डढेलो रोक्नै नसकिने विपद् हो ? – Dcnepal

डढेलो रोक्नै नसकिने विपद् हो ?

काठमाडौं। वर्षेनी डढेलोबाट ठूलो धनजनको क्षति हुने गरेको छ। हरेक वर्ष नेपालमा जंगलमा लाग्ने डढेलोका कारण जंगली जनावरको पनि ठूलो संख्यामा मृत्यु हुने गरेको छ।

हरेक वर्ष बढ्दो क्रममा रहेको डढेलो रोक्नै नसकिने विपद् हो त? हामीले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उद्धव प्रसाद रिजाललाई सोधेका थियौं।

प्रवक्ता रिजालले डढेलो रोक्ने नसकिने विपद् नभएको बताए। डिसी नेपालसँगको कुराकानीमा रिजालले भने, ‘यो रोक्नै नसकिने विपद् हो भन्न त मिल्दैन। तर, पूर्ण रुपमा रोकिन्छ भन्न पनि मिल्दैन।’

उनका अनुसार डढेलो २ कारणले लाग्ने गर्दछ प्राकृतिक र मानवीय त्रुटि। ‘सरकारले नीति नियममा कडाई गरेको अण्डमा मानवीय त्रुटिबाट लाग्ने डढेलो रोक्न सकिन्छ,’ प्रवक्ता रिजालले भने, ‘जुन प्राकृतिक कारणले डढेलो लाग्छ त्यो रोक्न सकिँदैन। त्यो भएरै छोड्छ।’

 ९० प्रतिशत मानवीय त्रुटिबाट नै डढेलो लाग्छ। सामान्य कुराबाट पनि बुझ्न सकिन्छ। डढेलो लगाउनेलाई अहिलेसम्म कारवाही भयो भन्ने सुनिएको छैन। यसको मतलब डढेलोको विरुद्ध कानुन नभएका कारण पनि मानवीय त्रुटि हुने गरेको हो।

हालसम्मको तथ्याङ्कले मानवीय त्रुटिका कारण ९० प्रतिशत डढेलो लागेको देखाएको रिजालले बताए। उनले भने, ‘प्राकृतिक कारणबाट १० प्रतिशत मात्र डढेलो लागेको पाइन्छ। ९० प्रतिशत त हामी मान्छेकै कारण लागेको हो।’

किन लाग्छ डढेलो ?

‘हामीले ९० प्रतिशत मानवीय त्रुटिबाट नै डढेलो लाग्छ भन्ने निष्कर्ष निकालेको कुरा तपाईँलाई सुनाएँ,’ प्राधिकरणका प्रवक्ता रिजालले भने, ‘सामान्य कुराबाट पनि बुझ्न सकिन्छ। डढेलो लगाउनेलाई अहिलेसम्म कारवाही भयो भन्ने सुनिएको छैन। यसको मतलब डढेलोको विरुद्ध कानुन नभएका कारण पनि मानवीय त्रुटि हुने गरेको हो।’

यस्तै प्रवक्ता रिजालका अनुसार उपभोक्ता समूहहरुले सामुदायिक वनमा घाँस राम्रो उम्रिने अपेक्षाका कारण पनि आगो लगाउने गरेका हुन्छन्। कृषि जन्य जग्गा बढाउन पनि मानिसले आगोलगाउने गरेको पाइएको रिजालले बताए। उनले भने, ‘जंगल नजिकै बस्तीहरु धेरै हुन्छन्। वरिपरीको घाँसहरु जलाउने, आफ्नो जमिन बढाउने कारण पनि आगो लगाइन्छ।’

जंगली जनावरको घेरेर सिकार गर्ने व्यक्तिहरुले पनि बनमा डढेलो लगाउने गरेका छन्। ‘चुरोट खाएर ठूटो फाल्ने त नेपालीको बानी हो, यो विषयमा कुरा नगरौं,’ रिजालले भने। जंगली जनावरबाट बच्नका लागि, आफ्नो जग्गामा उत्पादन राम्रो हुन्छ भन्नका लागि लगाइने आगो, बाटोमा अलकत्रा उमाल्दा, बिजुलीका तारहरु सर्ट हुँदा पनि आगो लाग्छ।

अरु कारणहरु खोज्दै जाँदा बाटोघाटो सफा गर्न पनि आगो लगाउने काम मानिसहरुले गर्छन। वन पैदावार लिनको लागि, जस्तै कोइला बनाउने लगायतका कार्यको लागि पनि जंगलमा आगो लगाइन्छ।

‘मानिसहरुले राम्रै कामका लागि आगो लगाउँछन्, उनीहरुले घाँस राम्रो उम्रिन्छ भन्नु, बाटो सफा गर्ने नियतले लागो लगाउनु राम्रै हुन्। तर, कानून नभएका कारण जथाभावि, व्यवास्था गरेर आगो लगाउने भएकाले त्यसले विकराल रुप लिन्छ,’ रिजालले भने।

रोकथामका उपायहरु के छन् ?

हरेक व्यक्तिले आफूले आफ्नो निजी जग्गा जमिन होस्, वा आफूले राम्रो कामको लागि लगाइने आगोहोस्। निश्चित अनुसासनमा रहेर लगाउनु पर्ने रिजालको भनाइ छ। उनले भने, ‘जंगलमा आगो लगाउने कामलाई निरुत्साहित नै पार्नु पर्छ। उपभोक्ता समूहहरुले यस्ता कामहरु रोक्नु नै पर्छ।’

कानून बनाएर आगो लगाउनेलाई कारवाही हुने परिपाटी बसाउन सकेमा पनि जंगलमा लाग्ने डढेलोमा न्यूनीकरण गर्न सकिन्छ। ‘जंगली जनावरको सिकारका लागि आगो लगाएर घेर्ने चलन छ। त्यो मात्र नभएर घाँस राम्रै उम्रिन्छ भन्नका लागि पनि आगो लगाइने भएकाले कारवाही हुन्छ भन्ने भयो भने त रोकिन्छ नी त्यो काम।’

‘स्थानीय सरकारहरुले नै डढेलोको बारेमा राम्रोसँग सोच्नु पर्छ,’ रिजालले भने, ‘स्थानीय सरकारलाई थाहा हुन्छ कहाँ कसले आगो लगायो भन्ने बारे।’ त्यो कुरालाई उनीहरुले प्रयास गरेमा रोक्न सकिने रिजालले बताए।

आगो निभाउने श्रोत र साधनको पनि कमि छ। जनशक्ति पनि तालिम प्राप्त छैन। सरकारले नै यस्ता कुरामा ध्यान दिएको खण्डमा रोकथाम गर्न सकिन्छ।

डढेलोको पछिल्लो अवस्था

पछिल्ला १५ दिनमा डढेलोमा परि १५ जनाले ज्यान गुमाए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रदेश १ को इलाममा १ जना, बागमति प्रदेशको मकवानपुरमा १ जना, गण्डकी प्रदेशको गोरखामा १ जना, कर्णाली प्रदेशको सुर्खेतमा १ जना, लुम्बिनीको पाल्पा र गुल्मीमा गरी २ जना र सुदूरपश्चिमको कन्चनपुरमा १ जना गरी ७ जनाको डढेलोबाट ज्यान गएको हो।

डढेलो ७ वटै प्रदेशको ५९ जिल्लाको ३ सय ४४ स्थानमा लागेको छ। प्रदेश अनुसार सबैभन्दा बढी प्रदेश १ को १ सय १३ स्थानमा डढेलो लागेको छ। प्राधिकरणका अनुसार सबैभन्दा कम गण्डकी प्रदेशको १५ स्थानमा डढेलो लागेको छ।

यसैगरी, बागमति प्रदेशको ३६ स्थानमा, कर्णाली २२, लुम्बिनी ६६, प्रदेश २ को ६० र सुदूरपश्चिम प्रदेशको ३२ स्थानमा डढेलो लागेको प्राधिकरणले जनाएको छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो