चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो
इलाम । चियाको पहिलो टिपाइ शुरु भएको छ। यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ। ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ। सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताए। “पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ”, शर्माले भने, “यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ। गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ।”
चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ। फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ। वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ। यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ। पटकपटक यो समस्या किसानले भोग्नु परेको छ।
आकाशे पानी सङ्कलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईँको भनाइ छ। बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाईँ बताउछन्। यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उनको भनाइ छ। कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईँको छ । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताए।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment