अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

डिसी नेपाल
२२ फागुन २०७७ २२:३०

काठमाडौं । ‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे । हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य मेलाले राखेको छ ।

स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवर्द्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिइन् । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादनरनेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवर्द्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने बताइन्।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताउँदै अन्यथा यो पेशा सदाका लागि समाप्त हुने अवस्था आउनेतर्फ चिन्ता व्यक्त गरे । उनले उत्पादनसँगै बजारीकरणको चुनौती रहेकाले त्यसमा रहेका समस्या समाधानका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

त्यस्तै नेपाल व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले अन्य सामग्रीभन्दा हस्तकलाका उत्पादन निरन्तर निर्यात हुने भएकाले यसको कूल ग्राहस्थ उत्पादनमा पाँच प्रतिशत रहेको दाबी गरे । यस्ता सामग्रीको उत्पादनसँगै निकासी तथा प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कूटनीतिक नियोगमा समेत प्रदर्शनमा राख्न छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी दिए । मेला यही फागुन २४ गतेसम्म चल्नेछ ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैँची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान रहेका छन् । यस्तै कूल ५० स्टल रहेको मेलामा काठमाडौं उपत्यकाका लघु, घरेलु उत्पादक एवं कम आय भएका महिलाले तयार पारेका सामग्री राखिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *