भारतमा ट्विटरलाई चुनौती दिन तम्सिएको ‘पहेँलो चरा’

डिसी नेपाल
२ फागुन २०७७ १७:२९

बिबिसि । ट्विटर तथा भारत सरकारबीच तनाव बढ्दै जाँदा भारतमा अचेल एउटा सानो पहेँलो चराको चिन्ह जताततै देखापर्न थालेको छ।अमेरिकी कम्पनी ट्विटरको साटो अचेल भारतीय सरकारका विभागहरूमा कू नामक नयाँ एप चलाउन थालिएको छ।

ट्विटरको नीलो चरा चिन्ह भएको एप छ भने कू को पहेँलो चरा छ।

ट्विटरको दोहोरो मापदण्ड

भारतीय सरकारले झुटा समाचार फैलाएको भन्दै कतिपय ट्विटर खाता बन्द गराइदिन सो कम्पनीलाई भनेको थियो। उसले अमेरिकाको क्यापिटल भवनमा हमलाका बेला झुटा समाचार फैलाएकाहरूको खाता बन्द गराएको तर दिल्लीको लालकिलामा ज्यानुअरी २६ मा त्यस्तै घटना हुँदा उक्साउनेहरूको विरुद्धचाहिँ केही नगरेर ुदोहोरो मापदण्डु प्रदर्शन गरेको आरोप भारत सरकारले लगाएको छ।

सुरुमा सरकारको आदेशलाई ट्विटरले मानेको थियो तर पछि ती खाता पुनर्स्थापित गरिदिएको थियो। सरकारले बन्द गराउन भनेका खाताहरूमा पत्रकारहरूको, समाचार संस्थाहरूको तथा विपक्षी राजनीतिज्ञहरूको खाता पनि रहेका छन्।

यसबीच सत्ताधारी दलका नेतासहित भारतीय सरकारका समर्थकहरूले ट्विटरको बदलामा कू लाई अपनाएर आफ्नो असन्तुष्टि प्रकट गरिरहेका छन्। तिनले भारतमा ट्विटरमाथि प्रतिबन्ध लगाउने आशयका ह्यासट्यागहरूको समेत प्रवर्धन गरिरहेका छन्।

कू ले के गर्न सक्छ?

कू ले भारतीय प्रयोगकर्ताहरूलाई निकै आकर्षित पार्नुको पछाडि एउटा कारण के छ भने यो भारतको पाँचवटा राष्ट्रिय भाषा तथा अङ्ग्रेजीमा प्रयोग गर्न मिल्छ। थप १२ भाषामा यसको विस्तार गर्ने योजना छ।

गत वर्ष मार्चमा थालिएको यो साइटलाई आत्मनिर्भरतामा जोड दिँदै आएको भारत सरकारले पुरस्कार पनि दिएको छ। यसको काम ट्विटरको जस्तै छ। हालसम्म यसको ३० लाख डाउनलोड भइसकेको र एक तिहाइ मानिस सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ।

को हुन् कू का लगानीकर्ता?

यो महिनाको सुरुमा कू को स्वामित्व भएको बङ्गलुरुस्थित कम्पनी बम्बिनेट टेक्नोलोजीजले उसको सो आयोजनाको निम्ति ४१ लाख डलर उठाएको थियो।

यसका एक प्रमुख प्रायोजक मोहनदास पाइ हुन्। सूचनाप्रविधिको विशाल भारतीय कम्पनी इन्फोसिसका एकजना सहसंस्थापक रहेका पाइ भारतीय जनता पार्टी नेतृत्वको सरकारको प्रखर समर्थकको रूपमा पनि चिनिन्छन्।

कू कम्पनीमा चिनियाँ लगानी भएको कुरा कतिपय ट्विटर प्रयोगकर्ताहरूले औँल्याएका थिए। तर कू का प्रमुख कार्यकारी अप्रामेय राधाकृष्णाले सुरुमा केही चिनियाँ लगानी भएपनि हाल नभएको बताएका छन्।

के कू भारतको पार्लर हो?

कैयन् मन्त्री तथा भारतीय जनता पार्टीका समर्थकहरूले कू को पक्षमा भारतीय एप भन्दै आफ्नो भनाइ राख्दै आएका छन्। यसले कू को तुलना अमेरिकाको सामाजिक सञ्जालको पार्लर एपसँग पनि भएको छ।

पार्लरले अमेरिकामा स्वतन्त्र अभिव्यक्तिको मञ्चको रूपमा आफूलाई प्रस्तुत गरेको थियो र चाँडै नै त्यो मञ्च खासगरी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक तथा षडयन्त्रका सिद्धान्तहरूमा विश्वास राख्ने क्यूआनोनजस्ता समूहहरूमाझ लोकप्रिय भयो।

भारतमा पनि ट्विटरबाट रिसाएकाहरू कूप्रति आकर्षित भइरहेका छन्। कतिपय मन्त्रीहरू तथा सेलेब्रिटीहरूले यसमा खाता खोलेका छन्। तिनका समर्थकहरू पनि कू मा पुगिरहेका छन्।

हालसालै भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री रविशंकर प्रसादले कू एपमा आफ्नो ५ लाख फलोअर पुगेको बताएका थिए। उनको मन्त्रालयको खाता पछ्याउनेको सङ्ख्यापनि केही दिन यता डेढ लाखले बढेको छ।

कतिपयले कू लाई चीनको वाइबो एपसँग तुलना गरेका छन् किनभने दुवैमा सरकार तथा सरकार समर्थकहरू हाबी देखिन्छन्। डिजीटल अभियानकर्मी निखिल पाह्वा भन्छन्-भारतको आत्मनिर्भरताको जोड विश्वव्यापी मञ्चहरूको विरुद्ध बन्न सक्छ। ‘भविष्यमा भारत कुनै विश्वव्यापी प्लेटफर्म रहित पो हुने हो कि भन्ने मलाई चिन्ता छ,’ उनले भने।

साथै यिनमा राखिएका सामग्रीहरू कसैले ध्यान नदिँदा झन् उग्र विचारहरूले प्रश्रय पाउनसक्ने उनको चिन्ता छ। ट्विटरका प्रतिस्पर्धी कू र पार्लरमात्र होइनन्। यसअघि म्यास्टोडन तथा टुटरजस्ता सञ्जाल पनि देखा परेका थिए तर तिनले बफादार प्रयोगकर्ताहरूको व्यापक आधार निर्माण गर्न सकेनन्।

सन् २०१९ मा एकजना चर्चित भारतीय वकिलको खाता ट्विटरले रोकिदिएपछि कैयन् उदारवादी भारतीयहरूले म्यास्टोडनको प्रयोग गर्न थालेका थिए तर पछि अधिकांश फेरि ट्विटरमै फर्किए।

‘कसैले पनि ट्विटरको जति आकार भेट्न सकेनन्,’ पाह्वाले भने, ‘किनभने यसले विश्वव्यापी प्रयोगकर्ताहरूको आधारमा सूचना तथा समाचारमा पहुँच दिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *