साक्षर बन्दै हेलम्बुका महिला

डिसी नेपाल
२४ फागुन २०७७ १३:५४

सिन्धुपाल्चोक् (हेलम्बु)। पर्यटकीय क्षेत्र हेलम्बुमा पर्यटकहरुको आगमनसँगै ह्योल्मो समुदायका महिलाहरु दिनको दुई घण्टा अनौपचारिक शिक्षा लिइराखेका छन्। हेलम्बुको सेर्माथोङका अधिकांश महिलाहरु डेनमार्कबाट आएको सहयोगमार्फत अनौपचारिक शिक्षा लिनमा व्यस्त भएका हुन्।

आन्तरिक र वाह्य पर्यटकहरुको लागि पनि भाषा अनिवार्य भएकाले उनीहरु अंग्रेजी र नेपाली भाषाको कक्षा लिइराखेका छन्। हाल धेरैजसो हेलम्बुका घरहरु होमस्टेमा परिणत भएका छन्। जसले गर्दा यहाँका स्थानीयहरु अंग्रेजी भाषा सिक्न प्रोत्साहित देखिन्छन्।

कोरोना माहामारी अघि धेरैजसो विदेशी पर्यटकहरु आउने गरेको हेलम्बुमा यतिबेला विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ। जसले गर्दा उनीहरु नेपाली भाषासमेत सिकिराखेका छन्।

हेलम्बुस्थित सेर्माथाङ फल्क हाइस्कुलमा अंग्रेजी र नेपाली दुबै भाषा सिकिराखेका अधिकांश महिलाहरु उत्साहित देखिन्थे। सोहि समयमा अंग्रेजी भाषा सिकाइराखेका ढिन्डु लामाले भने, ‘आफ्नो संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ? विदेशी पर्यटकसँग कसरी बोल्न सजिलो हुन्छ? भन्ने कुरामा जोड दिदंै ह्योल्मो समुदायका महिलाहरु अंग्रेजी भाषा सिक्नतर्फ लागेका हुन्।’

यसरी अंग्रेजी भाषा सिक्दा विदेशी पर्यटकसँग बोल्न सजिलो हुनुका साथै पर्यटक भएर आउने नेपाली र विदेशी पाहुनालाई राम्रो सत्कार दिन सकिनेमा आफूहरु विश्वस्त रहेको कक्षामा भाषा सिकिराखेका अधिकांश महिलाले बताए।

“सबै महिलाहरु खुसी छन्, सो सिकाइ फलदायी भइरहेको” ढिन्डु लामाले डिसी नेपाललाई बताए। उनका अनुसार अहिले सेर्माथाङका धेरै जसो महिलाहरुले अंग्रेजीमै पाहुनाहरुलाई राम्रो सत्कार दिइरहेका छन्। साथै यसलाई अझै निरन्तरता दिन समेत् आग्रा गने गरेको उनको भनाइ छ।

हेलम्बु कस्तो ठाउँ हो?

नेपालको सिन्धुपाल्चोक जिल्लामा पर्ने हेलम्बु क्षेत्र पर्यटन उद्योगमा निकै चर्चित छ। धार्मिक र ग्रामीण पर्यटनका कारण नेपालको पर्यटकीय क्षेत्रमा प्रख्यात हेलम्बु राजधानी काठमाण्डौबाट नजिकैकै गन्तब्य हो।

हेलम्बु क्षेत्रको भौगोलिक बनावट हावापानी, सामाजिक संरचना र ह्योल्मोलीहरुको हँसिलो मुस्कान सहितको स्वागत सत्कार नै यहाँको पर्यटकीय आकर्षण हो। दर्जनौ गुम्बा, मानेहरु, प्राकृतिक जंगल हावापानी र जंगली जनावरहरुको संरक्षण सम्बद्र्धनले हेलम्बु प्रख्यात छ।

बौद्धधर्मावलम्बीहरुका अनुसार हेलम्बुलाई पवित्र तपोभूमिको रुपमा चिनिन्छ। सत्ययुगमा गुरु रिम्पोचे, मिलारेब्बलगायतका धर्मगुरुहरुले ह्योल्मो क्षेत्रमा तपस्या गरि ज्ञान हासिल गरेको कुरा बौद्धधर्म ग्रन्थहरुमा उल्लेख भएकाले हेलम्बुलाई बौद्धधर्मलम्बीहरुले पवित्र पुण्यभूमिको रुपमा पुज्ने गर्छन् ।

आठौँ शताब्दीमा हेलम्बुमा गुरु रिम्पोचे पद्मसम्भवको लामो बसाई रहेको बौद्धधर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ। बौद्ध धार्मिक ग्रन्थहरुमा हेलम्बुको बारेमा यही कुरा उल्लेख भएकोले हेलम्बुको नामले चिनिने प्रमुख वस्तीहरुमा पशुपंक्षीको काटमार निषेध छ। अहिंसावादी धर्मका अनुयायीहरुको प्रमुख गन्तव्यको रुपमा परिचित हेलम्बुमा प्रत्येक दिन सयौंको संख्यामा धार्मिक पर्यटकहरु आउने गर्छन्।

सामाजिक रुपमा काटमार निषेध गरिएकै कारण विश्वमा दुर्लभ बन्दै गएको रेडपाण्डाको प्रमुख आश्रयस्थल बनेको छ, हेलम्बु। यसैगरी, काटमार निषेधित क्षेत्र भएकै कारण लाङटाङ राष्ट्रिय निकुञ्जलाई बन्यजन्तु संरक्षणमा निकै सघाउ पुगेको छ। हेलम्बुमा कालिजहरु मानवबस्तीमा पसेर कुखुरासँग मजाले कुस्ती खेल्छन्। आफ्नो धर्म, संस्कार र संस्कृतिलाई प्राणभन्दा प्यारो ठान्ने ह्योल्मोलीहरुको विशेषताकै कारण हरेक बस्तीमा गुम्बाहरुको निर्माण र संरक्षण भइरहेको छ।

स्थानीय वासिन्दाहरुको अथक प्रयास, समर्पण र ह्योल्मो क्षेत्रकै विकास र उन्नतिका निम्ति व्यक्तिगत सम्पत्तिको पर्वाह नगर्ने सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थितिकै कारण हेलम्बुको अस्तित्व माथी पुगेको छ। फलस्वरुपः अहिले हेलम्बुको विभिन्न बस्ती आकर्षक गुम्बा र छ्योर्तेनहरुले सजिएका छन्।

हेलम्बुलाई सजाउने गहनाहरु मध्येकै ठुलो महत्वकांक्षीको रुपमा रहेको पछिल्लो चरणको निर्माणाधिन हिमालय ग्रेट ट्रेलले हेलम्बु क्षेत्रमा थप पर्यटनको अर्को महत्वपूर्ण गन्तब्य हुने छ।

ह्योल्मोली शैलीको घरको आन्तरिक सजावट, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गरिने स्वागत सत्कारको शैलीले पनि पर्यटकीय क्षेत्रमा विशिष्ट हासिल गरेको छ, हेलम्बुले। स्थानीय सरकार, सम्बन्धित निकाय र स्थानीय हेलम्बुवासीहरु पनि हेलम्बुलाई पुनःएक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाउन विभिन्न कार्यक्रमहरुसहित अगाडी बढेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *