कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : नेपाल

डिसी नेपाल
१७ माघ २०७७ २३:४६

सुदूरपश्चिम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा शनिबार धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दावी गर्दै भने, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईँहरुको साथमा हामी छौँ ।”

पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उनले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे। नेता नेपालले निर्मला बलात्कार घटनाका दोषीलाई दण्डित गर्न सरकारसँग माग गरे। भ्रष्टाचारलाई ढाकछोप नगर्न सुझाव दिँदै नेता नेपालले कोरोनाको प्रभावकारी उपचार व्यवस्थापन गर्न तथा सुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए।

नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा ३०० सदस्य रहेको दाबी गर्दै उनले भने, “अर्को पक्षसँग १०० जना रहेकाले त्यो पार्टी नक्कली हो, जहाँ ३०० सदस्य छन् सूर्य चिह्न पनि त्यसकै हुन्छ ।” उनले जनता लोकतन्त्र र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको बताए।

नेकपा स्थायी समितिका सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीमबहादुर रावलले पाँच वर्षका लागि नेकपाले पाएको जनमतको संसद् विघटन गरेर अपमान गरिएको आरोप लगाए।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टीका प्रदेश अध्यक्ष भानुभक्त जैशी, खगराज भट्टलगाएतले पनि समसामयिक राजनीतिका विषयमा आ–आफ्ना धारण प्रस्तुत गर्दै संसद् विघटन गलत भएको बताएका थिए। यसअघि धनगढीको ट्राफिक चोकबाट निस्किएको प्रदर्शन बजारका मुख्य भाग हुँदै खुलामञ्चमा पुगेपछि सभामा परिणत भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *