एक पलको खुशी (कथा) – Dcnepal

एक पलको खुशी (कथा)

शारदा!,…एक लगनशील, सुशील, स्वभावकी, ज्ञानी, बुहारी। चुलोचौको, घरधन्दा, खेतबारी सबै एक्लैले समाल्न भ्याएकी थिइन्। घरमा आउने पाहुनाको सेवा सत्कारमा पनि कुनै कसर बाकी राख्दैन थिइन्। गाउँ भरि नै कहलिएकी थिई शारदा बुहारी, गुणवती बुहारी।

‘कति जाँगरिली, फुर्तिली, एकछिन पनि सास नफेरी काम गर्ने साह्रै गुणवती बुहारी पाएकी छिन् जीवनकी आमाले’ भनेर छिमेकीहरु सुनाँउथे। घरमा लोग्ने, सासू, ससुरा, छोराछोरी र अरु परिवारका सदस्य जो कोहि बिरामी परे पनि उनी मनै देखि स्याहारसुसारमा जुट्थिन्।

समय समयमा दिनु पर्ने तातोपानी, औषधि, जाउलो कसैले पनि सम्झाउन पर्दैन थियो, बरु बिरामी आफैले औषधि खाने समय बिर्सेला तर शारदाले कहिल्यै बिर्सिन्नथिन्। कहिले काँही माइत गएको बेलामा घरमा कोही बिरामी पर्यो भने सबैले उनैलाई सम्झन्थे। घरमा सबैकाे हातै भाचिए जस्तो हुन्थ्यो।

तर समय सधैं एउटै रहेन। आज तिनै सबैको आखाँकी नानी शारदा ओछ्यान परेकी छिन्। केही महिनादेखि तल्लो पेट नराम्रोसँग दुख्न थालेको थियो। जिउ कटकटी खाइरहेको थियो। हात ग‍ोडा झमझमाउँथे, महिनावारी हुँदा बेसरी रगत बग्ने गर्थ्य‍ो, जिउ शीथिल हुन्थ्यो। कहिलेकाही यस्तै हो अन्नपानीको शरीर भनेर घिस्रिँदै काम गर्थिन्।

एक दिन त सार्है गाह्राे भयो, महिनावारी भएको बेलामा अरु बेलामा भन्दा अलि बढी नै रगत गयो। उनी थला नै परिन्। हस्पिटल लगियो, सबै परिक्षण गरियो, पाठेघरमा खराबी देखियो । पाठेघरमा क्यान्सर रोगको लक्षण देखियो। ‘पहिलो स्टेजमा छ क्यान्सर उपचार हुन्छ’ भन्दै थिए हस्पिटलका डाक्टरहरु। घर परिवारका सदस्यहरुले भने क्यान्सरको नाम सुन्ने बित्तिकै ‘जसले जे भने पनि यसको उपचार हुँदैन पैसा मात्रै खर्च हो’ भनेर घरै फर्काए।

सबैकी दाहिने हात बनेकी शारदा, एक पलमै सबैको आखाको कसिङ्गर बन्दै थिइन्। एक दिन माइत जाँदा घरै शून्य भयो भन्ने सासू बारम्बार ‘माइतै लगेर हुर्याइदे तेरो बुढीलाई’ भन्दै टोकसो गर्थिन् छ‍ोरालाई। ‘तेरी आमा सापे भै’ भन्दै सराप्थिइन् नातीनातिनालाई। शारदालाई आफ्नो जिन्दगी नै भारी लाग्न थालेको थियो। ढकमक्क फुलेको फूल जस्तो उनको जिन्दगी कतिखेर ओइलाईसकेछ मेसो नै पाइनन्।

कोठा, चोटाबाट हुँदै पिढीमा सर्दै गयो उनको ओछ्यान। रोगले दिनदिनै च्याप्दै, थलिँदै थिइन् शारदा। तैपनि घरको सकेको काम गर्थिन्। घर त पुरानै जस्तो लाग्थ्यो तर घरका सदस्यहरु भने उनलाई नौलो मानिस जस्तै हेरिरहन्थे।

उनका लोग्ने र ससुरा निधारमा रातो टीका लगाएर आगनमा टुप्लुक्क आइपुगे। उनको लोग्नेले दया र ग्लानीले भरिएको नजरले शारदालाई हेरे, अनि सरासर घर भित्र पसे। उनको मन अमिलो भयो। रात भरि राम्ररी निदाउन पनि सकिनन्। घरमा गाँईगुँई कुरा चल्न थाल्यो, गहना, कपडाको कुरा हुन थाल्यो। उनलाई माइत पठाउने सुरसार हुँदै थियो। अब उनको अनुमान बिस्तारै एकिनमा बद्लिँदै थियो।

जतिखेर पनि काखैमा राखौ जस्तो गर्ने लोग्नेले हेर्न छाडिसकेका थिए, घर भित्र-बाहिर गर्दा पनि आँखा जुध्ला भनेर तर्केर हिँड्ने गर्थे। अब उनको एक्लो सहारा सानासाना छोराछोरी मात्रै थिए। बेलाबेला पानी माग्दा दिन्थे। कहिलकाँहि शारदा पीडाले छट्पटिँदा आमाको नजिकै आएर टुलुटुलु हेरिरहन्थे। यिनै सानासाना छोराछोरीको लागि भए पनि म बाच्नु पर्छ जस्तो लाग्थ्यो शारदालाई।

एकदिन दुइदिन गर्दै ओछ्यान परेको पनि ३ महिना पुगेछ। एक दिनको साँझ पिँढीमा बसेर शारदा चामल केलाउँदै थिइन्। उनका लोग्ने र ससुरा निधारमा रातो टीका लगाएर आगनमा टुप्लुक्क आइपुगे। उनको लोग्नेले दया र ग्लानीले भरिएको नजरले शारदालाई हेरे, अनि सरासर घर भित्र पसे। उनको मन अमिलो भयो। रात भरि राम्ररी निदाउन पनि सकिनन्। घरमा गाँईगुँई कुरा चल्न थाल्यो, गहना, कपडाको कुरा हुन थाल्यो। उनलाई माइत पठाउने सुरसार हुँदै थियो। अब उनको अनुमान बिस्तारै एकिनमा बद्लिँदै थियो।

दुईदिन पछि माइतीबाट बुबा लिन आउनु भयो। बुबा भन्दै हुनुहुन्थ्यो “के गर्नु नानी तेरा छोराछोरीलाई टुहुरो बनाउनु भएन, तेरो अब कति दिन नै पो बाँकी छ र? डाँडा माथि कि जुन भैइसकिस छोरी। बल्ल-बल्ल कान्छीलाई फकाएका छौं, रुँदै थिई दिदीको सौता बन्दिन भनेर, अब धेरै दिन रहदिन तेरी दिदी, भनेर सम्झाएका छौं। हिँड छोरी जाउँ उतै, यता बिहेको रमझममा तेरो स्याहार पनि हुदैन, बरु बहिनीको दुल्हन फर्काउदा सँगै फर्केलिस्”।

बुबाको कुरा सुनेर शारदा आँगनको छेउमा बसेका लोग्ने र छोराछोरीको मुखमा एकटकले हेरिरहिन्, अकल्पनीय यात्राको सहयात्री जस्तै। कान्छी बैनिलाई झलक्क सम्झिइन् बिचरी सानै छ कसरी समाल्लिन यो सबै व्यबहार।

बसेको ठाँबाट उठिन चुपचाप बुबाको पछि लागिन्। अलि पर पुगेर फर्केर आगनबाट टुलुटुलु हेरिरहेका छ‍ोराछोरी र घरलाई हेरि र मनमनै सोचिन् ‘आज मेरा छोराछोरी टुहुरो हुन्छन् भनेर घर-माइती एक भएर बैनीलाई सौता बनाउन एकजुट भएको जस्तो मेरो उपचारको लागि पनि एकजुट भैदिएको भए, म पनि बाच्न पाँउथे होला।

डाक्टरले सुरुको अबस्थामा छ उपचार लाग्छ भनेका थिए। म बाँचेको भए, मेरा छोराछोरीले सानीमालाई कान्छीआमा भन्नु पर्दैन थियो, म पनि कान्छी बैनीको बिहे भन्दै उफ्रदै उफ्रदै माइती जान पाउथे होला।‘

माइती पुग्दा ब‌हिनी पिँढीमै रहेछिन्, बैनीलाई देख्ने बित्तिकै लोग्नेको याद आयो। आफ्नो बिहे भएर पहिलो पटक माइती आउँदा भिनाजुले नजिकै च्यापेर ललिपप दिएको झल्को आयो शारदालाई।

मनमनै यो अनमेल बिबाहको लागि ब‌हिनीसँग माफी मागिन् । हिनताबोधले भरिएको आखाले पुलुक्क बैनीलाई हेरिन् र घर भित्र पसिन्। कान्छी बहिनी भने एकतमासले खुट्टाको बुढी औंलाले भुइ कोट्याउदै पर क्षितिजमा एकोहोरो हेरिरहिन् हेरिरहिन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो