नेपाल प्रहरी बेरुजु फर्छ्यौटमा उत्कृष्ट

डिसी नेपाल
११ माघ २०७७ १८:११

काठमाडौं। नेपाल प्रहरी बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा सर्वोत्कृष्ट भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो। नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट घोषणा गरेको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे। पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत रहेका छन्।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे। यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले बताए।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्यौट गरि हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो। बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३–०७४, २०७४–०७५ र २०७५–०७६ गरि ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *