बिस्कुट खानेबित्तिकै गम्भीर बिरामी परेकी मोडलले ३ अर्ब ५५ करोड रुपैयाँ पाउने

डिसी नेपाल
१ वैशाख २०७८ ११:२५

काठमाडौं। बिस्कुट खानेबित्तिकै गम्भीर बिरामी परेकी एक मोडलले ३ अर्ब ५५ करोड रुपैयाँ पाउने भएकी छिन् । पिनट बटर बिस्कुट खाएपछि ब्रेन ड्यामेजको सिकार भएकी सान्टेल ग्याकेलेनलाई लस भेगासको एक अदालतले २९.५ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको हो । उनको मेडिकल खर्च र मानसिक–भावनात्मक कष्टको क्षतिपूर्तिस्वरुप यो रकम दिन आदेश दिइएको हो ।

लस भेगास रिभ्यु जर्नलका अनुसार २०१३ मा सान्टेल लस भेगासको म्याजिक फेसन ट्रेड शोमा मोडलिङ गर्दै थिइन् । यस क्रममा उनकी साथी ताराले उनलाई दही र प्रेट्जेल दिएकी थिइन् । प्रेटलेज एक प्रकारको बिस्कुट हो । यो बिस्कुटमा पिनट बटर पनि मिसाइएको थियो र सान्टेललाई पिनट बटरबाट एलर्जी हुने समस्या थियो । तर, सान्टेललाई बिस्कुटमा पिनट बटर मिश्रित भएको थाहा थिएन र उनकी साथी तारालाई सान्टेललाई पिनट बटरबाट एलर्जी हुने कुरा थाहा थिएन ।

सान्टेलले बिस्कुट खाएपछि मेडिकल भाषामा ‘एनफाइलेक्टिक सक’ भनिने अवस्थामा पुगिन् । कुनै पनि व्यक्तिको शरीरमा एलर्जीसम्बन्धि प्रतिक्रिया हुँदा यो स्थिति आउँछ र यो निकै दुर्लभ हुन्छ तर यसको तत्कालै उपचार नभएमा यो प्राणघातक पनि हुन्छ । यो अवस्था आम रुपमा खानेकुराबाट हुने एलर्जी र किराफट्यांग्राले टोक्दा हुन्छ । यो स्थितिमा ‘एपिनेफ्रिन’ नामको औषधि दिइन्छ र यो औषधि तत्काल नदिइए स्थिति गम्भीर हुन सक्छ ।

सान्टेलका वकिलले अदालतमा बताएअनुसार उनलाई अस्पताल लगेपछि यो औषधि दिइएको थिएन त्यसैले सान्टेलको स्थिति झनै बिग्रिँदै गयो । त्यो समयमा सान्टेलको उमेर २७ वर्ष थियो । वकिलका अनुसार मेडिकवेस्ट नामको अस्पतालमा उपचारपछि सान्टेलको दिमाग केही मिनेटको लागि बन्द भएको थियो । त्यतिबेला पारामेडिक्सले पनि सान्टेललाई सही उपचार उपलब्ध गराउन सकेका थिएनन् ।

अहिले ३५ वर्षकी सान्टेल यो घटनाबाट अझै निको हुन सकेकी छैनन् । उनी अहिले पनि पक्षघातको स्थितिमा छिन् । उनी २४ घण्टा परिवारको रेखदेखमा रहन्छिन् । उनी आइ गेज कम्प्युटरको सहारामा अरुसँग कुरा गर्न सक्छिन् । विगत ८ वर्षदेखि उनी मातापिताको डाइनिङ रुममा बसिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *