चोरीका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

डिसी नेपाल
२ वैशाख २०७८ २०:०९

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारीसाधन चोरी घटना नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारवाहीको प्रक्रिया तीव्र पारेको छ । सोही क्रममा महाशाखाले चोरिएका २६ मोटरसाइकल खोजतलास गरी फेला पारेर आज धनीलाई बुझाएको छ । ती मोटरसाइकल काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा धादिङ, चितवन, मकवानपुर र बाराबाट चोरी भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकलको कागजात धनीलाई हस्तान्तरण गर्दै सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए । उनले मोटरसाइकल एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको र चोरी भएपछि नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाइ बेचबिखन गर्ने गरेको पाइएको जानकारी दिए ।

ट्राफिक प्रहरीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल खोज्ने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाउने गर्दछन् । अन्य अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाउनुका साथै चोरीमा संलग्न ४७ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महशाखाले जनाएको छ । प्रहरीले चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर वा अनलाइन सेवा लस्ट भेहिकल एप्लीकेशनमा मा लग इन गरेर निवेदन दिने सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *