को हुन् यी डाक्टर, जो १५ दिनदेखि एक्लै अधिकारको संघर्ष गरिरहेका छन्?

डिसी नेपाल
२७ चैत २०७७ १२:४६

काठमाडौँ। व्यस्त शहर काठमाडौँको माइतीघरमा साँझको ५ बजे सयौं कर्मचारी, मजदुर, विद्यार्थी हतारमा घर जान गाडीको प्रतिक्षामा छन्।

तर एक युवक सेतो एप्रोन लगाएर शालीनताका १५ दिनदेखि ठिक पाँच बजे सडकको छेउमा एक्लै ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले ९८४१……मा सम्पर्क गरिदिनुहोला धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ। तर तपाईंको नियत कायम छैन सरकार,’ लेखिएको पम्पल्लेटका साथ न्याय पाउने प्रतिक्षाका साथ उभिएका छन्।

उनको केही साता देखिको यो दैनिकता देखेर धेरैलाई अचम्म लाग्छ। त्यसैले उनलाई जिज्ञासाको भावले धेरै यात्रुहरुले फर्की फर्की पनि हेर्छन्। उनलाई त्यसरी हेर्दा कसैप्रति कुनै पूर्वाग्राह छैन, निरन्तर आफ्नो संघर्ष जारी राख्छन्। सेतो एप्रोन लागाएर सडक छेउ उभिएका यी युवक डा.अजित मलिक हुन्। सिभिल अस्पतालमा कार्यरत डा.मलिक दिन भर अस्पतालमै विरामी हेर्छन्। ठिक ५ बजेपछि धर्नाको लागि एक्लै माइतीघर मण्डला जान्छन्।

डा.मलिक सडकमा आउनु बाध्यता भएको बताउँछन्। विश्वभर कोरोनाले अस्तव्यस्त बनाएको मानव समुदाय यो भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन। आफ्नै स्वस्थ्य जोखिममा राखेर नागरिकको स्वास्थ्य बचाउन अहोरात्र खट्ने डाक्टरलाई सरकारले अपमान गरेको उनी ठान्छन्।

सडकमा धर्ना दिनुको एक मात्र कारण कोरोनाको बेला कार्यरत डाक्टरले पाउनु पर्ने भत्ता सरकारले नदिएको कारण अधिकारका लागि एक्लै सडकमा आएको बताउँछन्। डा.मलिक भन्छन्, ‘सरकारले दिन्छु भनेको भत्ता ५ रुपैयाँ होस् वा ५ लाख। पैसासँगको सरोकार र संघर्ष हैन यो संघर्ष भनेको व्यवस्था र प्रणालीको हो। राज्यबाट पाउने सुबिधा ५ रुपैयाँ नै किन नहोस् त्यो पाउँदा पनि मैले राज्यबाट पाउने अधिकारको अनुभूति गर्छु्।’ तर आजसम्म एक रुपैयाँ पनि नपाएको उनको गुनासो छ।

‘अरु डाक्टर साथीहरु कतिपयले सायद पाउनु पनि भयो होला। धेरै जसो श्रम शोषित भएर बस्नु भएको छ, जति गरे पनि केही हुँदैन भनेर निराश हुँदै राज्यलाई स्वच्छाचारी बनाउनु भएको छ,’ उनले भने, ‘मेरो हकमा पनि नेपाल हो न्याय पाउँछु या पाउँदिन थाहा छैन। तर सत्यको संघर्ष गर्दै छु। सरकारबाट दिनुपर्ने अधिकार नपाएर मौन बस्नु भनेको आफैंमा अन्याय गर्नु हो। त्यसैले मेरो सत्यको लडाईमा धेरैले गर्व गरेका छन्। तर म यहाँ एक्लै लडेको छु लडिरहनेछु।’

आफ्नो हक अधिकारको लागि दैनिक संघर्ष गर्दै आएपनि आफ्नो पहिलो प्राथमिकता अस्पतालको विरामी निको पार्ने रहेको उल्लेख गर्दै उनले अस्पतालको काम पनि मात्रै अधिकारको लागि लडिरहेको बताए।

‘मेरो धर्म र कर्तव्य भनेको बिरामी निको पार्नु नै हो। अस्पतालको काम प्रभावित पारेर धर्ना मात्र बस्दिन। तर सत्यको लागि संघर्ष भने जारी हुनेछ। म न्याय र अधिकारको लागि कहिल्यै थाक्ने छैन,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *