त्रिभुवन विमानस्थलको भिजिबिलिटीमा सुधार, ३ दिनमा १ सय ३० उडान अवरुद्ध

उपेन्द्र शाही
१७ चैत २०७७ १४:३९

काठमाडौं। शनिबार एकाएक तुवाँलो लागेपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तीन दिनपछि सामान्य अवस्थामा फर्केको छ। मंगलबारदेखि विमानस्थलको अवस्था सामान्य अवस्थामा फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यलयले बताएको छ।

गत शनिबार एकाएक तुवाँलो लागेपछि भिजिबिलिटी कम हुँदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो। तर, अहिले भने विमानस्थलको भिजिविलिटी सामान्य अवस्था जस्तै ३ हजार ५ सय पुगेको छ। मौसममा आएको खराबीका कारण गत शनिबारदेखि जहाज उडान र अवतरणमा समस्या भएको थियो। उक्त अवस्थामा भिजिविलिटी १ हजारसम्म झरेको थियो। विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार भिजिबिलिटी कम भएकाले विमानस्थल अबरुद्ध भएको थियो। यसमा सुधार आएसँगै विमानस्थल सामान्य अवस्थामा फर्किएको छ। तर, मौसममा सुधार हुने र बिग्रिने भइरहेको कार्यलयले जनाएको छ।

भिजिविलिटी कम भएकोले आन्तरिक तर्फका उडानमा समस्या भएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। अहिले भिजिबिलिटी ३ हजार ५ सयभन्दा माथि रहेकोले विमानस्थलको अवस्था सुधारउन्मोख रहेको उनले बताए। ‘तुवाँलोका कारण भिजिविलिटी एक हजार मिटर अर्थात एक किलोमिटर सम्म झरेको थियो। पूरै सुधार भइ नसके पनि हाल यो अवस्था सुधार हुँदै गएको छ। अहिले विमानस्थलको भिजिबिलिटी ३ हजार ५ सय अर्थात साढे ३ किलोमिटर पुगेको छ। सोमबार हल्का पानी परेका कारण पनि मौसम सामान्य अवस्था तिर फर्किन लागेको र विमानस्थलको अवस्था सुधार भइरहेको उनको भनाई छ।

तीन दिनमा १ सय ३० उडान अवरुद्ध

विमानस्थल कार्यलयले दिएको जानकारी अनुसार पछिल्ला तीन दिनभित्र १ सय ३० वटा उडान र अवतरण प्रभावित भएका छन्। शनिबार सबैभन्दा धेरै १ सय १५ उडान हुने कार्यतालिका थियो। त्यस दिन ५० वटा उडान अवरुद्ध भए। त्यस्तै आइतबार १ सय ९ उडान हुने कार्यतालिका रहेकोमा ४१ उडान प्रभावित भए। यस्तै सोमबार पनि ९६ उडान हुने कार्यतालिका रहे पनि मौसममा सुधार नहुँदा ३९ उडान प्रभावित भएका थिए।

सामान्य अवस्थामा दिनमा करिब १ सय २० वटा उडान हुँदै आएको छ। कोरोना भाइरसका कारण अन्तराष्यिट्रय उडानमा सुधार आउन सकेको छैन्। हाल एक दिनमा १० वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको विमानस्थल कार्यलयले जानकारी दिएको छ। यस्तै घरेलुमा भने हाल औसत १ सय १० वटा उडान हुने गरेका छन्।

कमजोर भिजिबिलिटीमा उडानभन्दा पनि अवतरणमा समस्या हुने गरेको कार्यलयले बताएको छ। विमानमा उडान अवतरण रोकिएपछि विभिन्न ठाउँबाट काठमाडौंका लागि उडेका विमानलाई डाइभर्ट गरेर अरु विमानस्थलमा अवतरण गराइएको थियो।

के हो भिजिबिलिटी?

नेपालको उडान क्षेत्रमा पटक पटक दोहोरिने समस्या भिजिबिलिटी हो। भिजिबिलिटी मुख्य गरी विमानस्थलमा जडान भएका लाइट र जहाजमा जडान भएका उपकरणमा भर पर्छ। नेपालका विमानस्थलको तल्लो स्तरको अवस्थाले यो समस्या पटक पटक दोहोरिने गरेको छ। दिउँसो ठिक्क भए पनि प्रायः रात्रिकालीन समयमा पर्याप्त उपकरण जडान नहुँदा यो समस्या दोहोरिने गरेको छ।

खासगरी नेपालमा भौतिक हिसाबमा विमानस्थल बने पनि त्यसमा आवश्यक मात्रामा भौतिक पूर्वाधार भने जडान भएका छैनन। देशको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था भने पछिल्ला केही वर्षहरुमा सुधार हुँदै गएको छ। तर, अन्य विमानस्थलको हकमा यो छैन। जुन समस्या अहिले देखिएको छ। अहिले नेभिगेसन समस्याका कारण पोखरा, भरतपुर, लुक्ला, तुम्लिङटार लगायतका मुख्य विमानस्थलमा यो समस्याको रुपमा रहेको छ।

मौसममा कहिले आउँछ सुधार ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म मौसम सफा नहुने बताएको छ। हिजो भन्दा आज र आज भन्दा भोलि मौसममा सुधार हुँदै गए पनि पूरै सुधार हुन अझै केही समय लाग्ने महाशाखाकी मौसमविद गंगा नगरकोटीले बताइन्। अहिले मौसममा सुधार हुँदै गए पनि थोरै मात्रामा सुधार आएकोले मौसममा पूरै सुधार हुन अझै केही दिन लाग्ने उनको भनाई छ।

अहिले देशभरका खासगरी पहाडी भूभागका उपत्यकाहरुमा तुवाँलो र बढ्दो प्रदुषणका कारण मौसममा खराबी आएको महाशाखाले बताएको छ। हाल मुलुकका धेरै जसो स्थानको वायु स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कारण वायुमण्डलको तल्लो तहमै तैरिएका हावाका कारण तुवाँलो लागेको छ। हावा चलेमा र वर्षा भएमा यो समस्या समाधान हने छ। केही दिनसम्म पानी पर्ने सम्भावना र हावा चल्ने सम्भावना कम भएकोले पनि मौसममा सुधार हुन केही समय लाग्ने छ। संघीय राजधानी काठमाडौं लगायतका शहरहरुमा प्रदुषण पहिले देखि नै फैलिएकोले स्थिति असामान्य बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *