएका छन्। बागमतीका नेताहरुसँग छलफलपछि सो अविश्वास प्रस्तावबारे निर्णय लिइने काँग्रेसले जनाएको छ। बागमतीमा पनि काँग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने गरि रणनीति बनाउने काँग्रेस नेताहरुले बताएका छन्।

प्रदेश १ मा काँग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्था आए राजीव कोइराला र बागमती प्रदेशमा इन्द्र बानियाँ सबैभन्दा बलिया दाबेदार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *