फराकिलो चक्रपथको अन्धकारले लियो ६ महिनामा १४ जनाको ज्यान
काठमाडौं। नेपालको पहिलो आठ लेनको सडक चक्रपथको कोटेश्वर–कलंकी सडक खण्ड साँझपरेपछि अन्धकार हुन्छ। सडक किनारामा बत्ति छैनन्। सवारी साधनको उज्यालोमामात्र भरपर्दा दुर्घटनाको जोखिममा यात्रा गर्नुपर्छ। सडकका दुबै किनारामा बत्ती नहुँदा दुर्घटनामा बढोत्तरी भइरहेको महानगरीय ट्राफिक कार्यलयले बताएको छ।
सडक कालोपत्रे हुँदैमा मात्रै सडक नहुने रहेछ भन्ने महसुश गर्दै महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी सडक बत्ती नहुँदा कोटेश्वर-कलंकी सडकखण्डमा दुर्घटना बढेको स्वीकार्छन्।
महानगरीय ट्राफिक महाशाखाका अनुसार कोटेश्वर-कलंकी सडक खण्डमा २०७७ साल साउनदेखि पुस महिनासम्म जम्मा ६२४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ। दुर्घटनाबाट ज्यान जानेमध्ये पनि १४ जना साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म भएको सडक दुर्घटनामा मरेका छन्।
यो सडकको चुनौती त्यतिमात्र छैन। निमार्ण भएको दुई वर्ष बितिसकेको छ। सडक प्रयोग भएको लामो समय भैसक्दा पनि सडक बत्तीको गुनासो सम्बोधन भएको छैन। सवारी चालकको लापरवाहीले गर्दा पैदलयात्रु असुरक्षित भएर यो बाटो हिँड्नुपर्छ। यसले एकातिर सर्वसाधारणले सास्ति बेहोर्नु परेको छ, अर्कोतिर दुर्घटनामा बढोत्तरी भइरहेको छ।
यो सडकमा रात विहान हिँड्न बाध्य सवारी चालक मनोज खड्गी भन्छन्, ‘सडक बत्ती नहुँदा ज्यान स्टेरिङमा राखेर हिँड्नुपरेको छ। बत्ती नहुदाँ जहाँसुकैबाट बाटो काटिरहेका मानिस देखिन्नन्। आँफू त खतरामा हुन्छु। बटुवा र उनीहरुको कारण अरु सवारी चालक नि खतरामा परेका छन्।’
कोटेश्वरदेखि सातदोबाटो, बल्खु हुँदै कलंकी चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार भएको दुई वर्ष बितिसकेको छ। तर, हालसम्म सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार लेन, सडकबत्ती, ट्राफिक लाइट, आकाशे पुल र रेखांकन नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती पाउनुकासाथै सडक दुर्घटना बढेको हो।
हेर्दा चिल्लो र फराकिलो भएपनि यो सडकखण्डमा सडक हुनका लागि आवश्यक सामान्य रेखांकनसम्म भएको छैन। कोटेश्वरदेखि सातदोबाटो, बल्खु हुँदै कलंकी चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार भएको दुई वर्ष बितिसकेको छ। तर, हालसम्म सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार लेन, सडकबत्ती, ट्राफिक लाइट, आकाशे पुल र रेखांकन नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती पाउनुकासाथै सडक दुर्घटना बढेको हो।
सडकमा दिउँसोको समयमा मानिसहरुलाई सडक ओहोर दोहोर गर्न आवश्यक मात्रामा जेब्राक्रस र आकाशे पुल छैनन्। भएका आकाशेपुलहरु पनि पैदलयात्रुमैत्री छैनन्। ‘जहाँ पुल हुँदा हिँड्नेलाइ सजिलो हुन्छ त्यो स्थानमा आकाशे पुल नै छैन। पुल खोज्दै जाँदा समय लाग्छ। अनि जहाँ पायो त्यहीँबाट असुरक्षित हुँदै बाटो काट्नुपरेको छ’, बाटो काट्दै गरेका एक पैदलयात्री रशेम महर्जनले डिसि नेपाललाइ बताए।
यात्रु र सवारीसाधनहरुमा पनि सडक प्रयोग गर्दा गर्नैपर्ने आधारभूत ज्ञानको कमी छ। सवारी चालकहरु आफूखुसी जुनसुकै स्थानबाट मुल सडकमा प्रवेश गर्न खोज्ने तर सर्भिस लेन प्रयोग नगर्ने प्रवृत्ति अझैसम्म हटेको छैन। धोवीघाटबाट बागडोल एकान्तकुनातिर हिँडेका सवारीहरु गलत मार्गबाट हिँडिरहका देखिन्छन्।
त्यसैगरी बल्खुबाट धोवीघाट आउनेका लागि नियम मान्ने हो भने एकान्तकुना आएरमात्र फर्किन मिल्छ। तर सबै सवारी चालकहरु यस्तो नियम पालना गर्दैनन्। यो सडकको सबैतिर यही किसिमका प्रवेश गर्ने र बाहिर निस्कने लेन र ट्रयाकहरु भएकोले गर्दा पनि यसको पूर्ण पालना हुन नसक्नुले पनि सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुभव छ।
चिल्लो र फराकिलो सडकमा बाइक तथा गाडि तिव्र गतिमा हुइक्याउने मानिसहरु पनि उत्तिकै छन्। गतिसिमा ५० किमी प्रतिघण्टा भएपनि त्यसको पूर्ण पालना भएको छैन। गति नियन्त्रणमा सचेत बनाउन बेलाबेला ट्राफिकको सक्रियता सडकमा देखिन्छ तर त्यो पर्याप्त छैन र त्यसले काम गरेको पनि छैन। उल्टो सडकमा ७० देखि ८० किमी प्रति घण्टा सवारी चलाउनेहरु छन् भन्छन् सातदोवाटोका स्थानीय व्यापारी कमल मिश्र।
काठमाडाैं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाडाैं उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौति रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी स्वीकार्छन्। उनका अनुसार विभिन्न संघसंस्थाको सहयोगमार्फत प्रहरीले केहि निश्चित ठाउँमा सडक बत्ती राख्ने काम भएको छ तर त्यो पर्याप्त छैन।
यो सडकखण्डमा भएको समस्यामा विभाग जानकार छ। साढे १० किमी सडकको प्रत्येक १ किमी अन्तरमा पुल राख्ने योजना छ, सोही अनुरुप काम अगाडि बढिरहेको छ। हालसम्म ३ वटा पुल चाइनिजले बनाएको छ भने २ वटा हामीले बनाएका छौँ। अब बाँकी ५ वटा जति पुल थप्न बाँकी छ।
अधिकारीले भने ‘हामीले दैनिक २५ सय देखि ३ हजार सवारी चालकलाई कारवाही गर्ने गरेका छौँ।’ तर, यति ठूलो संख्यामा कारवाही गर्दा पनि यो सडकमा ट्राफिक नियम उलंघन कम भएको छैन। उल्टो बढीरहेको छ।
सडक र सवारी व्यवस्थापनका लागि पर्याप्त ट्राफिक प्रहरी पनि छैनन्। अधिकारीका अनुसार बिगत ५ वर्षदेखि ट्राफिक जनशक्तिको वृद्धि भएको छैन। तर सडकमा सवारीसाधनको संख्या पाँच वर्षमा तीनगुणाले बढेको छ।
५ वर्ष पहिले ५ लाख सवारीसाधन मात्रै सञ्चालनमा रहेकोमा हाल यो संख्या १६ लाख नाघेको छ। अधकारी भन्छन्, ‘सवारी दुर्घटना कम गर्न र चुस्त व्यवस्थापनका लागि ट्राफिक प्रहरीको संख्या बढाउनुपर्छ।’
कहिले बल्छ सडक बत्ती?
सडक विभागका महानिर्देशक अर्जुनजंग थापा फराकिलो चक्रपथका समस्या र सवारी दुर्घटनाको बारेमा जानकार रहेको बताउँछन्। भन्छन्, ‘सडक बत्ती जडान गर्ने क्रम चलिरहेकोले अबको ६ महिनाभित्र काम सक्ने गरी योजना बनिरहेको छ। यस्तै सडकमा बत्ती जडान गर्नको लागि ललितपुर महानगरपालिका, सडक विभाग, निजी क्षेत्र र विद्युत प्राधिकरणको सहकार्यमा बत्ती जडान गर्ने कार्य छलफल भैरहेको छ।’
दुई वर्षसम्म यस्तै छलफलमा नै केन्द्रित रहेको सरकारी निकाय सडक विभागले कोरोना भाइरस महामारीले पारेको प्रभावका कारण काम हुन नसकेको थापाको भनाइ छ। कोभिड-१९ का कारण चिनवाट कामदार आउन नसकेकोले पनि धेरै काम रोकिएको थापाले बताए।
उनले भने, ‘यो सडकखण्डमा भएको समस्यामा विभाग जानकार छ। साढे १० किमी सडकको प्रत्येक १ किमी अन्तरमा पुल राख्ने योजना छ, सोही अनुरुप काम अगाडि बढिरहेको छ। हालसम्म ३ वटा पुल चाइनिजले बनाएको छ भने २ वटा हामीले बनाएका छौँ। अब बाँकी ५ वटा जति पुल थप्न बाँकी छ।’
थापाका अनुसार टार्फिक प्रहरी र सडक विभागकोबीच सहकार्य र समन्वय हुने हो भने यो सडकका कतिपय समस्यामा कमी आउन सक्छ। तर थापा भन्छन्, ‘प्रहरी र बिभागकोबीचमा सहकार्य नहुँदा पनि समस्या उत्पन्न भएको हो।
लेन मार्किङ गर्न सकिने तर नगरिएको, हेभ्भी गाडी र मोटरसाइकलहरुलाई व्यवस्थापन गर्न सकिने भए पनि यसमा प्रहरीको पर्याप्त ध्यान जान नसकेको कारण पनि समस्या भएको बताए। चीन सरकारको करिब पाँच अर्ब रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा कोटेश्वर–कलंकी सडकखण्ड निर्माण भएको थियो।
Facebook Comment