कोरोनाका कारण धराशायी पर्यटन क्षेत्र

फुर्पा शेर्पा
२ वैशाख २०७८ १४:३२

काठमाडौं। गत वर्ष विश्वभर कोरोना माहामारी फैलिएपछि सरकारले २०७६ को चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यापार व्यवसाय ठप्प भएको थियो ।

सरकारले ‘भ्रमण वर्ष २०२०’ भव्यसाथ मनाउने तयारी गर्दै थियो। तर, कोरोनाले गर्दा पर्यटन क्षेत्र ठप्प भयो र नेपालमा पर्यटक भित्र्याउने योजना असफल भयो। पर्यटन गतिविधिहरु ठप्प हुँदा पर्यटन क्षेत्रमा आवद्ध १० लाख कामदारसमेत बेरोजगार हुन पुगे।

लामो समय ठप्प भएको पर्यटन व्यवसाय विस्तारै गत नोभेम्बर महिनादेखि भने पर्यटकहरुको आगमनले पर्यटन क्षेत्रमा सुधार हुँदै गएको छ। साथै, रोजगार गुमाएकाहरुको मनमा आशा पलाउन थालेको छ।

भ्रमण वर्ष २०२० मनाउन पाइएन, कोरोनाका कारण लामो समय पर्यटन गतिविधि नै ठप्प हुँदा अहिले केही महिनायता पर्यटकहरुको आगमनमा चहलपहल बढ्न थालेतापनि फेरि विश्वभर कोरोनाको दोस्रो लहर फैलिएसँगै पुनः यसको असर पर्यटनमा पर्ने होकि भन्ने चिन्ता रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए।

‘हामीले स्वास्थ्यको प्रोटोकल निकाली पर्यटन गतिविधि सुरु गयौं। जसले गर्दा अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश गइरहेको छ, नेपालले पर्यटन क्षेत्र सुरक्षित तरिकाले चलाउन थालेको छ’, उनले भने, ‘जसले गर्दा अहिले संसारका विभिन्न देशहरुबाट उच्च प्रोफाइलका व्यक्तिहरुको आगमन हुन थालेको छ।’

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार नेपाल आएका छन्। यसरी उच्च प्रोफाइलका व्यक्तिहरुको आगमनले विश्वमा नेपालको पर्यटन क्षेत्रसम्बन्धमा सारात्मक सन्देश गएको छ। नेपालमा कोरोनाको पहिलो र दोस्रो खोपसमेत लगाउन थालिएकोले नेपालमा घुम्न आउने पर्यटकहरुको संख्या वृद्धि हुने देखिन्छ।

पर्यटन बोर्डका अनुसार हाल नेपाल आउने धेरैजसो पर्यटकहरुले टे«किंग र पर्वतारोहण बारे सोध्ने गरेको र मे महिनामा धेरै देशहरुबाट बुकिङ्ग आउन थालेको छ। पछिल्लो समय कोरोना महामारीकाबीच वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन्।

शिथिल बनेको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ, सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्न थालेको छ। एकातर्फ प्रतिकूल परिस्थितिका बाबजुद पनि पर्वतारोहणका लागि बाक्लो संख्यामा विदेशीको आगमन बढेको छ। साथै अर्कोतर्फ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल र भारतबीचको हवाई सेवाको आकार खुम्चिएको लामो समय भइरँहदा पछिल्लो समय काठमाडौं र दिल्लीबीच मात्र सिमित हवाइ सेवा सुचारु छ। काठमाडौं–दिल्ली रुटमा एयर बबलको सम्झौता अनुसार अहिले हवाई उडान भइरहेको छ।

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन्, ‘दिल्ली–काठमाडौं रुटमा हवाई टिकट पाउन मुस्किल भएको र पाइहालेमा पनि महंगो भाडादरको गुनासो आएको छ। त्यसैले घुम्न आउन चाहेका तिनै भारतीय पर्यटकका लागि नयाँ र सस्तो रुट खोजेर आउजाउमा सहजता दिलाउने रणनीति तय गर्न थालिएको छ।’ उनका अनुसार नेपालको बोर्डर क्षेत्र नजिकको भारतीय सहरमा ठूला आकारका विमानस्थल संचालनमा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ। विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका चार सय १९ आरोहीले आरोहण अनुमति लिएका छन्।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका दुई सय ४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जनाए।

कोभिड महामारी जोखिमकाबीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ।

कोरोनाका बीच बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ। सेभेन समिट ट्रेकमार्फत हुन लागेको यो आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन्।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच यसअघि ‘हाई प्रोफाइल’ व्यक्तिको नेपाल भ्रमण, प्रख्यात मुलुकबाट भइरहेको विशिष्ट आरोहणले पनि नेपालको पर्वतीय पर्यटनबारे सकारात्मक सन्देश प्रवाह भइरहेको बताए। महामारीकैबीच बहराइनका राजकुमारको हिमाल आरोहणसमेतले नेपालको पर्यटन क्षेत्रसम्बन्धमा सकारात्मक सन्देश गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *