हेलम्बुको आमा यांग्रीको लोभलाग्दो दृश्य (फोटोफिचर)

डिसी नेपाल
२३ फागुन २०७७ ११:३०

सिन्धुपाल्चोक। हेलम्बु नेपालको पर्यटन उद्योगमा निकै चर्चित नाम हो। धार्मिक र ग्रामीण पर्यटनका कारण नेपालको पर्यटकीय क्षेत्रमा प्रख्यात हेलम्बु राजधानी काठमाडाैंबाट नजिकैको गन्तव्य हो।

आमा यांग्री पुग्दा लाग्छ, यही पो हो की स्वर्ग? समुन्द्री सतहदेखि ३७ सय मिटरको उचाईमा अवस्थित यो सुन्दर पहाड र त्यसमाथि निर्मणाधीन आमा ज्योमो यांग्री मन्दिरले मनै लोभ्याउँछ।

मोटर बाटोको अन्तिम ठाउँ ज्योमोथाङबाट २ घण्टा ठाडो उकालो चढ्दाको अप्ठ्यारो र शिरमा कठिनतापछि पुग्दाको आनन्द महसुस गर्न सकिने ठाउँ आमा ज्योमो आमायांग्री एक पर्यटन गन्तब्य स्थल हो।

चारैतिर हिमालै हिमालको लस्कार, तल्लो क्षेत्रमा देखिने गाउँवस्ती, जंगल र पहाडका टाकुराहरुको लोभलाग्दो दृश्यले सबैलाई मोहित पार्दछ । नेपालको पर्यटन उद्योगमा चर्चित हिमाली पासको रुपमा रहेको ५१ सय मिटरको उचाइमा रहेको गन्जलापास जाने पदमार्गमा अवस्थित आमा यांग्रीबाट राजधानीको सबैभन्दा नजिक रहेको जुगल हिमश्रृंखलाका सबै हिम चुचुराहरु नजिकबाट नियाल्न सकिन्छ।

सिंगो डाँडानै बुद्धिष्ट झण्डाले सजिएको यो सुन्दर डाँडाबाट जुगल हिमश्रृंखलका ६ हजार मिटरभन्दा माथिका ११ ओटा चुचुराहरु दोर्जेलाक्पा (६९६६ मिटर), फुर्वघेच्यु (६७३७ मिटर), भैरब टाकुरा (६,७९९मिटर), गङछेम्बु (६३७८ मिटर), गुरुकर्पाे रि (६८८९ मिटर), ग्यल्चेन पिक (६१५१ मिटर), लाङसिसा रि (६४१२ मिटर), लेम्पोगङ (६०७९ मिटर), लेम्पोगङ इष्ट (६७३५ मिटर), उर्केनमाङ (६१४३ मिटर) र याङरी जुगल (६५३५ मिटर) निकै नजिकबाट मोबाइलमा मज्जाले कैद गर्न सकिन्छ।

आमा यांग्रीबाट केही घण्टाको यात्रा तय गरी यस क्षेत्रकै पवित्र स्थान डुप्कुमा पुग्न सकिन्छ। गुफा बस्नको लागि डुप्कु, बौद्ध धार्मिक माहान लामा गुरुहरुको रोजाईमा पर्दछ। ७२ वर्षीय छेवाङ रब्गे ती आतेश लाग्दो उकालोको हिडाईलाई वेवास्ता गर्दै सुनाउदै थिए कि यो ठाउँमा पाइला टेक्न पाउनु नै भाग्यमानी हो।

मनाङदेखि आएका रब्गेले संसारका विभिन्न पवित्र ठाउँहरुमध्ये यो एक पवित्र ठाउँ भएको भन्दै यो बेह्युलमा भ्रमणका लागि सबैलाई अनुरोध गरे। स्थानीयवासी बिशेषगरी तार्केघ्याङबासीको सक्रियतामा निर्माण भएको मन्दिर ०७२ को महाभूकम्पले ध्वस्त भएको थियो। र, उनकै सक्रियतामा निर्माणकार्य भइरहेको छ।

हेलम्बु अर्थात् ह्योल्मो क्षेत्रको संरक्षणका लागि रहेको आमा यांग्री यस क्षेत्रको सबैभन्दा उत्कृष्ट गन्तब्य रहेको छ। हेलम्बु क्षेत्रको यात्रा गर्दा आमा यांग्री पुगेन भने यात्रानै अपुरो लाग्ने त्यँहा घुम्न जाने आन्तरिक पर्यटकहरुको भनाइ छ।

हेलम्बु क्षेत्रको भौगोलिक बनावट, हावापानी, सामाजिक संरचना र ह्योल्मोलीहरुको हँसिलो मुस्कानसहितको स्वागत सत्कार नै यहाँको पर्यटकीय आकर्षण हुन्। दर्जनौ गुम्बा, मानेहरु, प्राकृतिक जंगल, हावापानी र जंगली जनावरहरुको संरक्षण सम्बद्र्धनले हेलम्बु प्रख्यात छ।

आमा यांग्रीक्षेत्रको प्राकृतिक सुन्दरता हेर्नकै लागि काठमाडौंदेखि विभिन्न जिल्लाका स्थानीय दिनहु ३० जना पर्यटनहरु आउने गरेका छन्। हिन्दु र बौद्ध तिर्थालुको घुइँचो लाग्ने यहाँ विशेषत विश्वकल्याणको लागि अनेक परम्परागत पूजा हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *