‘बाघलाई मानिसको सिकार गर्न सबैभन्दा सजिलो हुन्छ’ – Dcnepal

‘बाघलाई मानिसको सिकार गर्न सबैभन्दा सजिलो हुन्छ’

बाघले मंगलबार बर्दिया राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान लिएको छ। स्थानीय महिला साग टिप्न गएको अवस्थामा उनलाई बाघले आक्रमण गरेको थियो। यस अघि पनि उक्त राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्गमा एकजना महिलालाई मोटरसाइकलबाट तानेर ज्यान लिएको थियो। राष्ट्रिय निकुञ्जमात्र नभएर बर्दियाका सामुदायिक बनमा पनि बाघले मान्छेको ज्यान लगेको छ।

ठाकुरद्वारामा कटेज चलाउने कृष्ण भट्टराई बाघको बानी व्यवहारको बारेमा जानकार नभएका कारण पनि बाघ नरभक्षी भएको जनाएका छन्। पर्यटन व्यवसायी तथा स्थानीय कृष्ण भट्टराई आफूले पनि हिजो मान्छे मार्ने बाघलाई अलि अगाडि देखेर आएको बताउँछन्।

आफू जंगल गएको अवस्थामा उक्त बाघलाई देखेको र केही समयपछि बाघले स्थानीय महिलाको ज्यान लिएको सुन्न परेको बताउँछन्। मानिस र बाघ द्वन्द्वको कारण र निराकरण बारे उनै पर्यटन व्यवसायी तथा स्थानीय कृष्ण भट्टराईसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोमात्र बाघले फेरि मान्छे मारेको छ। यसभन्दा पहिला पनि राजमार्गमा मोटरसाइकलमा झम्टेर एक जनाको ज्यान लियो। यस्तो किन भइरहेको छ?

म जंगलमा जाँदा त्यो बाघ देखेर आएको थिएँ। हामी जंगल गएर घर फर्केपछिको करिव २० मिनेटमा मान्छे मारेको खबर नै बाहिरियो। यस्तो किन भइरहेको छ भन्ने सबैको जिज्ञासा नै हुन्छ। यसका धेरै फ्याक्टरहरु पनि छन्। बाघ किन मान्छे प्रति आकर्षित हुन्छ? किन बाघ नरभक्षी हुन्छ, भन्ने कुरामा थोरै छलफल गरौं।

पहिलो कुरा त हामीले बाघको व्यवहारको राम्रोसँग अध्ययन नगर्दा यस्तो परिणाम भोग्नु पर्छ। बाघले के–कस्तो व्यवहार गर्छ। उसलाई कस्ता व्यवहार र परिस्थतिहरु मन पर्दैनन्। हामीले बाघ कुन अवस्थामा छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।

घाइते भएको अवस्था, वृद्ध भएको अवस्था र अरु कुनै कारणले अशक्त भएका बेला अन्य शिकार गर्न सक्दैन। अनि मान्छे तिर लाग्छ। मान्छे सिकार गर्न सबैभन्दा बढी सजिलो हुन्छ। यस्तै अवस्था वा कारणले यस्ता घटनाहरु भइरहेका छन्।

बाघ आफैंमा लजालु प्राणी हो। मान्छे बाघले देख्नै सक्दैन। हामी जंगल जाँदा पनि पहिला हामीले बाघ देख्यौं भने देख्न सक्छौं। बाघले हामीलाई पहिला देख्यो भने हामीले देख्न नै पाउँदैनौं।

बाघको आतंकबाट बच्न के गर्नु पर्छ होला ?

पहिलो कुरा त जनताको बानी व्यहोराको बारेमा जानकारी छ भने मात्र जंगल जानु पर्छ। हामी जंगल जाँदा अनुसाशित भएर जानु पर्छ। अनुशासित भन्नाले हामी अरु कसैको घरमा जाँदैछौं। जंगल त बाघको घर हो। हामी बाघको घरमा जाँदा सामान्यतः त्यो घरको नीति नियमहरु जानकारी हुनुपर्छ।

हामीले सामान्य भए पनि जंगलको बारेमा सूचना लिएरै जानु पर्छ। बाघ कस्तो ठाउँमा बस्छ। कस्तो अवस्थामा हुन्छ भन्ने कुरा पनि जानकार हुनु पर्छ। अहिलेको अवस्था भनेको बाघको प्रजनन्क्रिया गर्ने बेला हो। हामी जंगलमा जाँदा यदी उनीहरुको प्रजनन्क्रियामा बाधा भयो भने हामीलाई बाघले हान्छ।

गाउँलेहरु यसको मारमा किन पर्छन त ?

गाउँलेहरु जंगलमा विषेश गरी घास चोर्न, दाउरा चोर्न, सागहरु लिन जान्छन्। हिजोको मात्र कुरा गर्दा उहाँ साग लिन जानु भएको रहेछ। चैतको महिनामा साग हुने भनेको त शिमसार क्षेत्र हो। जहाँ शितल हुन्छ। पानी हुन्छ। यही बेला बाघको बासस्थान पनि त्यहीँ हो। बाघले पनि चिसो खोजिरहेको हुन्छ। शितल खोजिरहेको हुन्छ। दुबैको एउटै गन्तव्य भएपछि समस्या भएको हो।

अर्को कुरा के छ भने मान्छेहरु निकुञ्जभित्र प्रवेश गर्दै गर्दा उनीहरुले जंगली जनावर कहाँ छन् भन्ने ख्याल गर्दैनन्। हो हल्ला गर्दै हिँड्छन्। त्यसरी जाँदा बाघ सुतिरहेको अवस्थामा उसको नजिकै पुगिदिन्छन्। उसलाई सुत्नमा डिस्टर्ब भयो भने पनि मान्छेलाई झम्टिन्छ। बच्चाभएको बाघको नजिक पनि पुग्छन्। त्यो बेलामा बाघले हान्छ।

हामीले जंगलका सामान्य नियमहरु पालना नगर्दा हुने दुर्घटना हुन। सामुदायिक बनमा होस्, हिजोको घटना होस्। अस्ति मोटरसाइकलको घटना होस्। यसमा मानव त्रुटी नै भन्नु पर्छ। हामीले जंगलमा जाँदा जंगली जनावरहरुको बानी व्यहोराको बारेमा, उनीहरुको अवस्थाको बारेमालगायतका कुराहरुमा ध्यान नदिएरै हो।

मोटरसाइकलको कुरा त बाध्यता हैन र, राजमार्गमा हिड्न त पर्यो नि ?

हो राजमार्गमा हिडन् पाइएन भनेको हैन। तर, जंगलभित्रको राजमार्ग हो। राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा प्रवेश गर्दा अलिकति सजग त हुनु पर्यो नि। हामीले अध्ययान गरे अनुसरा जुन मोटरसाइकलको घटना भयो त्यसमा पनि हाम्रो केही कमजोरी छ।

उहाँहरु मोटरसाइकलमा जानु भयो। बाघको बच्चाहरु रहेछ। बाघले बच्चालाई बाटो कटाउँदै गर्दा मोटरसाइकल त्यहाँ पुगेछ। उहाँहरुले देख्नु भयो। त्यो बेलामा कि त मोटरसाइकल स्पीड गरेर भाग्नु भएको भए हुने उहाँहर मोटरसाइकल घुमाएर फर्काउन लाग्नु भएछ। बाघले बच्चा असुरक्षित भएको अनुभव गर्यो र हानेको हो। जस्तो हिजोको कुरामा पनि त्यही छ।

यस्ता घटना न्यूनीकरणका उपाएहरु के होलान त ?

केही कारणले जंगल जानु परेमा एकल जान हुँदैन। समूहमा गए पनि धेरै दुरी कायम गर्न भएन। सँगसँगै हिड्नु पर्यो। हातमा एउटा लौरो अनिवार्य हुनुपर्छ। जनावरको बानी व्यवहारका बारेमा जानकार हुनु पर्यो।

बच्चा भएको बाघको नजिक पर्नु नै भएन। २ देखि ४ वटासम्म बच्चा हुन्छ। घाइते बाघको अघि पर्नु भएन। बुढो भएको बाघको नजिक पनि जानु हुँदैन। र प्रजनन प्रक्रियामा सक्रिय भएको बाघको नजिक पनि जानु हुँदैन।

बाघ देखिएको ठाउँमा अन्य जनावरले फरक खालको आवाज निकालेका हुन्छन्। बाँदर, मृग, चरालगायतका अन्य जंगली जनावरले पनि बाघ भएको स्थानको जानकारी गराई रहेका हुन्छन्। त्यो कुरामा ख्याल गर्नु पर्यो। जनावरले माघलाई देख्ने वित्तिकै आफ्नो परिवारलाई अलर्ट गरेको हुन्छ त्यो बुझ्नु पर्यो।

बाघ हिँडेको बाटो थाहा पाउनु पर्यो। कतिबेला हिडेको हो। कता हिडेको हो थाहा पाउनु पर्यो। त्यस्ता कुरा थाहा भएपछि हामी सतर्क हुनु पर्छ। हामी लुक्नु पर्छ। सामाजिक सञ्जालमा आएजस्तो बाघको मात्र दोष हैन। हाम्रो पनि त्रुटी छ भन्ने कुरा बुझ्नु पर्छ।

राजमार्गमा राति हिँड्नै हुँदैन। एक्लै भएर मोटरसाईकल यात्रा, साईकल यात्रा, अटो यात्रा गर्नु भएन। गर्नै परे पनि ठूला गाडीहरुको बिचमा लागेर जानु पर्छ। निकुञ्जमा त जानै हुँदैन। जानै परेपछि अनुमति लिने र त्यो अनुसारको व्यवहार गर्ने गराउने।

निकुञ्ज क्षेत्रका जनमानसमा सचेतनाको लागि के गर्न सकिन्छ?

हामीले विषेश गरी वन्यजन्तुका विषयमा, उनीहरुको बानी व्यवहारका विषयमा, सुरक्षित हुने उपाएका विषयमा, बच्ने उपाएहरुको विषयमा समुदायमा जानकारी दिनु पर्ने हुन्छ। सुसूचित गर्नु पर्ने हुन्छ। अहिले आमरुमा त्यो विषयमा जानकारी गराएको पाइदैन र दुर्घटना भइरहेका छन्।

हामीले विद्यार्थीको माध्यामबाट सूचना प्रवाह गर्नु पर्ने हुन्छ। मध्यवर्ति क्षेत्रका समुदायले मैले माथि बोलेका केही कुराहरुका बारेमा जानकारी लिनु पर्छ। बुझेर ब्यवहार गर्नु पर्छ।

निकुञ्ज र योसँग सम्बन्धित सबैले समुदाय स्तरमा तालिम गोष्ठीका माध्यामबाट जंगली जनावर र तिनका व्यवहार साथै, बच्ने उपाएका बारेमा जानकारी गराउनु पर्ने हुन्छ, गराउनु पर्छ। मिडियालाई पनि प्रयोग गरेर सूचित गर्नुपर्छ।

अहिलेको अवस्थामा आएर हामीले यो विषयमा ध्यान दिन सकेनौं भने अझै दुर्घटना बढ्ने छन्। गत चैतदेखि अहिलेसम्म सामुदायिक वन र जिकुञ्ज गरी करिव ९ वटा घटना भएका छन्। दुई वटा निकुञ्जमा र अरु सामुदायिक वनमा भएका हुन। बेलैमा सोच्नु पर्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो