लकडाउनका विषयमा नयाँ नीति, क्लस्टरका आधारमा कडाइ

तर्कबहादुर थापा
२४ चैत २०७७ १३:११

काठमाडौं। कोरोनाको दोश्रो लहरको ग्राफ उकालो लागेको छ। ग्राफ उकालो लागेपछि सरकारले पुनः लकडाउन गर्न सक्ने भन्दै विभिन्न क्षेत्र, पेशा र व्यवसायका व्यक्तिहरु स्वभावतः आशंकित छन्।

तर, पछिल्लो कोरोनाको लहरमा सरकाले लकडाउनका बारेमा नयाँ नीति लिएको हो। सरकारले लकडाउनका बारेमा बनाएको नीति क्लस्टरका आधारमा कडाइ गर्ने हो।

गएको चैत ११ गते सरकारले लकडाउन गर्दा नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या न्यूनतम थियो। तर, १ वर्षपछिको चैत महिनामा कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दो छ।

कोरोनाको ग्राफ उकालो लागेको र भारतमा पनि केही शहरमा लकडाउन भएको खबर बाहिरिन थालेपछि नेपालमा पनि लकडाउनको विषयलाई लिएर टिकाटिप्पणी हुन थालेका छन्।

नेपालमा कोरोना महामारी न्यूनिकरणकालागि बनेको कोभिड क्राइसिस् म्यानेजमेन्ट कमिटी (सीसीएमसी)ले गएको वर्ष कोरोना नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको थियो। जसले नेपालमा कोरोनाको महामारीलाई कम गर्न सहयोग पनि भयो।

गएको वर्षले हामीलाई धेरै कुरा सिकाएको छ। अहिले नेपालभर एकैपटक लकडाउन गर्ने सोचमा सरकार छैन। कोरोना ह्वात्तै बढेको स्थानमा भने स्थानीय तहले रोकथाम तथा न्यूनिकरणका लागि केही कदम चाल्न सक्छ।

अहिले पनि कोरोनाको ग्राफ उकालो लाग्दा के लकडाउन हुन्छ त? सर्वसाधारणमा जिज्ञाना देखिन्छ। सीसीएमसीका सचिव खगराज बरालले एकैपटक देशभर लकडाउन नहुने भन्दै क्लस्टरका आधारमा कडाई गर्न सकिने नीति लिएको सुनाए।

बरालले डिसी नेपालसँग भने, ‘गएको वर्षले हामीलाई धेरै कुरा सिकाएको छ। अहिले नेपालभर एकैपटक लकडाउन गर्ने सोचमा सरकार छैन। कोरोना ह्वात्तै बढेको स्थानमा भने स्थानीय तहले रोकथाम तथा न्यूनिकरणका लागि केही कदम चाल्न सक्छ।’

सीसीएमसी आफ्नो अधिकारक्षेत्रमा पर्ने कार्यका लागि सधैं स्ट्याण्डवाई रहेको जानकारी गराउँदै बरालले भने, ‘पछिल्लो समय स्थानीय तह, जिल्ला कोभिड क्राइसिस् म्यानेजमेन्ट कमिटी (डीसीसीएमसी)लाई नै बढी सक्रिय गराउने नीति लिएका छौं।’

‘जहाँ प्रभाव बढी छ, त्यही प्रभावित स्थानीय तहले त्यसको व्यवस्थापन गर्छ,’ सचिव बरालले भने, ‘स्थानीय तह र डीसीसीएमसीहरुले नै प्रभावित क्षेत्रहरुको लागि के कसरी हुन्छ। कन्ट्रयाक्ट ट्रेसिङ कति गर्नु पर्छ, लगायतका विषयमा छानबीन गर्छ।’

विभिन्न जिल्ला कोभिड संकट व्यवस्थापन कमिटीले पनि स्थानीय तहमा कोरोना व्यवस्थापनको लागि सचेतनाका कार्यहरु गरिरहेको बताएका छन्। कहीदिन पहिला उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुका प्रमुखहरुको बैठकले सचेतनाका कार्यहरु गर्ने निर्णय गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्थानीय सरकार, नेपाल प्रहरी, यातायात विभागसँग छलफल गरी कोरोना महामारीको दोश्रो लहरबाट जोगिन सचेतना र सूचना मुलक कार्यहरु गर्ने निर्णय भएको जानकारी दिएका छन्।

उनका अनुसार सार्वजनिकस्थलमा हिँडडुल गर्ने सबैलाई मास्क अनिवार्य लगाउन सुझाउने र अटेर गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने छ। पराजुलीले भने, ‘सबै भन्दा धेरै कोरोनाको संक्रमणबाट टाढा गराउने उपाए भनेकै मास्क हो। हामीले सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई मास्क लगाउन भन्ने छौं। यदि अटेर गरेमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ।’

यस्तै, पराजुलीले कोभिडको रोकथाम तथा नियन्त्रणका लागि यस अघि संचालनमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु पुन प्रयोग गर्न मिल्ने नमिल्ने अनुगम गर्ने र पुनः संचालनका लागि सबै स्थानीयतहहरुलाई आग्रह गर्ने पनि निणर्य भएको बताए।

कोरोनाबाट नेपालमा ३ हजार ३६ जनाको ज्यान गएको छ भने, १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६४ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म २२ लाख ८९ हजार ८ सय २४ जनाको पीसीआर टेस्ट गरिएको छ।

सबैभन्दा बढी काठमाडौं जिल्लामा १ लाख बढी कोरोनाका संक्रमितहरु रहेका छन्। काठमाडौं जिल्लामा १ लाख ४ हजार २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *