राजकुमार फिलिपलाई किन ‘राजकीय’ अन्तिम संस्कारको सम्मान दिइने छैन ?

डिसी नेपाल
२९ चैत २०७७ १३:०६

काठमाडौं। बेलायती महारानीका श्रीमान, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कार १७ अप्रिल शनिबारका दिन हुने भएको छ । बकिंघम राजदरबारका प्रवक्ताले शनिबार यसको जानकारी दिँदै अन्तिम संस्कार विंडसरमा हुने बताए । समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक प्रवक्ताले यो अन्तिम संस्कार राजकीय नभइ औपचारिक शाही अन्तिम संस्कार हुनेछ ।

राजकुमार प्रिन्स महारानी एलिजावेथ द्वितीयपछि शाही परिवारमा दोस्रो बरियताका सदस्य हुन् । बरियता अनुसार उनको अन्तिम संस्कार राजकीय अन्तिम संस्कार हुनुपर्ने थियो । तर, जीवित छँदै राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कार राजकीय नगर्न भनेका थिए । उनको यही इच्छाअनुसार उनको अन्तिम संस्कार राजकीय नभइ औपचारिक शाही अन्तिम संस्कार हुनेछ । अन्तिम संस्कारको क्रममा केही समयको मौनधारण राखिनेछ ।

रिपोर्टका अनुसार कोरोना महामारी नियन्त्रणका लागि लागू प्रोटोकलका कारण उनको अन्तिम संस्कारमा उनको परिवारका सबै सदस्यहरु समेत उपस्थित हुन पाउने छैनन् । अन्तिम संस्कारलाई टेलिभिजनमा लाइभ देखाइनेछ । महामारीसम्बन्धी प्रोटोकलअनुसार बढीमा ३० जना मात्र अन्तिम संस्कारमा सहभागी हुन पाउनेछन् । अन्तिम संस्कारमा सहभागी हुनेहरु को–को हुनेछन् भन्ने महारानीले छनोट गर्नेछिन् ।

सिन्ह्वाले राजदरबारका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार पेटोकलका कारण धेरै संख्यामा जम्मा हुने अनुमति हुने छैन । राजकुमारको अन्तिम संस्कार कार्यक्रम पूर्ण रुपमा विंडसर क्यासलको मैदानमा आयोजना हुनेछ । ८ दिनसम्म राष्ट्रिय शोक सभा गर्ने प्रधानमन्त्रीको सिफारिस स्वीकृत गरिएको छ । शुक्रबार राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको थियो । उनी १०० वर्ष पुग्न ठिक २ महिना बाँकी थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *