कोरोनाबाट बेलायतमा दुई नेपालीको मृत्यु, हालसम्म २१ देशमा ३३५ नेपालीको मृत्यु

डिसी नेपाल
३ फागुन २०७७ १३:२०

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा पछिल्लो साता बेलायतमा रहेका दुई नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय ३५ पुगेको छ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ। उनले शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार एक सय २१ पुगेको जनाए। तीमध्ये ५८ हजार चार सय ३२ जना कोरोनामुक्त भएका छन्।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ। संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

विदेशमा रहेका नेपालीले धमाधम खोप लगाउँदै

पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएका हुन्।

यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन्। डा.बोधराज सुवेदीका अनुसार यूरोपमा दुई हजार पाँच सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *