महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीकाे घुँइचाे

उपेन्द्र शाही
२७ फागुन २०७७ ९:०४

काठमाडौं। हिन्दु धर्मालम्बीहरुको महाशिवरात्रि पर्व बिहीबार देशभर धुमधामसहित मनाइँदै छ। भगवान शिवजी उत्पत्ति भएको पौराणिक कहानीअनुसार प्रत्येक वर्षको फाल्गुण कृष्ण चतुदर्शीका दिन महाशिवरात्रि पर्व मनाइन्छ।

सोही अवसरमा यो वर्षको महाशिवरात्रि पर्व मनाउन आज विहानैभरि देशभरका शिवालयहरुमा चहलपहल बढेको छ। खासगरी काठमाडौंको पशुपत क्षेत्र विशेषरुपमा श्रंगारिएकाे छ। यस क्षेत्रमा बिहीबार बिहानैदखि श्रद्धालु र भक्तजनहरुको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरु पंक्तिवद्ध लाइन लागिरहेका छन् भने साधुसन्तहरूको भिडले पर्वको रौनकता बढाएको छ।

शिवजी उत्पत्ति भएको स्मरण र खुशियालीमा यो पर्व मनाइने चलन छ। शिवरात्रि पर्व शिवको पूजाआजा र मनोरञ्जनसँग सम्बन्धित छ। यस वर्षको महाशिवरात्रि पर्वमा पशुपतिमा पूजाआजा गर्न आउने सबैलाई कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै अनिवार्य माक्सको नियम कडाइकासाथ लागू गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिको दर्शनका लागि कमसेकम आधिघण्टादेखि दुई घण्टासम्मको समय लाग्ने छ। यो वर्ष कसैलाई पनि प्रवेशपासको व्यवस्था गरिएको छैन।

शिवरात्रिमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहानैदेखि खुला गरिएको छ भने बाहिरीरुपमा तीनवटा स्थानबाट दर्शनलाइनहरु छन्। भक्तजनहरूले आँफूलाई पायक पर्ने गरी पङ्क्तिबद्ध भएर मन्दिर प्रवेश गर्न सक्नेछन्।

कोषले ११ वटा उपसमितिहरू बनाएर शिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ। भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। चार हजार भन्दा धेरै स्वंसेवक र स्वास्थ्य शिविरहरु सञ्चालनमा छन्। यस्तै दर्शनका लागि सवारी साधनमा आउनेहरूका लागि ५ ठाउँमा पार्किङको व्यवस्था समेत गरिएको छ।

पशुपति क्षेत्रविकास कोषले यस वर्ष १० लाख भक्तजन आउने अनुमान गरेरे सोही अनुसारको तयारी गरेको हो। सदा झैं यस वर्ष पनि शिवरात्रिको अवसरमा देशका विभिन्न ठाउँलगाएत भारतका विभिन्न स्थानका तीर्थयात्रीहरु पशुपतिनाथ क्षेत्रमा भेला भएका छन्।

पर्वको राजा महाशिवरात्रि

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिन्छ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ। शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुने जनविश्वास रहिआएको छ। यस पर्वको अवसरमा भक्तालुहरु रातभर जाग्राम बस्दछन्, शिवको नाममा धुनि जगाउँछन्, नाचगान र मनोरञ्जन गर्दछन्।

व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व प्रत्येक वर्षको कृष्ण चतुर्दशीमा मनाइन्छ।

निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा किर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्।
महिलाहरुले आफ्नो पतिको चीर आयू, परिवारको आरोग्य, ऐश्वर्य, समृद्धि , सफलता ,उत्तरोत्तर प्रगतिको कामनाकासाथै सुस्वास्थ्य अनि दीर्घायुको कामना गरि भगवान शिवको पूजाआजा गर्ने गर्दछन्।

विधान

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन्। शिवलिंगमा बेल–पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राति शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रीको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ।

परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुद्ध भएर उपवास गर्ने गरिन्छ।

विधि
यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।

राति जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

महाशिवरात्रि भगवान शंकरका निमित्त सबैभन्दा पवित्र दिन हो। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिने विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *