पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली
फाइल फाेटाे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताएका छन् । उनले भने, “मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ । ”
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए। “यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।” उनले भने ।
उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए । उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे ।
सामारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए। उनले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पुर्याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिए। उनले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताएका छन् ।
सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पुर्याउने लक्ष्य राखिएको बताए । उनले यस वर्ष रु एक अर्ब ४१ करोड अबैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिए ।
उक्त समारोहमा बङ्गलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुने सशस्त्र प्रहरीको नं १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको थियो भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment