नेपालमा खोप लगाउने पत्रकारको संख्या न्यून

डिसी नेपाल
२९ माघ २०७७ १७:१७
76
Shares

काठमाडौं। सरकारले पेसाका आधारमा कोरोना विरुद्धको खोप लगाउने प्राथमिकता निर्धारण गरेको छ । जसअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीले शनिबारसम्म सबैजसो प्रदेशमा खोप लगाइसकेका छन्। यस्तै दोस्रो चरण अन्र्तगत आइतबारदखि सरकारले कूटनीतिक नियोगका पदाधिकारी र अग्रपङ्तिमा खटिने पत्रकारलाई खोप लगाउने कार्यक्रम तय गरेको छ। जसमा सरकारले १४ हजार पत्रकारलाई खोप लगाउने लक्ष्य राखेको छ।

तर, पत्रकारलाई खोप दिन लागेको पाँचौं दिन बिहीबारसम्म खोप लगाउने पत्रकारको संख्या करिब १४ सय मात्रै छ। सूचना विभागको तथ्यांकमा हाल काठमाडौंमा मात्रै ३२ सय ८२ जनाले परिचय पत्र नविकरण गराएका छन्। यस्तै नेपाल पत्रकार महासंघबाट परिचय पत्र लिने पत्रकारको संख्या पनि करिब ५ हजार छ। यस्तो अवस्थामा खोप लगाउने पत्रकारहरुको संख्या नै कम देखिएको छ।

हाल काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल हस्पिटलबाट मात्रै पत्रकारहरुका लागि खोप लगाउने व्यवस्था गरिएको छ । अस्पतालकी सुरक्षा इन्चार्ज सिर्जना धानुकका अनुसार प्रत्येक दिन करिब ३ सय जनाले खोप लगाइरहेका छन्। सुरुको तीन दिन खोप लगाउने पत्रकारको संख्या न्यून थियो। सरकारले खोप लगाउने पत्रकारको मापदण्ड खुकुलो बनाएसँगै यो संख्या केही बढेको छ।

पत्रकारलाई कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य हुने छैन्। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने व्यवस्था गरिएसँगै खोप लगाउने पत्रकारको संख्या पनि केही बढेको छ। तर, शुक्रबार अन्तिम दिन रहेकोले सरकारले १४ हजार पत्रकारलाई खोप लगाउने लक्ष्य पूरा हुने देखिँदैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *