यौनहिंसामा मिल्न पीडित युवतीहरुलाई दवाव

रिता बस्नेत
१२ फागुन २०७७ १९:१३

काठमाडौं । ‘आफूहरुमाथि यौन हिंसा भयाे, बन्दी बनाइएको छ भनेर हारगुहार गर्दा पनि हाम्रो कुरा नसुनी मालिक र म्यानपावर कम्पनीसंग मिल्न दवाव दिइएको छ । हामी नेपाल फर्कन चाहान्छौं, हामी हिंसामा पर्यौं भनेर पटक पटक रोइकराइ गरेका छौं तर हाम्रो कुरा सुनुवाइ भएको छैन’,पीडित युवतीहरुले रुंदै डिसी नेपालसंग भने । यूएईमा महिनौंदेखि पीडामा रहेका चार नेपाली युवती बारम्बार नेपाल आउन हारगुहार गर्दा पनि मुक्ति पाइराखेका छैनन् ।

गएदेखि नै मोहमद भन्ने कम्पनीका मालिकले कोठामा थुनेर अनेक किसिमका क्रियाकलाप गरेको पीडा उनीहरुले धेरै ठाउँमा सुनाइसकेका छन् । तर, उद्धारमा भूमिका खेल्नुपर्ने निकायहरु उल्टै उनीहरुलाई नै गलत ठहर्याउनेतिर लागिपरेको गुनासो पीडितहरुको छ । अरु त अरु युएईस्थित नेपाली दुतावाससमेत मिलापत्र गराउनेतिर लागेको छ ।

याे पनि…….

चार युवतीले रुँदै भने- साहुले लुगा फेरेको बेलाको भिडियो खिच्यो र हामीलाई धम्क्यायो, हामी बन्दी छौं

पीडित युवतीहरुलाई रिदम ओभरसिज प्रालिले यूएईको मोहमद भन्ने कम्पनीमा काम गर्न पठाएको हो । कोरोना संक्रमण फैलिनुभन्दा अगाडि वैदेशिक रोजागरीको लागि युएई उडेका उनीहरु अझै रुदैँ उद्धार गरिदिन आग्रह गर्न छाडेका छैनन् । उनीहरुको पीडा र वास्तविकतालाई डिसी नेपालले उजागर गर्दै आउदासमेत सम्बन्धित निकायले भने यसलाई सामान्यरुपमा लिएको देखिन्छ ।

उनीहरुप्रति सो कम्पनीको साहुले यौन हिंसालगायतका अनेक किसिमका दुव्र्यवहार गरेको पीडितहरुले रुंदै बताएका छन् । कम्पनीले उनीहरुलाई दिइएको एउटा कोठामा समेत सीसी क्यामरा जोडेर साहुले ब्लाकमेल गर्दै आएको थियो । खाने, बस्ने, सुत्ने, लुगा फेर्ने आदि सबै कोठाभित्र हुने क्रियाकलापलाई सीसी क्यामराबाट कैद गरी साहुले भिडियोसमेत बनाएर डर, धम्की दिदैं शारीरिक शोषणलगायतका अनेक क्रियाकलाप गर्दै आएको थियो ।

आफूहरुप्रति दुव्र्यवहार भएको घटना स्वयम् उनीहरुले भ्याएसम्म सम्बन्धित निकाय सबैलाई सुनाईसकेका छन् । तर अझै ती निकाय उनीहरुलाई उद्धारको सट्टा मिलाउने पक्षमा लागिपरेका छन् । पीडितमध्ये एक युवतीले फोनमार्फत पुनःरुदै भनिन्, ‘हामीलाई यहाँबाट निकाल्ने केही कुरै गर्दैनन् । हामीलाई मात्रै नराम्रो बनाएर, उनीहरु सबै राम्रो बनिहाले । कम्पनीले पनि निकाल्नको लागि १० हजार, आठ हजार लाग्छ भनिराखेको छ । अझै म्यानपावरका मान्छेले जसरी हुन्छ मिलेर बस्ने कुरा गर, त्यत्रो पैसा हामी कहाँबाट निकाल्नु भनेर भन्छन् हामीलाई दवाव दिएको दियै छन् ।’

पीडित युवतीहरुको भिसा अवधि नसकिएकाले पीडक कम्पनीले भने पैसा तिरर मात्र जान पाउने भनिराखेको रहेछ । उनीहरुका अनुसार मोहमद कम्पनीको मान्छेले उनीहरुलाई नेपाल पठाउनको लागि सुरुमा प्रतिव्यक्ति यूएईको दिराम १० हजार तिर्नुपर्ने बताएका रहेछन् । नेपालबाट म्यानपावरको मान्छेले कुरा गरेपछि आठ हजार तिनुपर्छ भनेछन् र केही दिनअघि यूएईस्थित नेपाली दूतावासका मान्छे गएपछि भने ६ हजार तिर्नु पर्छ भनेर घटाएका रहेछन् ।

याे पनि…….

यूएईमा चार नेपाली युवतीको दर्दनाक कथा, साहुले नै थुनेको महिनौं भइसक्यो

पीडित युवतीहरुको उद्धारको लागि चारैतिरबाट कुराहरु उठ्न थालेपछि र वैदेशिक रोजगार विभागले पनि सम्बन्धित म्यानपावरलाई उद्धार गर्न भनेपछि पनि प्रमुख उद्धारको भूमिका निभाउनु पर्ने रिदम म्यानपावरले अझै उनीहरुप्रति गम्भीरता देखाएको छैन । म्यानपावरले अझै उनीहरुलाई कम्पनीसँग मिलेर काम गर्न आग्रह गर्दै आएको छ । पीडित युवती भन्छिन्, ‘म्यानपावरको मान्छेले त्यत्रो पैसा तिर्न सक्दैनौं, सक्दो मिलेर बस्नु, बरु हामी तपाईहरुको नेपालमा भएको मान्छे(परिवार)लाई पैसा दिन्छौ, सहयोग गर्छौ, यो त्यो भन्छन् । ’

यस्तो भएर पनि यहाँ बस्नु भन्दा त मर्नु नै बेसजस्तो भैसकेको बताउँदै उनी भन्छिन्, ‘हामीलाई पैसा प्यारो छैन, प्लीज हामीलाई जसरी पनि झिकाउनु । हामीलाई यस्तो गरिसकेपछि पनि कसरी बस्नु भनेपछि म्यानपावरका मान्छेले मिलाउछु मिलाउछु भनेर भन्छन् । कम्पनीको मान्छेले पनि एक हप्ताको समय दिएको छ । पैसा हालिदिन्छ र निस्कन्छौं भनेर हामी यहाँ सबैजना झोलाहरु प्याक गरेर बसिराखेका छौं । अहिलेसम्म म्यानपावरको मान्छेले पैसाको तयारी नै गरेका छैनन् । अब त हाम्रो केही नै बाँकी रहेन र केही नै चलेन, मर्नमात्र बाँकी छ ।’

कम्पनीको मान्छेले गरेको दुव्र्यवहार सहन नसकेर उनीहरुले त्यहाँको पुलिसकोमा रिपोर्ट लेखाउनसमेत जाने तयारी गरेका रहेछन् । तर, उल्टै कम्पनीले उनीहरुलाई पुलिस केस गरेछ । पीडित युवती भन्छिन्, ‘हामीप्रति गरेको दुव्र्यवहार अति भएपछि पुलिस केस गर्छौ भनेका थियौं तर उनीहरुले थाहा पाएर उल्टै हामीलाई अघिल्लो दिन नै पुलिसकोमा लगिहाले । हामीले पुलिसलाई यस्तोयस्तो गर्छ भनेर सबै कुरा भन्यौं । कोठामा पनि सीसी क्यामरा राखेको छ, हाम्रो भिडियो देखाएर नराम्रो कार्य गर्न खोज्छ, भनेको । अनि हामीसँग पुलिसलाई देखाउन केही पनि प्रमाण भएन । उनीहरुले हाम्रो बोलीको आधारलाई सत्य मानेन । तर, उनीहरुको बोलीको आधारलाई भने सत्य ठान्यो र हाम्रो बोलीको आधारलाई लिएर सबुद छैन, भन्यो । हुनत मैले आफ्नो मोबाइलमा केही प्रमाण राखेको थिए, तर कम्पनीको मान्छेले मोबाइल खोसेर भएको प्रमाण सबै डिलिट गर्यो र मोबाइल फम्र्याट गरिदियो ।’ आफूमाथि यौनहिंसा भएको छ भनेर चिच्याइचिच्याई भन्दा पनि प्रमाण खोजेपछि त्यसको प्रमाण कसरी दिने पीडितहरु अन्यौलमा छन् ।

म्यानपावरले पनि कम्पनीसँग सबै कागजात गराउछौं भन्दै मिलेर बस्न आग्रह गरेको बताउने उनी भन्छिन्,‘अब पनि कसरी काम गर्नु भनेको ?, त्यस्तो हाम्रो इज्जतसँग खेल्छ भनेपछि, कसरी मिलेर बस्नु भन्न सक्छन् ? एम्बीसीको मान्छेले पनि, म्यानपावरको मान्छेले पनि कसरी भन्न सक्छन् क्या रु हामी सक्दैनौं, उनीहरुको मुख हेर्न समेत हामीलाई गाह्रो भैसकेको छ, भन्दाखेरी तिमीहरुको परिवारमा पनि समस्या के छ, बरु त्यो तिरिदिन्छौं रे, हाम्रो व्यथा पनि बुझ भन्छन् । अनि हाम्रो व्यथा चाहिँ कसले बुझ्ने ?’

एउटी युवतीले बारम्बार म बलात्कार भए, घर जान्छुभन्दा समेत पीडकसँगै काम गर्ने वातावरण बनाउनु खोज्नु कस्तो लज्जास्पद कुरा हो ?पीडित युवती भन्छिन्, ‘कम्पनीको मान्छेले हामीलाई मात्र नराम्रो बनाउन खोजिराखेका छन् र कुनै दुव्र्यवहार गरेको छैन, भन्छन् । एम्बीसी पनि अस्ति (यहि फागुन १० गते) आएर कम्पनी र हामीसँग कुरा बुझेर गए । हामीले पनि सबै कुरा भन्यौं । कम्पनीको मान्छेले पनि मुखले नै भनेको हुन, एम्बीसीलाई कम्पनी त्यस्तो नराम्रो जस्तो लागेन रे । म्यानपावरका मान्छेले पनि त्यसै भन्छ, अनि एम्बीसीले पनि त्यस्तो केही गलत देखेन रे । हामी भोग्नेलाई मात्रै थाहा छ नि त । हामी त्यत्तिकै यति धेरै त लड्दैन थियौं होला नि । हाम्रो पनि इज्जतको सवाल छ, त्यत्तिकै त हामीले बेइज्जत गरेनौं होला आफ्नो ।’

उनी रुदै भन्छिन्, ‘कम्पनीका मान्छेहरु नै गलत छन् । उनीहरुले हाम्रो मोबाइलमा भएको प्रमाणहरु पनि सबै डिलिट गरिदिए । अब हामीसँग केही प्रमाण छैन, हाम्रो बोली मात्रै हो । एम्बीसीलाई पनि उनीहरुले बोलेरै राम्रो बनाए र एम्बीसीले पनि हाम्रो कुरा सुनेन ।’

दूतावासका मान्छे गएपछि भने कम्पनीका म्यानेजरले पैसा तिरेर उनीहरुलाई लैजान एक हप्ताको समय दिएको रहेछ । पीडित भन्छिन्, ‘एक हप्ताभित्र पैसा निकालोस्, त्यतिन्जेलसम्म केटीहरु काम गर्नुपर्छ भनेपछि एम्बीसीको मान्छेले हुन्छ यिनीहरु काममा जान्छन्, भनेका छन् । काममा गएन भने हामीलाई कराइहाल्छ, कुटिहाल्छ अनि त्यसैले हामी नबोली चुप लागेर काममा गइराखेका छौं । किनकि नेपालबाट आज भोलि पैसा हाल्छ होला अनि झिकाउछ भनेर हामी चुप लागेर काममा गइराखेका छौं । एम्बीसीका मान्छेहरु पनि हामीलाई उद्दार गर्न आएका होइनन्, मिलाउन मात्र खोजेका छन् ।’

उनी भन्छिन्, ‘अहिले कम्पनीका मान्छेहरु हामीसँग पनि बोल्दैनन् र हामी पनि उनीहरुसँग बोल्दैनौं। कामसँग मात्रै सरोकार गरेका छौं। यत्रो भइसकेपछि त कसरी बस्न सकिन्छ र आफै सोच्नु न अलिकति । अहिले बाध्यताले नबोली नबोली काम गरिराखेका छौं । प्लीज छिटो निकाल्न भनिदिनु न । बरु मरेकै बेस भैसक्यो । हामी कोही पनि केही गर्न सक्दैनौं बरु मर भन्दिए, हामी मर्न पनि तयार छौं । अब हामी यति सहेर त कहाँ बस्न सक्छौं ?’

यता म्यानपावरले भने उनीहरुको पीडालाई भन्दा पनि आफ्नो पैसा जाने डरले उतै मिलेर बसेदेखि हुन्थ्यो जस्तो व्यवहार गरिराखेको रहेछ । पीडित युवतीका अनुसार केही दिन अघिमात्र म्यानपावरले तिमीहरुलाई निकाल्न सक्छौं तर फेरि त्यति पैसा तिरेपछि पनि तिमीहरुलाई कम्पनीले नेपाल आउन नदेला भन्दै अलमल्याउन खोजिराखेका रहेछन् ।

पीडित युवतीले पछिल्लो समय पनि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग आफूहरुको उद्धारको लागि म्यासेज गरेको बताएकी छन् । ‘न्यूजहरुमा पनि यत्रो आइसक्यो, सबैलाई थाहा भइसक्यो, यत्रो गर्दाखेरी पनि उद्दार गर्न नसक्ने भनेपछि त हामी बाच्ने केही आधार नै छैन’ भन्दै फोन राख्नुभन्दा अगाडि पीडित युवती आग्रह गर्दै भनिन्, ‘प्लीज एकहप्ताभित्रै हामीलाई कम्पनीबाट निकालिदिन भनिदिनुस् न ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *