कमजोर कार्यक्षमता भन्दै रुपन्देहीका सिडियाेसहित दुई प्रहरी संगठनका जिल्ला प्रमुखकाे सरुवा

डिसी नेपाल
१७ चैत २०७७ ९:२७

काठमाडौं। गृहमन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियाे) सहित दुई प्रहरी संगठनका जिल्ला प्रमुखलाई काठमाडौं काज सरुवा गरेको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सरुवा गरेर आस्मान तामाङलाई पठाएको छ।

मन्त्रालयकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी प्रविण पोखरेललाई तानेर मनोज केसीलाई पठाएको छ भने सशस्त्र प्रहरीले भरत खनियाँलाई तानेर राजेश उप्रेतिलाई पठाएको छ।

कमाण्ड कन्ट्रोलमा कमजोर कार्यक्षमता रहेको भन्दै गृहमन्त्रालयले उनीहरुलाई काज सरुवा गरेको हो। साथै भैरहवास्थित टाइगर वन होटलमा सञ्चालन भैरहेको अनलाइन जुवा नियन्त्रणमा प्रहरी असफल भएको गुनासो समेत मन्त्रालयमा आएपछि प्रमुख जिल्ला अधिकारीसहित सबैको काज सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

हाल सरुवा भएर गएका एसपी केसी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरमा बसेर काम गरिरहेका थिए। प्रहरी संगठन सुधार र संघीय प्रहरीका बिषयमा अध्ययन अनुसन्धानका लागि बनाइएको कमाण्ड सेण्टर उनकै नेतृत्वमा थियो। एसपी पोखरेल नौ महिनाअघि मात्रै रुपन्देही गएका थिए। उनको सरुवा एक वर्ष नपुग्दै भएको छ। रुपन्देहीमा सशस्त्र प्रहरीको २७ नम्बर गण रहेको छ।

दुई महिनाअघिमात्र सरुवा भएका सशस्त्रका एसपी भरत खनियाँलाई मुख्यालय तानेर उप्रेतीलाई त्यहाँ पठाइएको हो। सिडियो घिमिरेको पनि गएको आठ महिना मात्रै भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *