अस्पतालमा पोस्टमार्टम गर्न लागिएको लाश चौराहामा चिया पिउँदै गरेको भेटिएपछि…

डिसी नेपाल
१० फागुन २०७७ ११:०१

काठमाडौं। सडक दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको शव अस्पतालमा थियो । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्टमार्टम गर्न लागिएका मृतक सडकको चौराहामा चिया पिउँदै बसेको खबर आएपछि एकाएक हल्लाखल्ला भयो । भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घटना भएको हो ।

खासमा त्यहाँ सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो । उनको सनाखतपछि पुलिसले उनको शवलाई पोस्टमार्टमका लागि पठायो । तर, केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए ।

उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि शव फुलेश्वरकै भएको बताए । पुलिसले शव पोस्टमार्टमका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका फुलेश्वर सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *