वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले

डिसी नेपाल
१ वैशाख २०७८ २३:१३

काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएक छन्। अठ्ठाइऔँ वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा बुधबार आयोजित कार्यक्रममा उनले नेपालमा रहेका तथा विश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तुको उचित संरक्षणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए। उनले भने, “संरक्षित वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षणका लागि हामी सबै एकजुट हुनुपर्छ।”

मन्त्री आलेले पछिल्लो समय वन्यजन्तुका बासस्थान फँडानी गरी विनाश गरिनुका साथै उनीहरुको चोरी शिकार गर्ने क्रम बढेकाले संरक्षित वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे। “संरक्षित वन्यजन्तुका कारण हामीले पर्यटक भित्र्याउन सकेका छौँ, उनीहरुलाई लोप गराउने बाटो अपनाए कसरी पर्यटक आउन सक्छन्”, उनले भने, “वन्यजन्तुका बासस्थान नाश नगरौँ, वन्यजन्तुको उचित संरक्षण गरौँ।”

मन्त्री आलेले वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण अहिले जङ्गली जनावरसमेत गाउँ घर आउने तथा नोक्सानी गर्ने गरेको बताए। “हामीले जङ्गली जनावरका बासस्थान मासेर आफूले उपभोग गर्न थाल्यौँ, जनावर आहारका लागि गाउँ तथा किसानका खेतीबारीमा पस्न थाले, नोक्सानी हामीलाई नै भयो”, उनले भने, “जनावारका बासस्थानको हानिनोक्सानी गर्ने तथा मार्नेलाई कसैले पनि माफी दिनु हुँदैन।”

मन्त्री आलेले वन्यजन्तु संरक्षण तथा उनीहरुका बासस्थानको जगर्ने र संरक्षणका लागि सरकार गम्भीर रहेको बताउँदै संरक्षित वन्यजन्तुको चोरी शिकार गर्नेलाई अब नागरिकस्तरबाट पनि कारवाहीका लागि पहल हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *