सरकारले गरेको सम्मानप्रति कृतज्ञ छन्, लोकतन्त्रका योद्धाहरु

तर्कबहादुर थापा
२ वैशाख २०७८ ७:४५

काठमाडौं। गुल्मीका रमेशकुमार रोक्का ह्वील चियरमै छन्। एकातर्फ पिसाब आएको रोकिने प्लाष्टिकको थैली झुण्ड्याइएको छ। सम्मान पाएर प्रज्ञा भवनको बाहिर निस्कदै गर्दै हामीले उनलाई सोधेका थियौं कस्तो अनुभूति भइरहेको छ।

उनले साह्रै खुसी लागेको प्रतिक्रिया दिए। माओवादी सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट घाइते भएका रोक्का तनहुँको सदरमुकामको लडाईँमा परेका थिए। त्यसपछिको उनको यात्रा र सहपाटी ह्वील चियर भएको छ।

हरिकुमार श्रेष्ठ पनि ह्वील चियरमै सम्मान ग्रहण गर्ने अर्का लोकतन्त्रका योद्धा थिए। भण्डारखाल ब्यारेकमा उनको दिनचर्या बित्छ। उनी पनि तत्काली द्वन्दमा परी घाइते भएका व्यक्ति हुन्। लामो समयपछि भए पनि सरकारले आफूलाई लोकतन्त्रको योद्धा भन्दै सम्मान गरेको प्रति हर्षित छन् उनी। समय लागे पनि सरकारले गरेको मूल्याङ्कनले उनलाई गदगद बनाएको छ।

काँधमा बन्दुक, घाटीँमा गोलीको माला, पिठ्यूँमा गरुङ्गो झोला बोक्दा पनि देशका उकाली–ओराली धाउने वीर योद्धाहरु, बुधबार प्रज्ञाभवनमा भएको सम्मान कार्यक्रममा सम्मान–पत्र समाल्न सकिरहेका थिएनन्। विना हतियार दुश्मनलाई ठेगान लगाउन सक्ने ती बहादुर गार्खालीका हात कापीँ रहेका थिए। आखाँ सराइरहेका थिए।

अझै पनि हिमाल, पहाड तराई मेरै हो भन्न सक्ने उमेरमा, ह्वील चीयर र अरुको सहारामा बाँचेको जीवन, सरकारले लोकतन्त्रका योद्धा नामक सम्मान दिएपछि सार्थक भएको अनुभूति सबैले गरे। रसाइरहेका आँखामा खुसीको आशुँ थियो। १२ वर्षपछि पनि खोला फर्किन्छ भन्दै उनीहरु सरकार प्रति कृतज्ञ देखिन्थे।

देशको नाममा रगत बगाएर गएका सहिदहरुको परिवारका लागि पनि हर्षको दिन बन्यो नयाँ वर्ष। पछिल्लो समय नेपालमा सवारी साधनको ठक्करबाट मृत्यु भएकालाई पनि सहिद घोषणा गर्न थालियो। देशकालागि रगत बगाउने सच्चा सहिदहरुको परिवारले आफूलाई अपमानित ठानेको थियो। तर, सरकारले २०७८ सालमा गरेको सम्मानले उनीहरुलाई पनि गर्वानुभूति भएको छ।

हावाले ढोका खोल्दा पनि आफन्त आयो कि भन्दै घरको आगनमा हेर्न बानी परेका वेपत्ता पारिएकाहरुका परिवारका लागि सरकारले साहारा बन्ने आश्वासन दिँदा उनीहरु पनि हर्षित नै देखिन्थे। सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्याए ‘कोही पनि बेसाहारा बन्नु पर्दैन्, सबैको साथमा सरकार छ। अब हरेकको चुल्हो सरकारले बाल्ने छ।’

सेना समायोजकका बेला अयोग्य भएर फर्किकालाई सरकारबाट जहिले उपेक्षा गर्यो। जसको एक आदेशमा मर्न र मार्न तयार हुने ती कलिला पालुवालाई अयोग्य हुन्छौं भन्ने पनि थाहा थिएन। उनीहरु देशमा लोकतन्त्रको स्थापना गर्न आफू योग्य भएको र सेना समायोजनका बेला अयोग्य भएकोप्रति चित्त दुखाउँदै आएका थिए। सरकारले उनीहरुलाई पनि सम्मान गर्यो। लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको मूल्याङ्कन गर्यो, र लोकतान्त्रिक योद्धा नामक सम्मानले विभूषित गर्यो।

अञ्जान, रहर र बाध्यताले जनयुद्धमा लाग्यौ : रमेश बसेल

धादिङका रमेश बसेल पनि सम्मान पाउँदा निकै खुसि थिए। बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका बसेल उक्त सम्मान जीवनको टर्निङ प्वाइन्ट भएको अनुभव सुनाउँछन्।

उनले भने, ‘हामी कलिलै उमेरमा कोही अञ्जान, कोही रहर, कोही बाध्यताले जनयुद्धमा लाग्यौं। देशमा लोकतन्त्रका लागि लड्ने बेलामा हामी योग्य भयौं। जब शान्ति व्यवस्था आयो, आफ्नै कमाण्डर सरकारको प्रमुख भए तब अयोग्य भयौं। दुःख लागेको थियो। आज सरकारले गरेको काम सराहनीय छ। स्वागतयोग्य छ।’

अब त आफूमा लागेको अयोग्यताको विल्ला पनि हट्ने विश्वास व्यक्त गरेका छन्। ‘हाम्रा नेताहरुले खोला तर्ने र लौरो विर्सिने प्रवृतिको सुरुवात गर्नु भयो। सम्मान पत्र आएको छ। परिचयपत्र पनि आउँछ। विश्वास लागेको छ अयोग्यताको विल्ला पनि हटाइन्छ होला।’

जम्मा ४ हजार ८ जनाको संख्यामा रहेको अयोग्य ठहरीएका जनमुक्ति सेनाका १ सय ७६ जनाले सम्मान पाएका छन्। काठमाडौं पाए पर्नेहरुले मात्र त्यो सम्मान प्राप्त गरेका हुन्। अन्य जिल्लाजिल्लामा निरन्तर हुने र सबैलाई सम्मान गरिने सरकारले जानकारी दिएको छ।

आन्दोलन गरेपछि पाएका हौं : लक्ष्मी महरा

विद्रोही पक्षका शहिदहरुलाई सम्मान गर्ने कुरा गरेपछि राज्य पक्षबाट शहिद भएका परिवारहरुले अपमान महशुस गरे। माइतीघर मण्डलामा गएर आन्दोलन गरे। ३५ दिने आन्दोलनपछि एउटै समूहमा राखेर शहिद परिवार भनियो।

२०६० साल भदौ २५ गते सिन्धुपाल्चोकमा शहिद भएका तत्कालीन सरकारी पक्षका सहिद तेजबहादुर महराकी जीवन संगिनी लक्ष्मी महरा पनि सरकारको कार्य प्रति कृतज्ञ छिन्। उनले सहिद परिवारलाई सम्मान गर्दै छ भन्ने सुनेपछि मन्त्रालयमै गएर आफूहरुलाई पनि सम्मान हुनपर्ने माग राखेको सुनाइन्।

उनले भनिन्, ‘सम्मान कार्यक्रम हुँदै छ भन्ने सुनेपछि मन्त्रालयमै गएका थियौं। थोरैलाई गर्छौ भन्नु भयो। हामीले मानेनौं। हामीले तत्कालीन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागबाट जति पनि शहिद हुनु भएको छ। सबैलाई सम्मान हुनपर्छ भनेर माग राख्यौं। पछि सरकार सकारात्मक भयो।’

नेपाली सेनाको १ हजार ३० जना शहिद परिवारमध्ये ४६ जनाले सम्मान पाए। उनले पनि त्यही कुरा दोहोर्याइन्, ‘काठमाडौं पायक पर्ने सहिद परिवारलाई मात्र सम्मान भएको हो। अन्यलाई प्रदेश र जिल्लाबाट गरिने छ। सबैको पालो आउँछ।’

लक्ष्मीले भनिन्, ‘ चार वटै सुरक्षा निकाएलाई समेटेर बनेको संस्थाले आजभन्दा २ वर्ष पहिलाको माघमा आन्दोल गरेको थियो। आन्दोलनको फलस्वरुप आज सम्मान पाइयो।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *