२ पटक बलात्कृत भएकी ‘बन्दुककी रानी’ले महिलाहरुलाई बन्दुक बोक्न आग्रह गरिन्

डिसी नेपाल
२२ फागुन २०७७ १४:२८

काठमाडौं। दुई पटक बलात्कारको सिकार भएकी एक महिलाले महिलाहरूलाई आफ्नो सुरक्षाको लागि हतियार बोक्न आग्रह गरेकी छिन् । ‘बन्दुककी रानी’ भनेर चिनिने २६ वर्षीया ओरिन जुलीले इजरायलमा चेतना जगाउन आफ्ना दुःखदायी अनुभवहरू खुलाएकी छिन् ।

इजरायली सरकारले बन्दुकको स्वामित्वसम्बन्धी एकदमै कडा नियमहरू लागू गरेको छ । तर, यसले जुलीलाई विशाल हतियारहरू प्रयोग गर्दै महिला सशक्तिकरणलाई नियमित रूपमा प्रवर्धन गर्नबाट रोकेको छैन । उनी अनलाइन बन्दुक र यससम्बन्धी सामान बिक्री गर्ने पसल चलाउँछिन् । सरकारले नियमहरू खुकुलो बनाओस् र आफ्नो देशका धेरै महिलाहरूलाई कानुनी तवरमा आफ्नो सुरक्षाको लागि बन्दुक बोक्न अनुमति देओस् भन्ने उनी चाहन्छिन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार जुलीले आफू विगतमा निकै डरलाग्दो अनुभवबाट गुज्रिएपछि अरूलाई सहयोग गर्न आफू प्रेरित भएको बताइन्। उनले भनिन् ‘म आफ्नो जीवनमा दुई पटक बलात्कारको सिकार भएको छु, पहिलो पटक आठ वर्षको उमेरमा एक जना वृद्ध पुरुषले मलाई यौन दुर्व्यवहार गरे। यसले मलाई यति धेरै असर गर्यो कि मैले आफ्नो सम्पूर्ण आत्मविश्वास गुमाएँ र सबै कुरादेखि डराउन थालें । म एकदमै चुपचाप र थोरै साथीहरु भएको बच्चा भएँ । वयस्कहरूप्रति म सधैं शंका गर्थें, तिनीहरूमाथि मेरो कुनै विश्वास थिएन।’

त्यसको केही वर्षपछि १५ बर्षको उमेरमा जुली फेरि बलात्कारको सिकार भइन् । यसपटक उनी १८ बर्षका प्रेमीबाट बलात्कारको सिकार भएकी थिइन् । उनले भनिन् ‘त्यसपछि म ऊबाट टाढिन सक्दो प्रयास गरें । म निराश भएँ र घरमै बसें । स्कूल जान निकै संघर्ष गर्नुपर्यो । यसले मेरो जीवनको हरेक पक्षलाई असर गरिरह्यो।’ किशोर उमेरकी उनी यति विचलित भइन् कि उनले उक्त कथित अपराधबारे त्यतिबेला प्रहरीलाई रिपोर्ट गर्न पनि सकिनन्। वर्षौंपछि मात्र जुलीले परिवार र साथीहरूसँग यस आक्रमणबारे कुरा गर्न सकेकी थिइन् तर कसैले उनलाई सहयोग नगरेपछि उनी फेरि निराश भइन् ।

त्यसपछि उनले थेरापीको सहयोग लिनुपर्यो जसले उनलाई सामान्य जीवनमा फर्किन धेरै सहयोग गर्यो । जुली १८ वर्षको उमेरमा इजरायल डिफेन्स फोर्स (आईडीएफ)मा भर्ती भइन् र अन्ततः उनले खोज तथा उद्धार एकाइमा तीन वर्षसम्म लडाकू सिपाहीको रूपमा सेवा गरिन्। यहाँ उनले कसरी बन्दुक चलाएर आत्मरक्षा गर्ने भन्ने सिकिन् । उनले अत्यन्तै कठिन सैन्य प्रशिक्षण क्राभ मागा पनि लिइन् ।

जुलीले भनिन् ‘मलाई सामरिक प्रशिक्षण, हतियार र आत्मरक्षाप्रति मोह जाग्यो । मैले पहिलो पटक आफूलाई सशक्त महसुस गरें । मैले आफैंलाई आफ्नो रक्षकको रुपमा पाएँ । म आफैं अभिन सकें । मैले आफ्नो आवाज पाएँ र अहिले सशक्त रुपमा बोल्न सक्ने भएकी छु । आईडीएफ छोडेपछि जुलीले आत्मरक्षाका कक्षाहरू चलाइरहेकी छिन् र महिलाहरूले कसरी आफ्नो सुरक्षा गर्न सिक्न सक्छन् भन्ने बारेमा जागरूकता बढाउन आफ्नो सामाजिक संजाल प्लेटफर्म पनि प्रयोग गर्छिन् । तर उनलाई इजरायलको बन्दुकसम्बन्धी कडा कानुनका कारण महिलाहरुलाई आफूलाई सुरक्षित राख्न गाह्रो हुनेप्रति उनी चिन्तित छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *