प्रचण्डको बाध्यताः ‘दाग’ लाग्ने तर ‘भाग’ नलाग्ने

दामोदर नेपाल
१४ चैत २०७७ १८:५२

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। प्रचण्डले शनिबार नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको कार्यक्रममा केपी ओलीलाई दिएको समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको बताए। प्रचण्डले दबाब कसले दिएको भन्ने कुरा भने खुलाएनन्।

उनले भने ‘मलाई समर्थन फिर्ता नलिन जबरजस्त दबाब छ। हिजो संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा सँगै रहेकाहरुबाट दबाब छ। तर म अहिले नाम भन्दिन कसको दबाब भन्ने। समर्थन फिर्ता लिने बेला भइसकेको छैन। फिर्ता लियो भने उल्टो हुन्छ भन्नेहरु पनि छन्। तर, अब म पर्खिन सक्दिन। नैतिक र राजनीतिक रुपमा मैले अब पर्खिन सक्ने अवस्था छैन।’

प्रचण्डले दबाब कसले दिएको भन्ने प्रस्ट खुलाएनन् तर उनले नखुलाए पनि उनको कुरामा कसले दबाब दिइरहेको छ भन्ने संकेत भने पाइन्छ। सम्भवतः प्रचण्डलाई यो दबाब दिने समूह नेकपा (एमाले)को माधव नेपाल समूह हो। अहिले माधव नेपाल समूह ‘घरको न घाटको’ भएको छ। सम्भवतः राजनीतिक करिअरको सबैभन्दा कठिन घडीमा माधव नेपाल छन्। पार्टीभित्र अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेताविरुद्ध गुटबन्दीको नेतृत्व गरेको आरोप उनलाई लागेको छ। भलै उनले उल्टै अध्यक्षलाई नै कारवाही किन नगर्ने भनेर प्रतिप्रश्नसहित जवाफ पठाएका छन्। तर उनको राजनीतिक करिअर भने धरापमा छ।

गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली पक्षसँग छलफलका लागि गएका माधव नेपालको माग पनि २०७५ जेठ ३ गतेको विन्दूबाट अगाडि बढ्नुपर्ने थियो। छलफलमा नेपाल पक्षले फागुन २८ गतेको बैठकको निर्णय खारेज हुनुपर्ने र २०७५ जेठ ३ गतेको विन्दूबाट अगाडि बढ्नुपर्ने माग राखेको थियो। २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुई पार्टी एकीकरण गर्ने औपचारिक निर्णय गरेका थिए। तर, प्रधानमन्त्री ओली पक्षले भने फागुन २८ को निर्णयबारे विचार गर्न सकिने भए पनि २०७५ जेठ ३ को विन्दूबाट अगाडि बढ्न नसकिने बताएका थिए।

यदि अहिले छलफल जेठ ३ को विन्दूबाट अगाडि बढ्यो भने नेकपा पुनः एकीकरण हुने सम्भावनाको ढोका खुल्छ। त्यसो भयो भने माधव नेपाल पक्षका नेताको धरापमा परेको भविष्य ट्रयाकमा आउँछ। हुन त यसो भएमा प्रचण्ड पनि थप शक्तिशाली हुन्छन् तर त्यो अवस्था आउन निकै कठिन देखिन्छ। यस्तोमा प्रचण्ड अब पार्टी एकीकरण होला भन्ने आशा गरेर बस्न सक्ने अवस्थामा छैनन्। ‘झर्ला र खाउँला’ को आशामा बस्नुभन्दा प्रचण्डका लागि अर्को सहज विकल्प छ – सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि कांग्रेस र जसपालाई लिएर सरकार बनाउने। तर, यो विकल्पमा जाँदा माधव नेपाल भने झनै संकटमा पर्छन् त्यसैले उनी प्रचण्ड यो विकल्पमा जाउन् भन्ने चाहँदैनन्।

प्रचण्ड भने ‘दाग’ लाग्ने तर ‘भाग’ नलाग्ने अवस्थाको सरकारलाई समर्थन गरिरहनुपर्ने संकटपूर्ण स्थितिमा छन्। अर्थात अहिले बाहिर कुरा जेसुकै गरे पनि प्रचण्ड ओली सरकारका साझेदार हुन्। ओली सरकारले अहिले कुनै गलत निर्णय गरिहालेमा त्यसको ‘दाग’ स्वतः प्रचण्डलाई लाग्छ किनकि उनकै समर्थनमा सरकारले बहुमत पाएको छ। तर, ओली सरकारले उनलाई कुनै लाभका निर्णय वा नियुक्तिमा ‘भाग’ भने दिने छैन। प्रचण्डले ओली सरकारको यतिसम्म आलोचना गरेका छन् कि ओलीले प्रचण्डका लागि ‘भाग’ लगाउने सम्भावना देखिँदैन। यतिमात्र होइन, प्रचण्डले ओलीलाई प्रतिगमनकारी, तानाशाह, कम्युनिष्टमा हुनुपर्ने गुण नभएको जस्त आरोप लगाएका छन्। तर उनै ओली नेतृत्वको सरकारलाई समर्थन दिइरहेका छन्। आफैले यतिसम्म भनेको व्यक्तिको सकारको एक बलियो खम्बाका रुपमा उभिनु प्रचण्डका लागि दागमात्रै हो।

प्रचण्डले शनिबार भने, ‘हामीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भनेको सरकारलाई मैले नैतिक रुपमा पनि समर्थन दिइरन पर्दैन। अब जेसुकै होस समर्थन फिर्ता लिन्छु।’ यति भन्दै गर्दा प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध सँगै सडक आन्दोलनमा रहेका दलहरुबीच न्यूनतम समझदारी होस् भन्ने आफूले चाहेको बताए। अर्थात उनी माधव नेपाल समूहलाई आफू नैतिक संकटमा परेर समर्थन फिर्ता लिन लागेको तर उक्त समूहसँग आफ्नो ऐक्यबद्धता कायमै रहेको सन्देश दिन चाहन्छन्। किनकि अहिले माधव नेपाल समूह एमालेबाटै अलग्गिने सम्भावना देखिएकोले उनले यो अवसरको सदुपयोग गर्न चाहन्छन्। नेपाल समूहलाई ल्याउनका लागि उनले पार्टीको नाम नै परिवर्तन गर्ने प्रस्ताव समेत पार्टीको बैठकमा लगिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *