विदेशबाट फर्किएका युवाका लागि प्रभुको कर्जा परियोजना

डिसी नेपाल
१५ फागुन २०७७ १२:५०

काठमाडौं। प्रभु बैंकले विदेशवाट फर्किएका युवाहरुलाई लक्षित गर्दै ‘विदेशबाट फर्किएका युवा परियोजना कर्जा’ शुरु गरेको छ। बैंकले यूएस एडको सहकार्यमा विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार गर्ने उद्देश्यले ‘विदेशबाट फर्किएका युवा परियोजना कर्जा’ शुरु गरेको हो।

कोरोना भाइरस महामारीका कारण धेरै युवाहरु विदेशबाट फर्किएका र देशमा पनि कैयौं युवाहरुले रोजगारी गुमाएको कुरालाई मध्यनजर गर्दै यो योजना ल्याइएको बैंकका सिइयो अशोक शेरचनले जानकारी दिए। उनले भने “बैंकले गरेको एउटा सर्वेक्षणले प्रदेश नं २ बाट सबैभन्दा धेरै युवा विदेशिएको देखाएको छ। त्यसैले यो योजना प्रदेश २ बाट सञ्चालन गरेका छौं। यो योजना प्रभावकारी भएको खण्डमा देशभरि नै विस्तार गर्ने योजना छ। धेरै भन्दा धेरै युवाहरु आत्मनिर्भर होउन् भन्ने हाम्रो चाहना हो।”

उनले विदेशबाट फर्किएका केही गर्छु भन्ने युवाहरुले पुँजीको अभावमा समस्या भोग्नु नपर्ने बताए। विदेशबाट फर्किएका जो कोहीले बैंकले तोकेको आवश्यक प्रक्रिया पूरा गरेपछि कर्जा पाउन सक्ने उनको भनाई छ। प्रदेश २ का १२ वटै शाखाहरुबाट सञ्चालित रहेको बैकंले जनाएको छ।

परियोजनाका लागि कम्तिमा ६ महिना विदेश बसेर नेपाल फर्किएको हुनु पर्ने छ। यस्तै आफूले सञ्चालन गर्न लागेको व्यवसायको खाका स्पस्ट रुपमा खुलाउनु पर्ने छ। कर्जा २ वर्षको अवधिका लागि हुने छ। बैंकले न्यूनतम व्याजदरमा ३ लाख रुपैयाँदेखि १५ लाखसम्म कर्जा प्रदान गर्ने छ। बैंकले सञ्चालन गरेको परियोजनाबाट हालसम्म ६८ जना लाभान्वित भइसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *