पुरानो शिक्षा नियमावलीले नयाँ नेपालको शिक्षा दिँदैन : शिक्षामन्त्री श्रेष्ठ

डिसी नेपाल
२४ चैत २०७७ ७:२९

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा नीति पुरानो भएको टिप्पणी गरेका छन्। नेशनल प्याब्सन काठमाडौंको जिल्लाको संयोजनमा आयोजित काठमाडौं जिल्ला व्यापी हारिजरी जवाफ प्रतियोगिता २०७७ पुरस्कार वितण तथा समापन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय शिक्षा नियमावली २०२८ नै चलेको जिकिर गरे।

उनले भने, ‘म त अहिले पनि गर्वका साथ भन्दै आएको छु, शिक्षा नियमावली २०२८ नै प्रयोग गरिरहेका छौं भनेर। सचिवहरुले टिप्पणीमा लेखेर ल्याउँदा पनि शिक्षा नियमावली २०२८ नै लेखेर ल्याउनु हुन्छ मैले हेरिरहनै पर्दैन।’

उनले पुरानो शिक्षा नियमावलीले नयाँ नेपालको शिक्षा नदिने तर्क गरे। उनले भने, ‘एकाइसौँ सताब्दीमा पुग्दा, नेपाल निरंकुस पञ्च्यायती व्यवस्थाबाट, राजतन्त्र र राजतन्त्रबाट पनि अहिले गणतन्त्रमा प्रवेश गरेको छ। शिक्षा नीति भने करिव ५० वर्ष पुरानो लचलाएका छौं। कसरी नयाँ नेपाललाई आवश्यक पर्ने शिक्षाको कल्पना गर्ने त।’

शिक्षामा आमुल परिवर्तनको खाँचो रहेको औल्याउँदै मन्त्री श्रेष्ठले सरकारले त्यो विषयमा ध्यान दिइरहेको जानकारी पनि दिए। त्यसका लागि निजी तथा आवासीय विद्यालयहरुसँग पनि छलफल गरेर नै अगाडि बढ्ने आश्वासन समेत श्रेष्ठले दिए।

शिक्षामन्त्री श्रेष्ठले हरेक विद्यालय संचालकले र शिक्षकले गुणस्तरीय शिक्षाको बारेमा मात्र सोच्नु पर्ने बताए। काठमाडौं भित्रका पनि केही सरकारी स्कुलहरुमा भर्ना गर्न भनिदिनु पर्ने भन्दै आफूसँग आउने गरेको बताए।

‘काठमाडौं भित्र नै धेरै सरकारी विद्यालय छन्’ उनले भने, ‘जहाँ भर्ना गर्नका लागि भनिदिनु पर्यो भन्दै म कहाँ आउनु हुन्छ। सरकारी स्कूलहरुको पनि त्यो गुणस्तरीयता छ। यसको मतलब तपाईँहरुको निजी स्कूल बन्द गर्नुहोस् भन्ने हैन। तपाईँका स्कूलहरु पनि त्यतिकै गुणस्तरीय बनाउँनुहोस् भन्ने हो।’

मन्त्री श्रेष्ठले बालबालिकाले शिक्षकहरुलाई विश्वास गर्ने भएकाले पढाउने शैलीमा पनि केही परिवर्तन गरेर लैजान पनि सुझाव दिएका छन्। उनले भने, ‘स्कूलमा जुन कुरा सिकायो त्येही कुरामा बालबालिकाले जोड दिने भएका हुँदा, कुनै पनि कुराका बहुआयामका बारेमा पनि सोच्नु पर्ने हुन्छ। ३ जोड १ पनि चार हुन्छ। २ जोड २ पनि ४ हुन्छ। तर, बालबालिकाले ३ जोड १ नै ४ हुन्छ भन्छ। किन कि उसलाई स्कूलमा ३ जोड १ बराबर ४ हुन्छ भन्ने सिकाइएको छ।’

शिक्षामन्त्री श्रेष्ठले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीको बहुआयामको विकास हुने भन्दै यस्ता प्रतियोगिताहरु आवश्यक पर्ने बताए। करिव आधा घण्टा सम्बोधन गरेका मन्त्री श्रेष्ठले पहिलो २० मिनेट कोरोनाको बारेमा सिकाउन व्यस्त रहे।

उनले कोरोन भगाउन ५ वटा स्वादहरुमध्ये ३ वटा स्वाद भएका खानेकुरालाई बढी ध्यान दिनु पर्ने बताए। उनले भने, ‘तितो, पिरो, टर्रो, गुलियो र अमिलो गरी ५ वटा स्वाद हुन्छन्। यसमध्ये तितो, पिरो र टर्रो कुराहरु धेरै खाएपछि कोरोनाले हामीलाई असर गर्दैन।’

हरेकको भान्सा नै कोरोनाको औषधिको भण्डारण भएको पनि मन्त्री श्रेष्ठको भनाइ थियो। उनले बेसारलाई, ल्वाङ, टिमुर र बोजो जस्ता खाने कुराहरुलाई आवश्यक्ता अनुसार खान पनि सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *