प्रतिनिधिसभा विघटन : के भन्छन् सर्वसाधारण ?

डिसी नेपाल
२१ माघ २०७७ ७:१८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै देशको राष्ट्रिय राजनीति ध्रुवीकरण भएको छ। नेकपाको अनौपचारिक विभाजनदेखि कांग्रेसभित्रको अन्यौलता प्रष्ट रुपमा देखिएको छ। देशको राजनीतिक घटनाले सामान्य नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्छ।

प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा संवैधानिक इजलासमा वहश जारी छ। सबैको ध्यान सर्वोच्चले के फैसला गर्छ भन्नेमा छ। प्रतिनिधिसभा विघटन भएसँगै गल्लीगल्लीका चिया पसलदेखि गाउँका चौताराहरुमा समेत देशको राजनीतिक अन्यौलता विषयमा चर्चा हुन थालेको छ। यसै विषयमा रहेर अस्तव्यस्त काठमाडौंको नयाँबानेश्वरमा हिडिरहेका सर्वसाधरणलाई प्रतिनिधिसभा विघटनमा तपाईंको धारणा के छ? भनि डीसी नेपालले सोधेको थियो।

ललितपुरका राजकुमार लकान्द्रिले संसद् विघटन भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘केही समय भए पनि संसद भत्ता अन्य ठाँउमा सदुपयोग हुन्छ। निर्वाचनमार्फत देश नयाँ जनादेशमा जाने भएकाले पुराना नेताहरुलाई हराएर र दण्डित गरेर नयाँ नेतृत्व चयन गर्ने अवसर हुन्छ।’

भ्रष्टचार र बलात्कार हुँदा सडकमा नआउने अहिले संसद् विघटन हुँदा आफ्नो स्वार्थको लागि सडकमा आउने नेता गलत भएको भन्दै विघटनविरुद्ध आन्दोलन गर्नेहरु प्रति उनले आक्रोश पोखे।

पुराना नेतृत्वले अपेक्षा अनुरुप काम नगरेकोले पुस्तान्तरणका लागि निर्वाचन आवश्यक छ तर अहिले कोरोनाले गुज्रिएको अवस्थामा आर्थिक संकट छ, त्यसैले तत्काल चुनाव गरिदिएको भए राम्रो हुने तर्क विद्यार्थी शंकर गिरीले राखे।

बानेश्वर निवासी प्रतिकला कार्कीलाई संसद विघटन हुनु गलत लाग्छ। कोरोनाले देशमा आर्थिक संकट भएको छ, फेरि निर्वाचन गर्दा पैसाको सदुपयोग हुँदैन बरु त्यो पैसाले कोरोना भ्याक्सिन किन्दा र कुनै प्रभावकारी काममा प्रयोग गर्दा राम्रो हुने धारणा राखिन्।

सरोज भट्टले पनि प्रतिनिधिसभा विघटन हुँदा दुःख लागेको बताए। हाम्रो जस्तो गरिब देशमा आवधिक रुपमा पाँच बर्षमै चुनाव गराउँदा राम्रो हुन्छ। जनताले विश्वास गरेर पाँच बर्षको म्यान्डेट दिएको थियो तर अहिले सरकारले फेरि निर्वाचन घोषणा गर्नु गलत भएको धारणा उनले राखे।

पुराना कपडाहरु सिलाउने मेशीन चलाउँदै गरेका महोत्तरीका टेकबहादुर परियारले निर्वाचनमा जाँदा देशमा आर्र्थिक भार अझै बढ्ने धारणा व्यक्त गरे। उनले आफू जस्ता सर्वसाधरणका लागी महँगी नियन्त्रण नभएको गुनासो गर्दै भने, ‘चुनावमा नेताहरुले गरबी नियन्त्रण गर्ने भाषण गर्छन् तर सांसद भए पछि बिर्सने गर्छन्।’

बानेश्वरका राजकुमार पोक्द्धावारले संसद विघटन, नेताहरुको स्वार्थको खेल भएको बताए। ‘जनतालाई के चाहियो, जनता के चाहन्छन्, त्यो बुझ्दैनन्। कुनै पनि पेशा व्यवसाय गर्ने व्यक्तिहरुलाई तालीम दिए जस्तो नेताहरुलाई पनि जनताको सेवा गर्ने तालीम आवश्यक छ। नेता भएपछि परिवारभन्दा बाहिरको हित सोच्ने हुनुपर्छ।’ जनताको पाँच वर्षे म्यान्डेटलाई सरकारले कुल्चिएकाले बिघटन गलत भएको धारणा उनले राखे।

सात बर्षदेखि ट्याक्सी चलाइरहेका ज्ञानबहादुर श्रेष्ठलाई पनि संसद विघटन हुँदा राम्रो नलागेको बताए। विघटनपछि प्रत्येक दिनजस्तो भएको सडक आन्दोलनले ट्याक्सी कुदाउन अप्ठ्यारो भएको भन्दै उनले सबै दलहरु मिलेर स्थिर सरकार बनाउन अनुरोधसमेत गरे। पहिलेभन्दा सडक विस्तार र विकासमा प्रगति भएको भन्दै उनले यसै सरकारलाई निरन्तरता दिए अझ राम्रो हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *