नेपालबाट कुनै पनि श्रमिकको लागि इजरायलको ढोका खुल्ला भएको छ : राजदूत शाक्य

डिसी नेपाल
१७ माघ २०७७ ८:०८

वि.सं.२०७५ फागुन ३ गते इजरायलको लागि नेपाली राजदूत नियुक्त डा.अञ्जान शाक्यले कार्यभार सम्हालेको यस अवधिसम्म आइपुग्दा नेपाल–इजरायल सम्बन्ध अझ प्रगाढ हुँदै आएको छ।

इजरायलको ७२औं स्वतन्त्रता दिवसको अवसरमा राजदूत डा.शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी थिइन्। विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा.शाक्यलाई दिइएको थियो। उनी यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुन्।

उनकै पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो। सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो।

पछिल्लो समय उनकै पहलमा नेपाल–इजरायलबीच श्रम सम्झौता भएको छ। उक्त सम्झौतालाई लिएर डा.शाक्य यतिबेला चिन्तित रहेकी छन्। कतै नेपालीहरुले नै अवैधानिक क्रियाकलाप गरेर श्रम सम्झौता पहिलेकै जस्तै रद्द त हुने होइन भनेर।

नेपाली युवाहरुलाई इजरायलको नियम कानुनबमोजिम बस्न र नेपालको इज्जत राखेर कार्य गरेमा नेपाली श्रमिकहरुका लागि अरु पनि धेरै उच्चस्तरका ढोका खुल्ने बताउने उनै डा.शाक्यसँग डिसी नेपालकी रीता बस्नेतले गरेको कुराकानीः

हालै सम्पन्न नेपाल, इजरायलबीच भएको श्रम सम्झौताबारे प्रष्टाइदिनुस् न!

यो सम्झौता ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ को लागि भएको हो। त्यो एउटा छाता सम्झौता हो। अब नेपालबाट कुनै पनि श्रमिकहरुको लागि इजरायलको ढोका खुल्ला भएको छ भन्ने हामीले बुझ्नु पर्छ।

यो एक खालको श्रम र श्रमिकको लागि मात्र सम्झौता भएको होइन। एकीकृत रुपमा सम्झौता भएको हो। सम्झौतानुसार एग्जुलरी वर्कर इजरायल आउन सक्ने भयो। अब केही चरण बाँकी छ, इजरायलबाट नेपाल डिमाण्ड पठाउनु पर्ने छ।

त्यसका लागि इजरायलस्थित नेपाली दूतावासले उहाँहरुलाई अनुरोध गरिरहेको छ। इजरायली दूतावासले पनि यो कामलाई अगाडि बढाइराखेको छ। सबै प्रक्रिया पूरा भएपछि वैदेशिक रोजगार विभागद्वारा दरखास्तको लागि आह्वान गरिने छ।

नेपालबाट इजरायलमा काम गर्नको निम्ति जाने युवाहरुलाई के सल्लाह दिनुहुन्छ?

युवाहरुले वैदेशिक रोजगार विभागले प्रकाशित गर्ने सूचनामा ध्यान दिनुपर्छ। सूचना बमोजिम मात्र युवाहरुले दरखास्त दिन पाउनु हुने छ। किनकि त्यसमा न्यूनतम योग्यतादेखि लिएर के–कस्ता व्यक्तिहरुले दरखास्त दिन पाइन्छ र के के नियमहरु पालना गर्नुपर्छ आदि सम्पूर्ण कुराहरु उल्लेख हुन्छ। विभागले सूचना प्रकाशित गरेपछि हामी (दूतावास) ले पनि अपलोड गर्ने छौं। जसले गर्दा युवाहरुलाई थाहा हुन मद्दत पुग्छ।

केही कुरामा अलमल हुनुभयो भने विभागमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु। किनकि यो सरकारी सन्यन्त्रमार्फत हुने भएको हुनाले यसमा कुनै व्यक्ति वा संस्थाहरु संलग्न हुँदैनन्। यो सिधै नेपाल सरकार र इजराल सरकारबीच गरिने कार्यमा पर्दछ। यो एकदमै निश्पिक्ष हुन्छ।

त्यसैले जान चाहने युवाहरुले यो कुरामा सजग हुनु प-याे। उहाँहरुले वैदेशिक रोजगार विभाग, नेपालमा रहेको इजरायली राजदूतावास वा इजरायलमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गरी बुझेर प्रष्ट भएपछि मात्र प्रक्रिया अगाडि बढाउनु हुन अनुरोध गर्दछु।

इजरायलले पाँच सय जना युवा लाने भनेको छ, दलालको बिगबिगी पनि छ, छनौट प्रक्रिया पारदर्शी होला र?

यसमा एकदमै स्वच्छ, पारदर्शी हुन्छ। किनकि पहिला पनि यस्तै पारदर्शी नभएको कारणले गर्दा इजरायल सरकारबाट नै रोकिएको हो। फेरि पनि उहाँहरुमा डर छ, यो पारदर्शी भएन भने सम्झौता कार्यान्वय गर्न सकिदैन् भनेर।

अहिले जुन पाँच सय जनाको कुरा भएको छ, त्यो पनि आउन नसक्ने हुन सक्छ। हुनत सबभन्दा पहिला नेपालमै रोजगारी हुनु पर्छ भन्ने मेरो मान्यता हो। तर हालको परिस्थितिलाई हेर्दा युवाहरुको लागि कामको साथसाथै धेरै कुरा सिक्ने अवसर पनि भएकोले खोलेका हौं।

इजरायलमा श्रमिकमैत्री कानुन छ। यहाँ कुनै विदेशी भनेर अलग्गै छुट्याइँदैन। इजरायली नागरिक सरह नै विदेशीहरुले सम्मान, इज्जत पाउँछन्। यो, त्यो कार्य भनेर हेप्ने, अपमान गरेको आजसम्म थाहा छैन। उहाँहरुले सम्मानपूर्वक नै काम गराउनु हुन्छ, आफ्नै छोराछोरीसरह नै रोजगारदाताले व्यवहार गरेको पाएको छु। कानुनगत रुपमा श्रमिकले सम्मान पाउनु भएको छ।

इजरायलमा हस्पिटल, नर्सिङ सेन्टरहरुमा नेपालीले नर्सअन्तर्गत रहेर कार्य गर्ने भएको हुनाले नेपालबाट काम गर्न आउन पाउदा, सिक्ने मौका पनि पाउनु हुनेछ र काम पनि पाउने हुनु भयो। तर, नर्स कामकै लागि चाहिँ होइन।

यहाँका नर्सअन्तर्गत कार्य गर्ने भएको हुनाले त्यो बुझेर आफ्नो आत्माले सोचेर पनि आउनु पर्छ। सबै कुरा पैसा मात्र होइन, इज्जत भन्ने कुरा पनि हुन्छ। डाक्टर, नर्सहरुका लागि पनि हामीले स्वास्थ्य सम्झौता गर्दैछौं।

त्यो भएपछि नेपालका नर्स, डाक्टरहरुले पनि अनुभवको रुपमा यहाँ सहकार्य गर्न, सिक्न, ट्रेनिङ गर्न आउन पाउनु हुनेछ। र, इजरायलबाट पनि नेपाल जान पाउने खालको एउटा अलग्गै पनि गर्दैछौं। त्यसैले उहाँहरुको लागि पनि आउदैछ, धर्यै गर्न अनुरोध गर्दछु।

आउँदा दिनहरुमा इजरायलमा नेपाली श्रमिकको भविष्य कस्तो देख्नुहुन्छ?

उज्वल छ। इजरायलमा श्रमिकमैत्री कानुन छ। यहाँ कुनै विदेशी भनेर अलग्गै छुट्याइँदैन। इजरायली नागरिक सरह नै विदेशीहरुले सम्मान, इज्जत पाउँछन्। यो, त्यो कार्य भनेर हेप्ने, अपमान गरेको आजसम्म थाहा छैन।

उहाँहरुले सम्मानपूर्वक नै काम गराउनु हुन्छ, आफ्नै छोराछोरीसरह नै रोजगारदाताले व्यवहार गरेको पाएको छु। कानुनगत रुपमा श्रमिकले सम्मान पाउनु भएको छ।

श्रमिकको तलब, हकहित, अधिकार आदि कुरामा यहाँ असाध्यै राम्रो छ। महिलाहरुको कुरामा त यो स्वर्ग जस्तै ठाउँ हो। नेपालीको भविष्य उज्जल छ। भविष्य उज्जल हुन नेपालीहरुको काधमा पनि छ। हामी नेपालीहरु पनि इमानदार भएर यो कार्यहरुलाई अघि बढाउनु पर्छ।

अहिले नै आर्थिक चलखेल सुरु भइसक्यो भन्ने कुराहरु सुन्नमा आएको छ, यता त्यो थाहा भयो भने उहाँहरुले राम्रो मान्नु हुन्न। र, हुन लागेका सम्झौताहरुमा पनि अवरुद्ध आउन सक्छ। अहिलेको रोजगारीलाई नियम कानुनसम्मत पारदर्शी तरिकाले गर्न सक्यौं भने अरु कुराहरुमा ढोका खुल्ला भइसकेको छ।

अहिले आउनु हुनेहरु हस्पिटल, डेकियर सेन्टरहरुमा काम गर्नको लागि हो। यो रोजगारी एकदमै माथिल्लो तहमा गएर खुल्ला भएको हो। यसलाई सफल बनाउनको लागि राजदूतावास, नेपाल सरकारले मात्र गरेर हुँदैन।

हामी सबै कर्मचारी, नेपाली जनतासमेत मिलेर यसलाई सफल बनाउन जरुरी छ। यसलाई पारदर्शी ढंगले अगाडि बढाउन सक्यो भने होमवेस केयर गिभरपछि कृषकहरुको लागि तालिम दिने किसिमले कुरा गरिराखेका छौं।

इजरायलको कृषिमा पनि सम्भावना हुन्छ, युवा पठाउन?

पहिला यो एग्जुलरी वर्कर सफल होस त्यसपछि कृषिलाई अगाडि बढाउछु भन्नु भएको छ। यसलाई सफल बनाउने नेपालीहरुको काँधमा छ। त्यसपछि हस्पिटालिटी, होटल आदि सेक्टरहरुमा क्रमशः खुल्दै जाने छ। मैले यहाँ कृषिमन्त्रीलाई पनि भेटिसके उहाँ सकारात्मक देखिनु भएको छ।

नेपालको कृषिमा इजरायलको आधुनिक प्रविधि भित्र्याउने कुरा पनि चलेको थियो, के भइराखेको छ?

यसै सिलसिलामा इजरायलमा श्रमिक भित्र्याउने सन्दर्भमा एग्रीमेन्ट गरेका छौं। कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता गरेका थियौं। भर्खरै नेपालको कृषि मन्त्रालय, सम्बन्धित विज्ञहरु र यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गतको एक सरकारी संस्थाले एग्रीमेन्ट गरेनुसार नै उहाँहरुले प्रविधि हस्तान्तरण गर्नुहुन्छ।

सँगसँगै इजरायलको कृषि मन्त्रालयको पनि सहयोग रहन्छ। उहाँहरुसँग भर्खरै हाइलेभलको मिटिङ पनि आयोजना गर्यौं। त्यसकारण नेपाली कृषिको लागि ठाउँ खोज्नु पर्यो र त्यो ठाउँमा के के उत्पादन गर्छौ, वाह्य उत्पादनहरु के गर्न सकिन्छ भन्ने भएको छ। उहाँहरुले कृषिको लागि तोकिने ठाउँ शहर नजिकै हुनुपर्छ भन्नु भएको छ।

त्यसो भयो भने सबैजनालाई सजिलो हुन्छ। उहाँहरुको योजना भनेको कृषकहरुलाई उद्यमी बनाउने परियोजना हो। त्यसैले उहाँहरुले सिधैं बजारसँग सम्बन्ध हुने किसिमले यहाँ योजनाहरु तयार हुन्छ र कार्यान्वयन गर्ने कुराहरु अगाडि बढ्छ। जसले गर्दा कृषकहरु लाभान्वित हुने छन्।

यहाँलाई एक वर्ष नहुँदै इजरायली सरकारले सम्मान ग-याे, के गरे वापत हो?

इजरायलको ख्यातीप्राप्त संस्थाले सम्मान गरेको हो। त्यो संस्थाले इजरायली सरकार (परराष्ट्र मन्त्रालय) सँग सहकार्य गरेर कामहरु गर्ने गर्दछ। र, त्यसमा ९० वटा मुलुकको राजदूतावासहरु संलग्न भएका हुन्छन्।

उहाँहरुले हरेक कार्यक्रमहरुमा इजरायलको सरकारसँग समन्वय गरेर निमन्त्रणा दिनुहुने र कार्यहरु गर्नुहुन्छ। यो एक स्वतन्त्र संस्था हो। उहाँहरुको टिमको भनाइ अनुसार म इजरायल आएको एक–दुई महिनामै उहाँहरुलाई थाहा भयो र यहाँका अरु देशका राजदूतावासहरु, मन्त्रालयहरुमा नेपाल राजदूतावासको चर्चा धेरै हुन थाल्यो। उहाँहरुले चाखलाग्दा र गुणस्तरीय प्रस्तुती भन्नु भयो। विभिन्न ठाउँबाट मेरो चर्चा परिचर्चा र नेपाली दूतावासको क्रियाकलापहरु देखेर उहाँहरुले मलाई चयन गर्नुभएको रहेछ।

उहाँहरुले चयन गर्दा कुनै पनि राजदूत कति सक्रिय छन्, आफ्नो देशको लागि कति कामहरु अगाडि बढाउछन्, इजरायलसँग कति सम्बन्ध स्थापित गर्न झकझकाउँछन् लगायतको मूल्यांकन, अध्ययन गरेर उहाँहरुले नेपालको राजदूतावासलाई चयन गर्नु भएको हो। देशको लागि प्रतिनिधिको भूमिका निभाएर कार्य गर्ने हो। यो एउटा ठूलो सम्मान हाम्रो देशको लागि प्राप्त भएको छ र यो गौरवको विषय हो भन्ने म चाहन्छु।

आफ्नो विगत दुई वर्षको कार्यकाललाई कसरी लिनुहुन्छ?

कुनैपनि व्यक्तिले जिम्मेवारी पाएर काम शुरु गर्यो भने कामहरु अगाडि बढाउन एक वर्ष पनि चाहिने रहेनछ भनेर मैले आफैले अनुभूत गरेको कुरा हो। खासमा भन्ने हो भने आवश्यक परेको खण्डमा म २४सैँ घण्टा काम गरिराखेको हुन्छ। आटेको काम होला नहोला भनेर चिन्ता भइराख्छ।

मैले लगभग तीन महिनामै कियर गिभरको कुराहरु र अन्य कुराहरुलाई अगाडि बढाएर उहाँहरुलाई सकारात्मक बनाउन सफल भएकी थिए। उहाँहरुले मेरो कामलाई देखेर नेपाली राजदूतावासलाई कोरोनाले पनि छोएनसम्म पनि भन्नु भयो।

तर, कोभिड–१९ नभएको भए त अझ धेरै कामहरु गर्न सक्थ्यौं। दूतावासमा अरु साथीहरु पनि हुनुहुन्छ, हामी टिम भएर नेपाल र नेपालीको हितका लागि कार्यहरु गर्नमा चाँडै नै अग्रसर हुने गर्छौ। कुनैपनि काम हुनुमा हाम्रो टिमको सफलता हो।

तपाईँको भविष्यको योजनाहरु के छन्?

हामीले नेपाल–इजरायलको सम्बन्धका विषयमा एउटा किताब निकाल्ने जमर्को गरेका छौं। यो लगभग सकिइसकेको छ। यहाँको प्रधानमन्त्रीको हातबाट विमोचन गराउने भनेर पत्राचार गरिराखेका छौं। त्यो एक ऐतिहासिक किताब हुने छ।

त्यस्तै, उच्चस्तरीय भ्रमण गराउने तरखरमा छौं। जसले गर्दा हामीले धेरै नै सहयोगहरु एकआपसमा आदानप्रदान गर्न सक्ने छौं। यो सँगसँगै धेरै सम्झौताहरु पनि गर्न सक्छौं। अहिले परराष्ट्रमन्त्रीज्यूको भ्रमणको लागि प्रयास गरिराखेका छौं। त्यो बीचमा इनर्जी, शिक्षा, संस्कृति, स्वास्थ्य आदि सम्बन्धी सम्झौता गर्ने भनेर लागिराखेका छौं।

टुरिजममा पनि एउटा जोइन्ट कमिटी बनाउने भनेर सोचेका छौं। खेलकुद क्षेत्रमा पनि केही सम्बन्ध बढाउन सकिन्छ कि भनेर लागिराखेका छौं। र, अरु कामहरु पनि धेरै छन्, विस्तारै हामी अगाडि बढाउँदै जाने छौं।

अन्त्यमा मैले सोध्न र यहाँले भन्न खोजेका कुरा केही छन् भने बताइदिनुस् न!

हामीले मात्र होइन अरु दूतावासबाट पनि कामहरु भइराखेकै हुन्छ। कतिपय अरुले सम्पन्न गरिसकेका कामहरु हामीले नेपाल लैजाने प्रयास गर्छौ। त्यसलाई पुनःध्यान दिने काम नेपालले गर्नु पर्छ।

कृषिसम्बन्धी एमओयू भएको लगभग चार महिना हुन लागिसक्यो, त्यसको अध्ययन गरेर नेपालले चाँडै अगाडि बढाउन सक्नुपर्छ। हामीले द्रुत गतिमा गरेका प्रयासहरुलाई अगाडि बढाउन सक्नु पर्यो। त्यो भयो भने नेपाल छिट्टै समृद्ध हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *