नेपाली बजारमा पेट्राेलीयम पदार्थको मूल्य ६ वर्ष यताकै उच्च, करको मारमा उपभोक्ता

उपेन्द्र शाही
११ चैत २०७७ ६:२८

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य पछिल्लो ६ वर्षकै उच्च विन्दुमा पुगेको छ। यो वर्षको सुरुवातसँगै बढ्न थालेको पेट्रोलको मूल्य एक वर्षभित्रमा प्रतिलिटर १८ रुपैयाँ बढेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २५ रुपैयाँ बढेर एक सय रुपैयाँ नाघेको छ।

कोरोना भाइरसको प्रभावले आहात भएका उपभोक्तालाई पेट्राेलीयम पदार्थमा भएको वृद्धिले थप घोचेको छ। यसको असर यति मात्रै छैन्। सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बढाउनु पर्ने माग राखेका छन् भने हवाई यातायातमा भाडा बढिसकेको अवस्था छ।

यस्तै पेट्राेलीयम पदार्थको मूल्य बढेपछि खाद्यन्न देखि लत्ताकपडासम्मको ढुवानी खर्च बढ्ने भएकोले सम्पूर्ण वस्तु तथा सेवामा मूल्यवृद्धि हुने र महंगी बढ्ने अर्थविदहरु बताउँछन्।

नेपाल आयल निगमले यो वर्ष १३ पटक इन्धनको मूल्य समायोजन गरेको छ। यो वर्ष लगातार बढिरहेको इन्धनको मूल्य पछिल्लो २ महिनामा मात्रै ५ पटक बढाइएको छ। माघ र फागुनमा एउटै महिनामा दुई दुइ पटक मूल्य बढेको छ।

यस्तै चैतको सुरुवातसँगै बढेको पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने क्रममा छ। हरेक १५ दिनको अवधिमा निगमले पेट्राेलीयम पदार्थको मूल्य हेरफेर गर्दै आएको छ। हालको पेट्राेलको मूल्य विगत ६ वर्ष यताकै उच्च हो। यसअघि ६ वर्ष पहिले २०७१ को मङ्सिर ८ गते पट्राेलको मूल्य १ सय २५ रुपैयाँ प्रतिलिटर पुगेको थियो।

यस्तै डिजेलको मूल्य पनि लगातार बढिरहेको छ। यो एक वर्षमा डिजेलको मूल्यमा प्रतिलिटर २५ रुपैयाँले वृद्धि भएको छ। गत बैशाख महिनाको सुरुवातमा डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ थियो।

करको मार

अहिलेको मूल्य अनुरुप निगमले रक्सौल/बरौनीको डिपोबाट पेट्रोल खरिद गर्दा ६० रुपैयाँ ७३ पैसा आइआोसीलाई प्रति लिटर तिर्छ। त्यसपछि सो मूल्यमा भन्सार शूल्कबापत २५ रुपैयाँ २० पैसा, सडक मर्मत सम्भार करबापत प्रतिलिटर ४ रुपैयाँ, पूर्वाधार विकास करबापत ५ रुपैयाँ, प्रदुषण शूल्क बापत १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषबापत १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि करबापत १३ रूपैयाँ ५८ पैसा नेपाल सरकारले उठाउँछ।

यसरी सरकारले उठाउने रकमसँगै निगमले रक्सौल/बरौनीबाट काठमाडौंसम्म ल्याउँदाको ढुवानी भाडा र निगमको प्रशासनिक एवं विक्री खर्चबापतको रकम जोडेर खरिद मूल्यको दोब्बर मूल्य निर्धारण गरिएको छ।

निगमले रक्सौल/बरौनीको डिपोबाट पेट्रोल खरिद गर्दा ६० रुपैयाँ ७३ पैसा आइआोसीलाई प्रति लिटर तिर्छ। त्यसपछि सो मूल्यमा भन्सार शूल्कबापत २५ रुपैयाँ २० पैसा, सडक मर्मत सम्भार करबापत प्रतिलिटर ४ रुपैयाँ, पूर्वाधार विकास करबापत ५ रुपैयाँ, प्रदुषण शूल्क बापत १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषबापत १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि करबापत १३ रूपैयाँ ५८ पैसा नेपाल सरकारले उठाउँछ।

यी उल्लेखित सबै शूल्क जोड्दा प्रति लिटर पेट्रोलको लागत १ सय १८ रुपैंयाँ ५९ पैसा पर्न आउँछ। जबकी पेट्रोलको खरिद मूल्य ६० रुपैयाँ छ। डिजेलको मूल्यको हकमा पनि स्थिति यही छ।

नेपालमा इन्धन आयात गर्ने निगम सरकारी स्वामित्वको संस्था हो। इन्धन आयातमा उसको एकाधिकार कायम छ। प्रत्येक वर्ष जस्तो आयल निगमले विभिन्न विषयमा केही न केही शिर्षकमा कर बढाएको देखिन्छ।

कोभिडको कारणले प्रत्यक्ष कर उठ्न गाह्रो भइरहेको अवस्थामा अप्रत्यक्ष करमा सरकार भर परेको बताउँछन् अर्थविद रघुविर विष्ट। कोभिडले पिरोलिरहेका जनतालाई पेट्राेलीयम पदार्थमा भएको मूल्य वृद्धिले अझ धेरै समस्या पर्ने उनले बताए। यसको प्रभाव सम्पूर्ण सेवा तथा सुविधामा पर्ने भएकाले मूल्य वृद्धिलाई प्रोत्साहन हुने उनको भनाइ छ।

‘सरकारको एकातिर आर्थिक वृद्धिदर खस्केको छ भने अर्थतन्त्र मन्दीको बाटोमा छ। यस्तो अवस्थामा सरकार अप्रत्यक्ष करको भर परेको छ। निगमले हालको अवस्थामा उपभोक्ताबाट सिधै ४० प्रतिशत भन्दा धेरै मूल्य लिएको अवस्था छ। सरकारी निकाय भएपछि जनताको सेवामूखि हुनुपर्छ ना कि फाइदामुखि।

कोभिडको असरमा जनता र व्यावसायीलाई केही राहत कार्यक्रममा घोषण त भयो तर कति मात्रामा लाभान्वित भए त्यसमा कुनै लेखाजोखा छैन। ती नीति कार्यक्रमले छुनु पर्ने पक्षलाई छुन सकेको छैन। अहिले पेट्राेलीयम पदार्थमा गरिएको मूल्य वृद्धि अनुचित छ। यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिन्छ।

उत्पादन र वितरण प्रणालीमा नकारात्मक असर पर्छ। बजारको लेनादेना भएपनि ४० प्रतिशत नाफा भएको अवस्थामा पनि मूल्य वृद्धि गरिरहने कुरामा पुर्नविचार गर्न अत्यन्त जरुरी छ’, उनले भने।

भन्नलाई कल्याणकारी राज्य भन्ने तर व्यवहारमा जनतालाई लुट्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। मूल्य वृद्धि भइरहेको बताउँदै उनले यसले महंगी चरम सीमामा पुग्ने र यसको चाप सिधै सर्वसाधारणहरुमा पर्ने बताए।

पेट्राेलीयम पदार्थको मूल्यवृद्धि हुनुमा सरकार र निगमभन्दा पनि अन्तरार्ष्ट्रिय बजारको भूमिका महत्वपूर्ण हुने निगमका प्रवक्ता विनितमणि उपध्याय बताउँछन्। अहिले अन्तराष्ट्रिय बजारमा पेट्राेलीयम पदार्थको मूल्यवृद्धि भएकोले नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको उनले बताए।

उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्राेलीयम पदार्थको मूल्य बढेकोले त्यसको असर नेपालमा परेको हो। खासगरी कच्चा तेलको मूल्ययमा निरन्तर वृद्धि भइरहेको छ। कोभिडको सुरुवाती समयमा ३० डलरमा आएको कच्चा तेलको मूल्य अहिले निरन्तर बढेर करिव ६५ डलरको आसपासमा रहेको छ। त्यसैले निगमले बाध्यतावस मूल्य बढाउनु परेको हो।’

‘आइओसी आफैंले तेल उत्पादक राष्ट्रबाट कच्चा तेल किनेर ल्याउँछ र त्यसलाई प्रसोधन गर्छ। प्रशाेधन गरिएको तेल हाम्रो सिमा नजिकको डिपोसम्म आइपुगेपछि हामी हाम्रा डिपोसम्म ल्याउँछौँ’, उपाध्यायले भने, ‘अन्तराष्ट्रिय बजारमा पेट्राेलीयम पदार्थको मूल्य बढ्दै गएको छ। त्यसकै असर हाम्रो बजारमा देखिएको हो।’

उनले निगमले घाटामा पेट्राेलीयम पदार्थ बेचिरहेको बताए। उपभोक्तालाई धेरै मार नपरोस भनेर बढाउनु पर्ने जति मूल्य नबढाइएको बताउँदै उनले हाल निगमलाई पट्राेलमा ९ रुपैयाँ ३५ पैसा र डिजेलमा ५ रुपैयाँ ८० पैसा घाटा रहेको बताए।

पाइपलाइनको प्रभाव छैन्, ढुवानी खर्च झन बढेको बढ्यै

भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्राेलीयम पदार्थ आउन थालेको डेढ वर्ष बितिसकेको छ। पाइपलाइनको सुरुवात गरिँदा अब त पेट्राेलीयम मदार्थको मूल्य घट्छ होला भन्ने आश गरिरहेका उपभोक्तालार्ई यसले राहत दिन सकेको छैन। उद्घाटनको समयमा तत्काल इन्धनको मूल्य दुइ रुपैयाँ घटाइएको थियो।

भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्राेलीयम पदार्थ आउन थालेको डेढ वर्ष बितिसकेको छ। पाइपलाइनको सुरुवात गरिँदा अब त पेट्राेलीयम मदार्थको मूल्य घट्छ होला भन्ने आश गरिरहेका उपभोक्तालार्ई यसले राहत दिन सकेको छैन।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर पाइपलाइन सञ्चालनमा आएपछि पेट्राेलीयम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने मुख्य उद्देश्य थियो। तर, हालसम्म पनि त्यसको प्रभाव खासै नदेखिएको उपभोक्ताहरुको गुनासो छ।

बरु ढुवानी बापतको उपभोक्ताले तिर्नु पर्ने खर्चको सीमा पनि बढाइएको छ। पाइपलाइनबाट पेट्राेलीयम पदार्थ नेपाल आउन थालेपछि ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँ बचत हुने आँकलन गरिएको थियो।

अन्तर्राष्ट्रिय  बजारमा पेट्रालियम पदार्थको मूल्य बढ्नु

अन्तर्राष्ट्रिय बजारमा विगत एक वर्षमा अंग्रेजी वर्ण भि आकारको उतार चढाव आएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा घटेको कच्चा तेलको मूल्य ऐतिहासिक रुपमा घटेको थियो। तर, विस्तारै जनजीवन सामान्य बन्दै गए पछि भने कच्चा तेलको मूल्य बढेको देखिन्छ।

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा झरेको कच्चा तेलको भाउ फेरि उकालो लाग्न थालेको हो। बीबीसीको एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य महामारीअघिको तहमा पुग्ने क्रममा छ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण इन्धनको माग नहुँदा त्यसको अन्तर्राष्ट्रिय बजारमा असर परेको थियो। त्यतिबेला तेल कम्पनीहरूले बढी भएको आफ्नो उत्पादन भण्डारण गर्न ट्यांकर भाडामा लिएका थिए। त्यसले गर्दा अमेरिकामा इतिहासमै पहिलोपल्ट तेलको भाउ ऋणात्मक भएको थियो। अहिलेको अवस्थामा कच्चा तेलको मूल्य एक व्यारेलमा ६१ रुपैयाँ ६४ पैसा हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *