उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्ड–बाबुराम गोप्य भेट
काठमाडौं। नेकपा (माधव–प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ। नेकपाको काठमाडौंको विरोधसभा सकिए लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भएको हो।
उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्ड उपराष्ट्रपति निवासमा करिब १ घण्टा छलफल भएको हो। प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति निवासमा पौने पाँच बजे पुगेका थिए भने त्यस लगत्तै बाबुराम पनि त्यहाँ पुगेका थिए। उनीहरु पौने ६ बजे लैनचौरबाट बाहिरिएको स्रोतले बतायो।
सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीच भएको यो छलफललाई महत्वपूर्ण मानिएको छ।
उनीहरुबीच के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन। प्रचण्डका प्रेस सल्लाहाकार जुगलले भने यो भेट नै नभएको दावी गरे। उनले कसैले हल्लामात्र चलाएको दावी गरे। तर, उनीहरुबीच भेट भएको उपराष्ट्रपति कार्यालय निकट स्रोतले पुष्टि गरेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध यतिबेला नेकपा (माधव–प्रचण्ड) समूह र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै आन्दोलन गरिरहेको छ। दुबै पार्टीका नेताहरुले सँयुक्त आन्दोलन गर्नुपर्ने बताइरहेका छन्। तर, नेकपा विभाजन नभइसकेकाले सँयुक्त आन्दोलन भने हुन सकिरहेको छैन। यो भेटले सँयुक्त आन्दोलनबारे नयाँ आधार बन्न सक्ने विश्लेषण गरिएको छ।
Facebook Comment