चार युवतीले रुँदै भने- साहुले लुगा फेरेको बेलाको भिडियो खिच्यो र हामीलाई धम्क्यायाे, हामी बन्दी छौं

डिसी नेपाल
७ फागुन २०७७ १०:३५

काठमाडौं। मोहमद भन्ने कम्पनीका मालिकले आजसम्म उनीहरुलाई कोठामा थुनेर राखेका छन्। जुन कोठामा राखेका छन्, त्यस कोठामा सीसी क्यामरा जोडिएको छ। उनीहरु बस्ने, खाने, सुत्ने, लुगा फेर्ने सबै काम त्यही एउटा कोठामा गर्नु पर्ने भएकाले सबै कुरा त्यो साहुले सीसी क्यामरामा हेर्ने रहेछ।

उनीहरुले लुगा फेरेको भिडियो एक दिन पीडित युवतीले देखेपछि त्यससम्बन्धमा कुरा गर्दा सिधै तिमीहरुको शरीर हेर्नलाई खिचेको हो भन्ने साहुले जवाफ दियो।

यूएईमा महिनौंदेखि चार नेपाली युवतीलाई साहुले थुनेर यातना दिएको समाचार डिसी नेपालमा छापिएको थियो। चार दिनअघि छापिएको उक्त समाचार थाहा पाएर पनि म्यानपावर कम्पनी भने उद्धार गर्नुको साट्टो चुप लागेर बसेको छ। अझै ती युवतीहरुको उद्धार भएको छैन।

यसै विषयलाई लिएर वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालसँग बुझ्न जाँदा भर्खरै मात्र ती युवतीहरुको रोदन सुनेर अँध्यारो मुख लगाउँदै टाउकोमा हात राखेर बसेका रहेछन्।

उद्धारको काम कहिले हुन्छ भन्ने डिसी नेपालको प्रश्नमा उनले यसरी बिचल्लीमा पारी नेपाली चेलीहरुलाई दुख दिने म्यानपावर कम्पनीका मालिकलाई तत्काल उद्धार गर्न भनेको उनले जानकारी दिए।

पीडित युवतीहरुलाई रिदम ओभरसिज प्रालिले यूएईको मोहमद भन्ने कम्पनीमा काम गर्न पठाएको रहेछ। कोरोनाभन्दा अगाडि रिदम म्यानपावरले पाँच जना युवती पठाएकोमा एक जना युवती भने भागेर नेपाल आउन सफल भएकी छन्। चार जना भने अझै रुदैँ उद्धार गरिदिनु भनिराखेका छन्।

डिसी नेपाल प्रतिनिधि विभागमा नै भएका बेला रिदम म्यानपावरका चार/पाँच जना कर्मचारीहरु महानिर्देशक दाहालको कार्यकक्षमा प्रवेश गरे। उनीहरु र महानिर्देशक दाहाल बीच भनाभनजस्तो शुरु भयो। म्यानपावरका कर्मचारी आफ्नो बचाउ गर्दै ‘उहाँहरु (पीडित युवतीहरु) ले तलबको विषयमा मात्र कम्प्लेन गरेको झूठो कुरा बताए।

साहुले आएको अलिक दिनपछि उठाउने सुताउने कुरा गर्न थाल्यो। हामी यस्तो काम गर्न आएको होइन कम्प्लेन गर्छौ भन्दाखेरी तिमीहरुलाई आठ–आठ हजार तिरेर ल्याएको हो, भन्यो। अनि हामीले यस सम्बन्धमा कुरा गर्दा म्यानपावरले कुरै सुन्न मानेन्। हामीलाई बाहिर निस्कन पनि दिँदैन। तिमीहरु कमाउन आएको किन बाहिर जानु पर्यो भन्छ। हामी कोठाभित्रै छौं, कहिल्यै पनि बाहिर निस्कन दिइएन र जान पनि पाएका छैनौं।’

उनीहरुको दावीअनुसार, चारमध्ये एक जनाले भने नौ हजार पूरै तलब पाएको र तीन जनाले चाहिँ त्यहाँको भाषा नबुझेर समस्या भएको झूठो विवरण सुनाए। म्यानपावरका कर्मचारीले पीडित युवतीहरुले आफूहरुलाई शोषण भएको नभनेको तर डिसी नेपालको समाचार पढेर शोषणमा परेको भने थाहा भएको बताए।

भर्खरमात्र पीडित चार युवतीहरुको रुवावासी सुनेर मर्माहत र त्यस्तो हालतमा पुर्याउने दलालप्रति आक्रोशित भएर बसेका विभागका महानिर्देशक दाहाल सो म्यानपावर कम्पनीका प्रतिनिधिहरुसँग निकै कडारुपमा प्रस्तुत भएका थिए। उनले ‘तपाईँहरुले पठाएका चेलीहरुको नाङ्गो फोटो राखेर दुबईको साहुले ब्लाकमेल गरिराखेको छ।

तिनीहरुलाई पठाएपछि मानवीय हिसाबले साह्रो गाह्रो के कस्तो छ नानी भनेर सोधिखोजी गर्नु पर्दैन? बैनी समस्या छ भने विभागमा अथवा त्यहाँको दूतावाससँग कुरा गर्छु भनेर राम्रो मुखले कुरा गर्दा तपाईँहरुको के जान्छ? अनि राम्रो मुखले तपाईँले सोधे पो उनीहरुले आफ्नो समस्या तपाईँहरुलाई बताउँछन् त?’ भन्दै जंगिएका थिए।

पीडित युवतीहरुको अवस्था दुबईका एक सरकारी कर्मचारी (नेपाली) बाट आफूलाई थाहा भएको भन्दै महानिर्देशक दाहालले आदेश दिँदै भने, ‘कृपया यो अमानवीय काम नगर्नुस्। एउटा केटीले मलाई शोषण गरिराखेको छ, कोठा, गाडीमा लगेर बलात्कार गरिराखेको छ भनिराख्दा तपाईँहरु भने तलबको कुरा गर्नुहुन्छ? तुरुन्त उद्धार गर्नुहोस् नत्र मानव तस्करीमा मुद्धा लाग्छ तपाईँहरुलाई’

उता पीडित युवतीहरु महानिर्देशक दाहालसँग फोनमा कुरा गर्दै, सर हाम्रो ज्यान बचाइदिनुस, बरु हामीलाई तलब चाहिँदैन भनिराखेका थिए। उद्धारको लागि रुँदै फोनमा गरेको कुराकानीमा उनीहरुको आवाज रुँदारुँदा घाटी सुकेको स्वरमा सुनिन्थ्यो। जसले गर्दा कतिपय कुराहरु त बुझ्नलाई मुस्किल पर्दथ्यो।

महानिर्देशक दाहालसँग पीडित युवतीहरुले भनेका थिए, ‘म्यानपावरलाई पहिलेदेखि नै राम्रो छैन भनेको थियौं। जसरी पनि हामीलाई नेपालमा झिकाउनु नभए हाम्रो लास आउँछ भनेको तर उनीहरु खाली तलबको मात्रै कुरा गर्छन्। खाली उनीहरु एक महिनापछि तलब दिन्छ त्यहीँ बसमात्र भन्छन्।’

फोनमा पीडित युवतीहरुले ‘म्यानपावर र यिनीहरुलाई हामीले निकाल्नु भनेको खबर थाहा पाएर होला अहिले दुबैतिरबाट यता र उता धकेल्ने काम गरिराखेका छन्। तीन चार महिना अगाडि म्यानपावरले हामी जसरी पनि निकाल्छौं भनेकोले हामी चुपलाग्यौं। तर आजसम्म निकालेको छैन्। मोबाइल खोसेर सबै नम्बरहरु डिलिट गरिदिएर कसैसँग सम्पर्क गर्न दिँदैनन्। मेरो एक जना साथी भर्खरै एक लाख तिरेर साथीकोमा गई। साहुँले त्यो साथीलाई गएर पिटेछ, मोबाइल पनि फुटाइदिएछ।’ भन्दै थिए।

फोनमा उनीहरु भन्दैथे, ‘ठूलो कम्पनी भनेर म्यानपावरले पठाएको हो। यहाँ आउनासाथ हाम्रो पासपोर्टहरु लुटियो। एक दुई महिनासम्म तिमीहरुको ट्रेनिङ हो भनेर काम लगाएको पैसा पनि दिइएन। साहुले आएको अलिक दिनपछि उठाउने सुताउने कुरा गर्न थाल्यो। हामी यस्तो काम गर्न आएको होइन कम्प्लेन गर्छौ भन्दाखेरी तिमीहरुलाई आठ–आठ हजार तिरेर ल्याएको हो, भन्यो। अनि हामीले यस सम्बन्धमा कुरा गर्दा म्यानपावरले कुरै सुन्न मानेन्। हामीलाई बाहिर निस्कन पनि दिँदैन। तिमीहरु कमाउन आएको किन बाहिर जानु पर्यो भन्छ। हामी कोठाभित्रै छौं, कहिल्यै पनि बाहिर निस्कन दिइएन र जान पनि पाएका छैनौं।’

उनीहरुको भिडियो बनाएर यूटुबमा हालिदिन्छु भन्दै सँधै धम्काउँदै शारीरिक शोषण गर्दै आएको बताएका थिए। यस्तो कुरा निकै कडारुपमा महानिर्देशक दाहालले म्यानपावर कम्पनीलाई भनेपछि बल्ल उक्त कम्पनीले अब भोलि नै उनीहरुको उद्धारमा लाग्ने जानकारी दिएको थियो।

मानव तस्करीमा हालिदिए भने तपाईँहरुलाई के हुन्छ? भन्दै म्यानपावरका कर्मचारीलाई चेतावनी दिँदै महानिर्देशक दाहालले कतारको पुलिस, एम्बिसीको पुलिस र हाम्रो गरी तीनै जनाको पुलिस त्यहाँ गएर उद्धारमा लाग्ने बताए।

तिनीहरुको उद्धारको लागि विभागका निर्देशक दाहालले दुबईस्थित नेपाली दूतावासकी श्रम परामर्शदाता निर्मला थापालाई फोन गरी बुझ्दा उनले सो कुराबारे आफूलाई कुनै पनि सूचना नआएको बताइन्। उनले चारै जनालाई चाँडोभन्दा चाँडो पुलिस लिएर गई उद्धार गर्ने जानकारी गराएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *