देश मुठभेडतर्फ जाने खतरा बढ्योः कमल थापा

डिसी नेपाल
११ माघ २०७७ २०:०२

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् । पत्रकारसँगको अन्तरक्रियामा आज उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए । उनले भने, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो । उनले थपे, “अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।”

प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उनले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताए। उनले भने, “सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ । राजनैतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनुहुँदैन ।” देशको अवस्थालाई हेर्दै सर्वोच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उनको तर्क छ । उनले १४ वर्षको राजनैतिक अभ्यासमा भएको असफलताका कारण वर्तमान संविधान, व्यवस्था र मार्ग चित्रबारे प्रश्न चिह्न खडा भएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *