होमस्टे सेवा पर्यटनको आधार स्तम्भ : मन्त्री ढकाल

डिसी नेपाल
३ चैत २०७७ १२:१९

काठमाडौं। कर्णालीको सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले होमस्टे सेवा पर्यटनको आधार स्तम्भको रुपमा सावित भएको बताएका छन्।

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिकरुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लगिनु पर्ने मन्त्री ढकालले बताए। विश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ।

कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका दुई सय १५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो। सोे अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे(ताप्लेजुङ), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे(काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे(सुर्खेत) र थारु सामुदायिक होमस्टे (कैलाली)लाई सम्मान गरिएको थियो।

त्यसैगरी, राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो ।

तीन दिनसम्म संचालन गरिएको कार्यशाला गोष्ठिमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईबाट कर्णाली प्रदेशमा होमस्टे, दिपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा.आलोक प्रसाईबाट नेपालमा होमस्टेको नीतिगत व्यवस्था र राजेन्द्र प्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको थियो।

यसैगरी, होमस्टे पर्यटनका सन्र्दभमा होसानसंग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारा गाउँ विकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्री प्रोड्क्स, गरिबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाललगायतसँग हुँदै आइरहेको कामको समिक्षा र आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो।

होसान केन्द्रीय अध्यक्ष केशव प्रसाद बडालको सभापतित्वमा संचालित कार्यक्रममा मन्त्री ढकाल, कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढा, चाँगुनारायण नगरपालिका भक्तपुरका नगर प्रमुख सोमप्रसाद मिश्रलगायत देशभरका विशिष्ट पर्यटन विज्ञहरुको उपस्थिति रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *