आफूलाई बलात्कार गर्नेलाई माफी दिइन् तर… – Dcnepal

आफूलाई बलात्कार गर्नेलाई माफी दिइन् तर…

बीबीसी । पश्चिमोत्तर कोलम्बियाकी फेनी एस्कोबार आफ्नो समुदायकी एक नेत्री हुन्। आफूसँग अब आँसु नै बाँकी नरहेको उनी बताउँछिन्। “मेरो आवाज सुन्नूस्,” उनले मलाई भनिन्। “म बोल्दा मेरो आवाज टुट्छ र मधुरो हुँदै क्रमशः हराउन पुग्छ। तर म रुदिनँ। रुनलाई मसँग अब आँसु नै छैनन्।”

बरू उनले दुःखमनाउ गर्दा उनका हातहरू काम्न थाल्छन् र चिसा हुन्छन्। युद्धग्रस्त उराबामा आफ्नो ५७ वर्षे उमेरमा आफूले भोगेका पीडाहरू बताइसक्दा एस्कोबार शिथिल भइन्। उनको बलात्कार भएको छ, गुरिल्ला र अर्धसैनिकहरूबाट उनलाई ज्यान मार्ने धम्की दिइएको छ, बसाइँ छोडेर जान उनलाई बाध्य पारिएको छ र उनी विस्थापित भएकी छन्।

आफ्नै बच्चाका साथै धर्मपुत्रपुत्री तथा मदिरा पिएर घर आउँदा कुट्ने श्रीमान्‌को हत्याको उनले सामना गरेकी छन्। युद्धको प्रताडनाकै कारण आफूलाई क्यान्सर भएको उनी बताउँछिन्।

“ती सबै पीडा, ममाथि राखिएका अस्त्र, सबले मलाई भित्रैबाट बर्बाद बनाए र मेरो स्तन लग्यो। क्यान्सर अन्यत्र पनि फैलियो। अहिले म दाहिने आँखाले खासै हेर्न सक्दिनँ। त्यो पीडाले मैले आफ्नै शरीरलाई विषाक्त बनाएँ। अहिले क्यान्सर मेरो सबैभन्दा ठूलो शत्रु बनेको छ।”

एस्कोबारको कथा कुनै चलचित्रबाट लिइएको जस्तो मानिसहरूले भनेमा उनी के भन्छिन् त?

“यस्ता आदिवासी महिला छन् जसको सात अथवा आठ पटकसम्म बलात्कार भएको छ र आफ्नै भूमिमा अझै बलात्कृत भइरहेका महिलाहरू छन् (…) त्यहाँ जे भइरहेको छ त्यसको सामु मेरो जिन्दगीको कथा केही पनि होइन,” एस्कोबार भन्छिन्। कोलम्बियामा समुदायका थुप्रै नेतामध्ये एस्कोबार पनि एक हुन्।

उनी मुजेरेस डेल प्लान्टन नाम गरेको सङ्गठनको नेतृत्व गर्छिन् जुन संस्थाले पीडितका लागि आवाज उठाउँछ, बालबालिकालाई अपराधमा फस्नबाट रोक्छ, दुर्व्यवहारहरू रोक्छ र दुर्व्यवहार नरोकिए पीडितलाई न्याय दिलाउँछ।

एस्कोबारको नेतृत्वलाई आफ्ना गतिविधिमा हस्तक्षेप देख्ने समूहहरूलाई उनी फेरि पनि जाती लागिरहेकी छैनन्। ती तिनै समूह हुन् जुन दशकौँदेखि एस्कोबारको पछि लागेको अर्धसैनिक सङ्गठनसँग आबद्ध छन्।

यी खोक्रा धम्की होइनन्: स्थानीय प्रबुद्ध समूह इन्डेपाजका अनुसार सन् २०२० मा कोलम्बियामा ३०९ जना समुदायका नेताहरू मारिए भने सन् २०२१ को शुरूका तीन महिनामा ४० जना मारिएका छन्।

एस्कोबारलाई थाहा छ कि एक दिन त्यो सूचीमा उनी पनि पर्न सक्छिन् किनकि मानव अधिकारको रक्षाका लागि विश्वकै सबैभन्दा खतरनाकमध्ये एउटा देशमा उनी बस्छिन्।

“तर मृत्युदेखि मलाई डर लागेको छैन। मैले सधैँ भन्ने गरेकी छु कि म मर्नैका लागि जन्मेकी हुँ,” उनले भनिन्। एस्कोबार उत्तरी कोलम्बियाको मरुभूमि क्षेत्र ला गुआजीरामा जन्मिएकी थिइन् जहाँ आदिवासीहरूको बसोबास रहेको छ। तर राम्रा अवसरको खोजीमा उनको परिवार पनामासँग सिमाना जोडिएको उराबामा बसाइँसराइ गर्‍यो।

त्यसको केही समयपछि उनी आफ्नी आमासँग छुट्टिइन् र उराबा खाडीतिर गइन् जतिबेला लिबरेशन आर्मीले सो क्षेत्रमाथि नियन्त्रण कायम गरेको थियो।

गुआजीरा परम्पराअनुसार सानो उमेरमा एकजना किसानसँग उनको मागी विवाह भयो (उनका बुवाले बाख्राका केही पाठोसँग उनलाई साटे), उनले खेतीपाती गर्न थालिन् जबकि त्यो कामलाई पुरुषले गर्ने कामको रूपमा हेरिन्थ्यो।

सन् १९९० को दशकमा अर्धसैनिकहरूले सत्ता कब्जा गरे। त्यो प्रतिविद्रोही आन्दोलनले कोलम्बियामा युद्धताका अन्य सशस्त्र समूहले निम्त्याएको भन्दा बढी मृत्यु निम्याएको छ।

“अर्धसैनिकहरूले आफूले चाहेको गरे। तर उनीहरू क्रूर पनि थिए,” आफ्नो जीवनको सबैभन्दा पीडादायी पलहरूबारे सुनाउँदा उनी काम्न थालिन्।

“घोडामा सवार केही व्यक्तिले मेरी बहिनी राम्री छिन् भने र २० दिनभित्र उनलाई लिन आउने भने,” उनले भनिन्। एस्कोबारले आफ्नी बहिनीलाई घरमा लुकाइन् र ती मानिसहरू आउने दिन कुर्न थालिन्। उनीहरू आएपछि पानी मागे।

“चिसो भइरहोस् भनेर गुआजीरामा माटोका ठूला जारहरूमा पानी राख्ने गरिन्छ। जब म उनीहरूका लागि पानी लिन गएँ, दुईजना पहिल्यैदेखि घरभित्र रहेछन् जसलाई मैले मेरो छेउमा पाएँ,” एस्कोबारले भनिन्।

“मेरो घरको पछाडिको ढोकाबाट पाँचजना पहिल्यै घरभित्र छिरिसकेका रहेछन्। त्यसपछि घाँटीमा स्कार्फ बेरेका एक पुरुष हाँसेः के यिनी नै ‘बेर्राका’ [कोलम्बियामा कडा महिलालाई भनिने शब्द] हुन्? सबैभन्दा बलशाली यिनी नै हुन्? ”

“मैले सज्जन पुरुषहरू अभिवादन, तपाईँहरूलाई के सेवा गर्न सक्छु भनेर मैले सोधेँ। मेरा श्रीमान् अहिले हुनुहुन्न, मालिक त झनै हुनुहुन्न। उहाँहरू गाईवस्तु चराउन जानुभएको छ भनेँ,” उनले भनिन्। “अनि उनीहरूले श्रीमान्‌ वा मालिक नचाहिएको भने। हामीलाई तिमी चाहिएको छ भने।”

उनीहरूलाई थाहा थियो कि एस्कोबार घरमा एक्लै थिइन्। उनका परिवारका सदस्यहरू कहाँ छन् भनेर उनीहरूलाई थाहा थियो। उनीहरू एस्कोबारको बलात्कार गर्न गएका थिए।

“उनीहरूको सरदारले सबैभन्दा पहिला मलाई चुम्बन गर्‍यो र मेरो शरीरको सबैतिर छोयो। त्यसपछि उसले मलाई ओछ्यानमाथि धकेल्यो ताकि त्यहाँ भएकाहरूले आफ्नो मर्जीअनुसार मलाई जे पनि गर्न सकून्।”

“उनीहरूले मलाई धक्का मारे, मलाई हिर्काए। उनीहरूमध्ये दुई जनाले चाहेअनुसार मलाई प्रयोग गरे, अर्को चाहिँ मेरो अनुहार नजिक आयो। उनीहरू हाँसे।”

“धेरै दुराचारपछि मैले केही कुरा पनि महसुस गर्न सकिनँ। मलाई लाग्यो मैले आफ्नो शरीर त्यागिरहेकी छु। मैले आफूलाई कतै लगिरहेको जस्तो गरेँ ताकि मलाई थप पीडा महसुस नहोस्।”

“मैले जन्मिन नपाएको आफ्नो बच्चाबारे सोचिरहेँ। मलाई मार, मेरो बच्चालाई होइन। म सम्झन्छु म ‘फेरि आएँ’ र मेरो बच्चालाई चोट नपुर्‍याउन उनीहरूलाई हारगुहार गरिरहेँ।”

“उनीहरूले घोचेर राइफलमाथि मलाई झुण्ड्याए। उनीहरूले राइफल छिराए र बाहिर निकाले। मलाई लाग्यो म मर्दैछु किनकि मलाई त्यसै पल्टिरहेको अवस्थामा छोडिएको थियो।”

उनको गर्भ तुहियो। “उनीहरूले बदला लिए, उनीहरूले मलाई जिन्दगीभरिका लागि सजाय दिन चाहे… र त्यसमा उनीहरू सफल भए,” उनले भनिन्।

कोलम्बियाको अब्जरभेटरी अफ मेमोरी एन्ड कन्फ्लिक्टका अनुसार सन् १९५८ देखि २०१८ सम्ममा यौन हिंसाबाट अनुमानित १५,७३८ जना पीडित भएका छन्। युद्धको एउटा अस्त्रको रूपमा बलात्कार पहिला पनि थियो र अहिले पनि छ। फेनी एस्कोबारको पीडा त्यही रोकिएन।

केही वर्षपछि अर्धसैनिकहरूले “ट्रेड युनियनमा आबद्ध भएकोले” उनका श्रीमान्‌को हत्या गरे र आफ्ना बुवाको हत्याबारे “सत्यतथ्यबाहिर ल्याउने अडान लिएपछि” एक छोराको हत्या गरियो,” उनले भनिन्।

मौन प्रतिरोध

एस्कोबार फेरि काम्न थालेकी छन् र म उनलाई एकछिन विश्राम गर्न सुझाव दिन्छु। तर उनले आफ्नो हात आफैँ समात्छिन् र भन्छिन्: “होइन, जारी राखौँ।” “म फेरि उठ्छु किनकि भाग्य र जिन्दगी यस्तै हुन्छः यदि हामी लड्छौँ भने त्यो अझ दह्रो भएर उठ्नका लागि हुन्छ।”

उनी आफूलाई बलात्कार गरेका र वर्षौँदेखि दुर्व्यवहार गरेका मानिसहरूलाई यसरी माफ गर्न सक्ने आश्चर्यजनक रूपमा बताउँछिन्: “माफी दिएर परिवर्तन ल्याउन सजिलो हुन्छ।”

सन् २०१३ मा सैनिकहरूको एउटा समूहले उराबाको सबैभन्दा ठूलो शहर अपार्टाडोको एउटा सडकमा तीनजना महिलाको बलात्कार र हत्या गर्‍यो। दिनहरू बित्दै गएपछि अपराधीहरूले सजाय नपाउने आभास हुन थाल्यो अनि एस्कोबार र उनका छिमेकीहरूले न्यायिक अधिकारीहरूविरुद्ध प्रदर्शन शुरू गरे।

यसरी उनको सङ्गठन मुजेरेस डेल प्लान्टन शुरू भयो। लगभग सबै ल्याटिन अमेरिकी देशहरूले जस्तो कोलम्बियाले कुनै नागरिक क्रान्तिको अनुभव गरेको छैन। त्यहाँ विरोध प्रदर्शनको संस्कृति नरहेको पनि भन्ने गरिन्छ। तर यी क्षेत्रहरूमा एउटा मौन प्रतिरोध हुँदै आएको छ।

“उराबा ऐतिहासिक रूपमै द्वन्द्वको एउटा कोक्रोको रूपमा रहिआएको छ, त्यहाँ हिंसा दोहोरिएको छ तर प्रतिरोधको केन्द्र पनि रहिआएको छ, खासगरी महिला नेतृत्वबाट प्रतिरोध भएको छ। किनभने धेरै महिला विधवा भएका छन् र उनीहरूले सामाजिक पक्षहरू भत्किएको देखेका छन्,” आइडियाज फर पीस फाउन्डेशनस्थित समाजशास्त्री तथा अनुसन्धानकर्ता इरिना क्यूएस्टा भन्छिन्।

आज एस्कोबार र मुजेरेस डे प्लान्टनका अरू नेत्रीहरू एउटा बल बनेका छन् जसले अपार्टाडो क्षेत्रमा सशस्त्र समूहहरूको स्वार्थलाई चुनौती दिएको छ। समुदायका नेताहरूले अपराधीहरूको काम अन्त्य गराउँछन्, एस्कोबार भन्छिन्, त्यसकारण उनीहरूलाई निशाना बनाइँदैछ र मारिँदैछ।

इभा ओन्टिभेरोसद्वारा सम्पादित।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो