सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलकाे निर्देशन

डिसी नेपाल
१९ माघ २०७७ १८:४२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकाले तत्काल पूर्णता दिन आग्रह गरे।

उनले वास्तविक भूमिहीनको लगत सङ्कलन सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ । “स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौंँ”, अर्थमन्त्री पौडेलले भने, “काम र परिणाम पनि त्यहीअनुसार आउने गरी काम गर्नुहोस् ।”

सो अवसरमा आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरिएको जानकारी दिँदै आफूहरुले १८ घण्टा खटेर काम गर्ने बताए । उनले आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए।

आयोगका अनुसार ७४ जिल्लाका ४०१ स्थानीय तहसँग भूमिहीन दलित, सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापनका लागि समझदारी भइसकेको छ भने १४ स्थानीय तहमा लगत सङ्कलन जारी छ । आगामी फागुनसम्ममा ७५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत सङ्कलन सम्पन्न गरी कम्तीमा पाँच लाख परिवारको विवरण सङ्कलन गरिनेछ । यस्तै २०७८ साल असारसम्ममा कूल १०० स्थानीय तहको नापजाँच गरी कम्तीमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *