आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू

डिसी नेपाल
१४ माघ २०७७ ६:२३

काठमाडाैं। सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ। बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ। यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउने छैनन्।

शुभारम्भसँगै पहिलो चरणअन्तरगत देशभरका खोप केन्द्रहरुबाट खोप अभियान सुरु हुने छ। पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारले गरेको छ, जसमा खोपको पहिलो मात्रा करिब सात देखि दश दिनमा दिइसक्ने लक्ष्य सरकारको छ। पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ।

पहिलो चरणका लागि आएको जम्मा दशलाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ। खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ ।

साथै खोप लगाउने व्यक्तिलाई परिचय पत्र दिने व्यवस्था गरिएको छ। त्यही परिचय पत्रको आधारमा मन्त्रालयले खोपको दोस्रो मात्रा सम्बन्धित व्यक्तिलाई दिने छ।

नेपालले गत बिहीवार भारतबाट सहयोगस्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *