दोर्दीखोला आयोजनाको ९६ प्रतिशत काम सम्पन्न, चैतसम्ममा बत्ती बल्ने

डिसी नेपाल
१० माघ २०७७ १३:४५

लमजुङ। लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। आयेजनाको हालसम्म ९६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजना कार्यलयले जनाएको छ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आउँदो चैत महिनामा बिजुली उत्पादन हुने छ।

आयोजनाका प्रबन्धक मुन्ना शाक्यकाअनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छ्याउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छ्याउने र सुरुङको काम फागुनभित्रै सकिन्छ।

तीन हजार २०० मिटर पाइपमध्ये तीन हजार १०० मिटर बिच्छ्याउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गएको पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो।

कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताए। बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उनको भनाइ छ।

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत् गृह रहेको छ। यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने विसं २०७५ भदौ १५ गएकोे विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले जनाएको छ। पछि समय थपेर गएको चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि त्यही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि गएको असारसम्म सक्ने गरी सम्झौता भएको थियो।

कोभिड–१९ का कारण लकडाउनले निर्माणलाई प्रभाव पार्दा त्यस मितिसमेतमा निर्माण सम्पन्न हुन सकेन। पछि समय थप गरेर गएको पुस महिनासम्म निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो। त्यस लक्ष्य पनि लक्ष्यमै मात्र सीमित हुन पुगेपछि फेरी समय थप गर्दै आउँदो चैतभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ।

सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान रहेको छ।

यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ। आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालकाअनुसार नेपाल विद्युत प्राधिकरण र त्यसकम्पनीबीच २०६९ असार १ गएकोे पीपीए सम्झौता भएको थियो।

आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ। यस आयोजनाको बाँधस्थल र विद्युत् गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एन्ड मेसिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको जिम्मामा थियो।

यस आयोजनाबाहेक अन्य चार जलविद्युत् आयोजनाले यस दोर्दी करिडोरमै निर्माण कार्य अगाडि बढिरहेको छ। तीमध्ये पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन्।

यस दोर्दी करिडोरमा निर्माणाधीन पाँच आयोजना करिब २४ अर्ब लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आउँदो चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ।

त्यस्तै, तनहुँमा केही आयोजना निर्माण हुने प्रक्रियामा रहेका छन्। त्यस्तै, केही आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्दै आइरहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *